प्राचीनकालदेखि अक्षुण्ण रहँदै आएको श्रुति परम्परालाई कायम राख्न कान्तिभैरव गुरुकूलले राष्ट्रिय गुरुकूलस्तरीय वेद कण्ठस्थीकरण प्रतियोगिता आयोजना गर्ने भएको छ। आधुनिक शिक्षा प्रारम्भ भएसँगै वेद अध्ययन/अध्यापनमा कमै मानिसको रुचि हुन थालेको छ। कमैले वेद पढ्न थालेसँगै श्रुति परम्परासमेत संकटमा परेको छ।
श्रुति परम्परा भावीपुस्ताले नबिर्सियुन् भन्ने उद्देश्यले देशव्यापी वेद कण्ठस्थीकरण प्रतियोगिता आयोजना गरिएको गुरुकूलका आचार्य श्रीराम अधिकारीले राससलाई जानकारी दिए।
प्राचीनकालमा ध्यान साधनाका माध्यमबाट वेदका मन्त्र देखेका ऋषिमुनिले श्रुति परम्पराका माध्यमले एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण गर्थे। मानिसको स्मरण शक्ति कमजोर हुन थालेपछि वेद लिपिबद्ध गरिएको विश्वास गरिन्छ। लिपिबद्ध गर्नुअघि प्रयोगमा नआएकाले वेदका कतिपय शाखा लोप भए। अब फेरि यसरी वेदका मन्त्र लोप नहोऊन्, पढ्ने र सुनाउनेक्रम चलिरहोस् भन्ने उद्देश्यले प्रतियोतिा आयोजना गरिएको गुरुकूलका अध्यक्ष प्रा डा ऋषिराम पोखरेलले बताए।
फागुन २१ गते कान्तिभैरव गुरुकूल उत्तरबाहिनी गोकर्णमा हुने प्रतियोगितामा १० गुरुकूलले भाग लिनेछन्। प्रतियोगितामा इलाम, झापा, मोरङ, चितवन, तनहुँ, काठमाडौँलगायत जिल्लाका गुरुकूलले भाग लिनेछन्। एउटा गुरुकूलको समूहमा तीन जना विद्यार्थी हुनेछन्। कार्यक्रममा वेद कण्ठस्थीकरण सुन्न चाहनेका लागिसमेत सहभागिताको व्यस्था गरिएको उनले सुनाए।
नेपालका पहिलो वेदाचार्य प्रा सोमनाथ पौडेलको प्रथम शतवार्षिकी समापनका अवसरमा प्रतियोगिता आयोजना गर्न लागिएको हो। पौडेल वेद विषयको पहिलो प्राध्यापकसमेत थिए। उनले नेपाल संस्कृत विश्वविद्यालयको वाल्मीकि विद्यापीठमा वेद अध्यापन गराएका थिए।
प्रतियोगितामा विजयी हुने विद्यार्थीलाई फागुन २२ गते गुरुकूलको ११औँ वार्षिकोत्सवका अवसरमा आयोजना हुने कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले पुरस्कार एवं प्रमाणपत्र प्रदान गर्नेछन्। सो अवसरमा प्रा पौडेलका स्मृतिमा प्रकाशन हुने स्मारिका समेत विमोचन गरिने जनाइएको छ। रासस

प्रतिक्रिया