ad ad

समाज


जाजरकोटबाट दाजुभाइलाई तोसिमा कार्कीको खुलापत्र: त्यसैले मैले यो पटक तिहार मनाउन सकिनँ

जाजरकोटबाट दाजुभाइलाई तोसिमा कार्कीको खुलापत्र: त्यसैले मैले यो पटक तिहार मनाउन सकिनँ

भूकम्प प्रभावित क्षेत्रमा सांसद डा. तोसिमा कार्की (दायाँ)। तस्बिर : उनकै फेसबुकबाट।


नेपालखबर
कात्तिक २९, २०८० बुधबार २१:४५, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ एवं प्रतिनिधिसभा सदस्य डा. तोसिमा कार्की यतिबेला भूकम्पले ठूलो मात्रामा मानवीय तथा भौतिक क्षति भएका जाजरकोट र रुकुम पश्चिमका गाउँ अवलोकनमा छिन्।

उनले त्यहाँ भूकम्पपीडितहरूलाई भेटिरहेकी छन्। सोही कारण यसपटक आफूले तिहार मनाउन नसकेको उनले सामाजिक सञ्जालमार्फत जानकारी गराएकी छन्। 

यस क्रममा उनले आफ्ना बुवा तथा दाजुभाइलाई यसपटक भाइटीका मनाउन नसकेको भनी खुलापत्र लेखेकी छन्। 

यस्तो छ पत्र–     

मलाई सबैभन्दा मनपर्ने चाडहरु मध्येमा पर्छ- तिहार। फूल, बत्ती र रङ्गोलीको सजावट, घरका ढोकामा, आँगनमा बालिने पाला बत्ती मलाई औधी मनपर्छ। तर आज यहाँ भूकम्पले जाजरकोट र रुकुमको सारा गाउँ शोकमा छ, अझ पनि मानिसहरु चिसो भुइँमा सुत्नुपरेको छ। बिहान राहतमा आएको चाउचाउ खाइयो। बेलुका अब के खाने भन्ने अवस्था छ। घरघरमा घाइते र चिन्तित मनहरु छन्। त्यसैले मैले पनि यो पटक तिहार मनाउन सकिनँ...।

बुवाले धेरैपटक फोन गर्नुभयो। यहाँ नेटवर्क राम्रो छैन। फोन काटिइरह्यो। सायद घर आऊ भन्नलाई गर्नुभाथ्यो होला। यहाँ फोन टिप्दैन, हजुरलाई फेसबुक चलाउन अलिअलि आउँछ। यो पढ्नुहुनेछ भन्ने विश्वास छ। बुवा! म यहाँ एकदम आराम छु। चिन्ता बिल्कुलै नलिनुहोला। ममीलाई पनि खल्लो नमान्नु भन्दिनुहोला।

मेरो प्यारो भाइ! आजसम्म कहिल्यै टीका छुटेको थिएन। यसपालि काकाको छोरी (तिम्रो बहिनी) को हातको टीका लगाउनू है।मेरो आशीर्वाद र माया सधैँलाई छँदै छ।

अनि मेरा कजन दाजुभाइहरु अस्ट्रेलियाबाट यसपटक चाहिँ सांसद बहिनीको हातको टीका लाउँछु भनी धेरै वर्षपछि नेपाल आउनुभएको रहेछ। माफ गर्नुहोला है यसपालि म उपलब्ध हुन सकिनँ। हजुरहरु पनि काकाको छोरी (बहिनी) सँगै टीका लाउनु है। 

अब आउँदा वर्षमा सबै परदेशमा हुनुभएका सारा नेपाली दिदीबहिनीका दाजुभाइलाई नेपाल फर्काई सबैलाई टीका लगाउने वातावरण बनाउनु छ। यो जिल्ला अस्पतालमा पनि उपकरण जनशक्ति जोडी ओटी आईसीयू सुरु हुने वातावरण बनाउनु छ।

आज टीकाको दिन म भूकम्पले धेरै मानवीय क्षति भएको दुईवटा गाउँ आठबीसकोट र नलगाडमा पीडितहरुसँग हुनेछु।

तिहार त फेरि फेरि पनि आउला तर अहिले म यहाँ उहाँहरुसँग हुनुपर्छ जस्तो महसुस भयो। मेरो मन-मष्तिष्कले यही भन्यो।

मैले यही गरेँ है।

मेरो चिन्ता बिल्कुलै नलिनुहोला। हजुरहरु सबैलाई तिहार अनि भाइटीकाको शुभकामना!!

हजुरहरुकी छोरी, दिदी, बहिनी

तोसिमा कार्की 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .