समाज


काठमाडौँ उपत्यकासहित थप यी स्थानबाट बाहिरियो मनसुन

काठमाडौँ उपत्यकासहित थप यी स्थानबाट बाहिरियो मनसुन

फाइल तस्बिर


नेपालखबर
असोज २२, २०८१ मंगलबार १७:५५, काठमाडौँ

काठमाडौँ उपत्यकासहित देशका थप स्थानबाट मनसुन (बर्खायाम ल्याउने तथा पानी पार्ने मौसम प्रणाली) बाहिरिएको छ। 

मौसम पूर्वानुमान महाशाखाले मंगलबार जारी गरेको मनसुन बहिर्गमन बुलेटिन-२ अनुसार आज (असोज २२ गते) कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका सबै क्षेत्र साथै काठमाडौँ उपत्यकालगायत बागमती प्रदेशको पश्चिमी भेग र मधेस प्रदेशका पश्चिमी क्षेत्रका थोरै स्थानबाट मनसुन हटेको हो। 

यसअघि असोज २० गते सुदूरपश्चिम प्रदेशलगायत कर्णाली प्रदेशका धेरै तथा लुम्बिनी प्रदेशको पश्चिमी भेगका थोरै स्थानहरूबाट मनसुन हटेको थियो। आज थप स्थानबाट मनसुन बाहरिएको मौसम महाशाखाले जानकारी दिएको हो। 

मनसुन बहिर्गमन बुलेटिन २ मा भनिएको छः आज मिति २०८१ असोज २२ (८ अक्टोबर २०२४) का दिन यस वर्षको मनसुन कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका सम्पूर्ण भूभागका साथै काठमाडौँ उपत्यकालगायत बागमती प्रदेशको पश्चिमी भूभाग र मधेस प्रदेशका पश्चिमी भूभागको थोरै स्थानहरूबाट बहिर्गमन भएको छ। नेपालको सुदूरपश्चिम प्रदेशलगायत कर्णाली प्रदेशका धेरै तथा लुम्बिनी प्रदेशको पश्चिमी भूभागको थोरै स्थानहरूबाट मिति २०८१ असोज २० (६ अक्टोबर २०२४) का दिन यस वर्षको मनसुन बहिर्गमन भएको थियो।

अब मनसुन बागमती प्रदेशको पूर्वी भाग, मधेस प्रदेशको पश्चिमी क्षेत्रका थोरै स्थान र पूर्वी क्षेत्र तथा कोसी प्रदेशमा मात्र बाँकी छ। 

मौसम महाशाखाका अनुसार मनसुनी वायु कमजोर हुँदै गएकाले नेपालका बाँकी स्थानबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना छ। 

मौसमविद्का अनुसार नेपालमा मनसुन भित्रिने औसत मिति जुन १३ तारिख हो भने बाहिरिने औसत मिति अक्टोबर २ तारिख हो।

तर यस वर्ष औसत मितिभन्दा ३ दिन छिटो जुन १० तारिखमा भित्रिएको मनसुन बाहिरिन पनि औसत मितिभन्दा ढिला भइरहेको हो। 

नेपालमा पूर्वबाट भित्रिने मनसुन क्रमश: पश्चिमतर्फ फैलिँदै गएको थियो भने बाहिरिँदा पनि पश्चिमबाट क्रमश: हट्दै हट्दै पूर्वबाटै बाहिरिन्छ। 

मनसुन पूरै नेपालबाट बाहिरिएपछि पोस्ट मनसुन सिजन सुरु हुने मौसमविद् बताउँछन्। पोस्ट मनसुन नोभेम्बरसम्म रहन्छ। त्यसपछि विन्टर अर्थात् हिउँदयाम सुरु हुन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad