समाज


एनआरएनए स्थापना दिवसमा भर्चुअल कार्यक्रम, कसले के भने?

एनआरएनए स्थापना दिवसमा भर्चुअल कार्यक्रम, कसले के भने?

नेपालखबर
असोज २६, २०८१ शनिबार १०:५७, काठमाडौँ

गैर आवासीय नेपाली संघ (एनआरएनए) को २१ औँ स्थापना दिवस भर्चुअल माध्यमबाट मनाइएको छ।

राजेन्द्र कुमार (आरके) शर्मा समूहले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले नेपाल निर्माणमा गैर आवासीय नेपालीहरुको ठूलो योगदान रहेको बताए।

उनले एनआरएनएको योगदानको सम्मान गर्ने प्रतिवद्धता व्यक्त गरे।  उनले एनआरएनएको महत्त्व अहिले निकै बढेको बताउँदै अहिले संघभित्र देखिएको विवादलाई समाधान गरेर अघि बढ्न पनि आग्रह गरे। 

एनआरएनएलाई  नेपालीको पीडामा मल्हम लगाउने संस्थाको रुपमा आफूले चिनेको बताउँदै मन्त्री पौडेलले एनआरएनए अभियान एकताबद्ध हुन सक्यो भने अझ बढी सशक्त हुने बताए।

संघका संस्थापक अध्यक्ष डा.उपेन्द्र महतोले संघमा एकताको विकल्प नरहेको भन्दै आफैले शुक्रबार बिहानै काठमाडौँको पशुपतिनाथ तथा स्वयम्भुनाथ पुगेर संघमा एकताका लागि प्रार्थना गरेको तर्क गरे।   

संघका पूर्व अध्यक्ष  कुल आचार्यले संघमा एकताको विकल्प नरहेको बताए। 

एनआरएनए का अध्यक्ष आरके शर्माले अहिले पनि संस्था कसले कब्जा गर्ने मानसिकताबाट माथि उठ्न नसकेको तर्क गरे। विगतमा आफूहरुले निस्वार्थ भावनाले संस्था स्थापना गरेको भएता पनि केही गलत व्यक्तिको कारणले गर्दा अहिलेको अवस्था आएको बताए। 

संस्थाको चिरहरण हुँदा आफुहरु चुप लागेर बस्न नसक्ने बताउँदै उनले आफूहरु अदालतमा जाने मनस्थितिमा नरहेको अवस्थामा पनि अर्को समूह अदालतमा गएकाले आफूहरुपनि अदालत जान बाध्य भएको बताए। 

अहिले व्यक्ति भन्दा पनि सामूहिक भावनाका आधारमा संस्थालाई एकताबद्ध बनाउनका लागि आफूहरु अघि बढ्ने उनको भनाई थियो।


संघकी पूर्वअध्यक्ष रबिना थापाले पनि संघ एकजुट हुन नसकेमा संस्थाको औचित्य नरहने बताइन्।  उनले संस्था कब्जा गर्ने हैन सबैलाई समेटेर लग्नु पर्नेना जोड दिइन्।  

यसैगरी संघका संस्थापक महासचिव भीम उदासले  संस्थालाई एक ठाउँमा ल्याउनका लागि सबैले पहल गर्नुपर्नेमा जोड दिए । ११ औं महाधिवेशनमा  अध्यक्षका प्रत्यासी महेश श्रेष्ठले संघभित्रको विवाद सुल्झाउन परराष्ट्र मन्त्रालयले निकास दिनुपर्ने बताउँदै त्यसका लागि पूर्व अध्यक्षहरुले प्रयास गर्नु पर्नेमा जोड दिए।  

उनले सबैले आफ्नो अहमता त्यागेर संवादलाई अघि बढाउनु पर्नेमा जोड दिँदै सबै पक्ष सहभागी गोलमेच सम्मेलन गरेर समस्याको समाधान निकाल्न सुझाव दिए।  

संघका उपाध्यक्ष डा.केशव पौडेलले संघभित्र एकताको विकल्प नरहेको भन्दै सर्वोच्च अदालतका फरक फरक फैसलाले अन्योलको वातावरण बनेको तर्क गरे।  

अर्का उपाध्यक्ष गंगाधर गौतमले अहिले बद्री केसीले नेतृत्व गरेको  समूहले संस्थाको श्रोत व्यापक दुरूपयोग गरिरहेको आरोप लगाए। 

कोषाध्यक्ष ठाकुर ढुंगाना, सल्लाहकार नारायण आचार्य, पूर्व उपाध्यक्ष डीबी क्षेत्री, एनआरएनए आइसीसीका सल्लाहकार आनन्द बिष्ट, एनआरएनए एनसीसी बेल्जियमकी अध्यक्ष सीता सापकोटा नेपाली जनसम्पर्क समिति बहराइनका अध्यक्ष पदम सुन्दर गुरुङ,  लगायतले संघमा शुद्धिकरण गर्दै लैजानु पर्नेमा जोड दिए।

संघका सल्लाहकार नारायण कँडेलले अहिलेको जस्तो निर्वाचन प्रक्रियाले एनआरएनए झनै कमजोर हुने तर्क गरे।

जय नेपाल अन्तरर्राष्ट्रिय फाउन्डेशनका अध्यक्ष  डा.यादव पण्डितले एनआरएन अभियानलाई सानो स्वार्थ समूहको घेराबाट बाहिर निकाल्नु पर्नेमा जोड दिए। 

पूर्वमन्त्री तथा माओवादी नेता शक्ति बहादुर बस्नेत, पूर्वमन्त्री तथा कांग्रेस नेता डा. मिनेन्द्र रिजाल, नेपाली कांग्रेसका केन्द्रीय सदस्य किरण पौडेल  लगायतका वक्ताले नेपालको अर्थतन्त्र धान्न प्रवासी नेपालीहरुको योगदानको महत्वपूर्ण रहेको बताए।
 
सन् २००३ मा स्थापना भएको एनआरएनएले नेपाल र अन्य मुलुकबीच द्विपक्षीय सम्बन्ध सुधार्न, लगानीको अवसर सृजना गर्न, र नेपालमा प्रविधि, शिक्षा, स्वास्थ्य तथा विकासका क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ। अहिले विश्वका ८५ भन्दा बढी  देशमा एनआरएनएका राष्ट्रिय समन्वय परिषद (एनसीसी) छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad