समाज


केयूले फिर्ता गर्‍यो डा. विशद दाहालको निलम्बन, तर केएमसीले छिर्नै दिएन

केयूले फिर्ता गर्‍यो डा. विशद दाहालको निलम्बन, तर केएमसीले छिर्नै दिएन

तस्बिर : सरोज नेपाल


नेपालखबर
पुस १७, २०८० मंगलबार १७:३८, काठमाडौँ

नेपाली कांग्रेसका सांसद सुनिल शर्मा सञ्चालक रहेको काठमाडौं मेडिकल कलेज (केएमसी) ले निलम्बन गरेका डा. विशद दाहाल प्रकरणमा काठमाडौँ विश्वविद्यालयले हस्तक्षेप गरेको छ।

दाहालको निलम्बन फिर्ता गर्न निर्देशनसहित काठमाडौं विश्वविद्यालय (केयू) ले सिनामंगलस्थित केएमसी कलेज प्रशासनलाई मंगलबार पत्र पठाएको हो। 

केयूले दाहालको निलम्बनबारेको पत्र प्राप्त भएको जनाउँदै हाललाई उक्त निर्णय स्थगन गरिएको जनाएको छ। 

केएमसी कलेजमा एमडी, इन्टरनल मेडिसिनको दोस्रो वर्षमा अध्ययनरत डा. दाहाललाई निलम्बन गरिएकोबारे चिकित्सा शिक्षा आयोगको पनि पत्र प्राप्त भएको भन्दै तीन बुँदामा जवाफ मागेको छ।

दाहालको निलम्बनबारे कलेजले तीनवटा बुँदामा उल्लेखित प्रक्रियाअनुसार भए नभएको विवरण नआएसम्मलाई उक्त कारबाही स्थगित गर्न भनेको हो।

के भन्यो केयूले?
काठमाडौं विश्वविद्यालय, स्कुल अफ मेडिकल साईन्सेज अर्न्तगतको एमडी/एमएस/एमडीएस कार्यक्रमको नर्म्स तथा पाठ्यक्रम न्यूनतम कति समय फिल्ड पोस्टिङ/हेल्थ क्याम्पमा सामेल हुनुपर्ने भन्ने उल्लेख नभएकोले यथाशीघ्र सम्बन्धित विषयका विशेषज्ञहरूको रायसहित फिल्ड पोस्टिङ/ हेल्थ क्याम्पसम्बन्धी साझा नीति निर्माण गर्नुपर्ने।

निज (दाहाल) लाई निलम्बन गर्दा अपनाउनु पर्ने न्यूनतम प्रक्रिया: जस्तै चिकित्सा शिक्षा आयोगको पत्रमा समेत उल्लेख भएअनुसारको स्पष्टीकरणको मौका प्रदान गरिएको हो वा होइन? सम्बन्धित प्रिसेप्टरबाट निलम्बन गर्नुपर्ने आधारसहितको लिखित राय पेश भएको छ वा छैन?

उक्त शैक्षिक सत्रमा इन्टरनल मेडिसिन विषयमा अध्ययनरत विद्यार्थीहरूको ३ वर्षको शैक्षिक क्यालेन्डर मुताविक फिल्ड पोस्टिङ/ हेल्थ क्याम्पमा खटाइएको हो वा होइन? सोको विवरणसमेत उक्त पत्रसाथ पेश गरिएको देखिएन।

केयूले कलेजबाट उक्त राय प्राप्त भएपछि निलम्बन कार्यान्वय गर्नु पर्ने वा नपर्ने भन्ने निर्णय लिनु उपयुक्त हुने भन्दै दाहालविरुद्धको कारबाही स्थगित गरिदिएको हो। 

तर केयूको उक्त निर्देशनपछि अध्ययनका लागि सिनामंगल पुगेका दाहाललाई कलेज प्रशासनले छिर्न रोक लगाएको छ।

फिल्ड वर्क र कलेज प्रशासनको विकृतिबारे सार्वजनिक रुपमा आवाज उठाएपछि डा. दाहाललाई केएमसीले यही पुस १२ गते एक महिनाका लागि निलम्बन गरेको थियो।

दाहाललाई गरिएको एक महिना लामो निलम्बनको भत्सर्ना गर्दै आवासीय चिकित्सकहरूले आन्दोलन घोषणा गरिसकेका छन्।

निलम्बनमा परेका दाहालले केएमसीको मपनरीबारे प्रश्न उठाउँदै आएका थिए। गत वर्षदेखि नै कलेजले आवासीय चिकित्सकहरूलाई स्वास्थ्य शिविरहरूमा बढी खटाउन थालेकोबारे कुरा उनले उठाएका थिए। 

सुरूमा काठमाडौंभित्रका शिविरहरूमा लगेपछि विस्तारै बाहिरी जिल्लाहरूमा पनि चिकित्सकलाई खटाउने गरिएको थियो। उनले राजनीतिक र व्यक्तिगत स्वार्थका लागि कलेजले प्रयोग गरे श्रम शोषण गरेको बताएपछि निलम्बन गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad