ad ad

समाज


भारतले धौलीगङ्गा बाँध पुनः खोल्दै, सतर्कता अपनाउन आग्रह

भारतले धौलीगङ्गा बाँध पुनः खोल्दै, सतर्कता अपनाउन आग्रह

नेपालखबर
भदौ १३, २०८१ बिहिबार १९:३८, काठमाडौँ

भारतले उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध खोल्ने भएको हो। एनएचपीसी लिमिटेड र धौलीगङ्गा पावरस्टेसनका अनुसार परियोजनाको बाँध भदौ १५ गते दिउँसो १२ बजेदेखि भदौ १६ गते बेलुकासम्म खोलिने छ।

बाँध खोलेका बेला र त्यसपश्चात केही घण्टा महाकाली नदीको जलसतह बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए।

एनएचपीसी लिमिटेड, धौलीगङ्गा पावरस्टेसन, धारचुला, पिथौरागढ भारतबाट प्राप्त पत्रअनुसार वर्षातका कारण परियोजनाको जलाशयमा पानीको सतह दिनप्रति दिन वृद्धि हुँदै गएको र सरसफाइका लागि बाँधको ढोका खोलिन लागिएको हो।

बाँध खोलेको बेला नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाएर सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ। यसका साथै लगातारको वर्षा र बाँध खोलिए पश्चात महाकाली नदीमा जलसतह बढ्ने खतरा भएकाले नदी आसपासका नदी वारपार नगर्न आग्रह गरिएको छ।

दार्चुलादेखि बैतडी, डडेल्धुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकालीमा पानीको बहाव र सतह बढ्न सक्ने भएका कारण नदी छेउछाउमा नजान र सतर्कता अपनाइ राख्न स्थानीय प्रशासनले अनुरोध गरेको हो।

धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध वर्षातको बेला हरेक वर्ष खोलिन्छ। परियोजनाले बाँध खोल्नुपूर्व सतर्कताका लागि जानकारी गराउने गरेको छ। यसअघि भदौ १ गते बिहान ८ बजेदेखि भदौ २ गते बेलुकासम्म बाँध खोलिएको थियो।

विसं २०७० असार २ र ३ गते एक्कासी धौलीगङ्गाको बाँध खोलेपछि दार्चुला सदरमुकाममा एक सयभन्दा बढी घर बगाउनुका साथै अर्बौँ रकम बराबरको क्षति भएको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .