समाज


तनहुँको व्यास नगरपालिकामा प्लास्टिकको झोला प्रतिबन्ध

तनहुँको व्यास नगरपालिकामा प्लास्टिकको झोला प्रतिबन्ध

नेपालखबर
फागुन १०, २०७६ शनिबार ९:१२,

तनहुँको व्यास नगरपालिकाले नगर क्षेत्रभित्र प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाएको छ। नगरपालिकाले यही फागुन १ गतेदेखि सबै वडामा प्लास्टिकका झोला प्रयोगमा प्रतिबन्ध लगाएको हो।

नगरपालिकालाई वातावरणमैत्री बनाउने उद्देश्यले प्लास्टिकको झोलाको प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय भएको नगर प्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिए।

नगरपालिकाले सात वर्षअगाडि कालो प्लास्टिकमुक्त नगर घोषणा गरिसकेको छ। कम्पनीबाट नै सामान प्याकिङ भएर आउने प्लास्टिकलाई तत्काल प्रतिबन्ध लगाउन सक्ने अवस्था नभए पनि बजार क्षेत्रमा खरिद गर्ने सामान राख्न प्लास्टिकको झोलालाई प्रतिबन्ध लगाउने गरी नगरपालिकाले गत वर्षको परिषद्बाट नै निर्णय गरेको र सोही निर्णयलाई कार्यान्वयनमा ल्याइएको नगरपालिकाका सरसफाइ उपशाखाका प्रमुख भाग्यशाली ढुंगानाले जानकारी दिए।

प्लास्टिक झोला निषेधको पूर्वतयारीअन्तर्गत गत मंसिरमा नगरपालिकाका १४ वटै वडाका २८ जनालाई कागज र कपडाको झोला बनाउने तालिम प्रदान गरिएको थियो। तालिमका सहभागीले कागज र कपडाको झोला बनाएर बिक्रीका लागि राखिसकेका हुँदा तत्काल प्लास्टिकको झोलाको विकल्प तयार भएको ढुंगानाले बताए। विशेषगरी मासु र तरकारी खरिदका क्रममा प्लास्टिकको झोला बढी प्रयोग हुने हुँदा सम्बन्धित व्यवसायीलाई पनि त्यसको विकल्प खोज्न आग्रह गरिएको छ।

मासु खरिदमा तीन वटासम्म प्लास्टिकका झोला प्रयोग भएको अनुगमनमा देखिएकाले अब मासु खरिदमा कागजको झोला प्रयोग गर्न व्यवसायीलाई नगरपालिकाले जनाएको छ। मासु व्यवसायी समितिका सचिव गणेश बास्तोलाले प्लास्टिकको झोलालाई प्रतिबन्ध लगाउँदा उपभोक्तालाई थप भार पर्ने बताए। व्यवसायीले नै कागज वा कपडाको झोलामा मासु वा तरकारी दिन नसकिने हुँदा त्यस्तो झोला सम्बन्धित उपभोक्ताले नै ल्याउनुपर्ने उनको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad