समाज


केएमसीका चिकित्सकमाथि कुटपिट : पक्राउ परे गुल्मीका दुईजना युवा

केएमसीका चिकित्सकमाथि कुटपिट :  पक्राउ परे गुल्मीका दुईजना युवा

आन्दोलित स्वास्थ्यकर्मी। तस्बिर : नेपालखबर


नेपालखबर
असोज १४, २०८० आइतबार १४:३२, काठमाडौँ

काठमाडौंमा फेरि स्वास्थ्यकर्मीमाथि कुटपिटमा संलग्न भएको अभियोगमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्ने युवाहरुमा दुवैजना गुल्मीका रहेका छन्।

काठमाडौं प्रहरी परिसरको टोलीले गुल्मी घर भएर काठमाडौंको चाबहिल बस्ने २२ वर्षीय रुपक गौतम र गुल्मी नै घर भएर सिनामंगल बस्ने ३४ वर्षीय सरोज गौतमलाई पक्राउ गरेको हो। 

करिब एक साता आन्दोलनपछि सरकारसँग सहमति भएको केही घण्टाभित्रै सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजका चिकित्सक कुटिएका थिए। 

आइतबार सबेरै बिहान १ बजेतिर काठमाडौं मेडिकल कलेजका चिकित्सक डा. मनिष खड्कासहितका स्वास्थ्कर्मीलाई उनीहरुले कुटपिट गरेको आरोप लागेको छ।

काठमाडौं मेडिकल कलेजमा पुगेका बिरामीका आफन्तद्वयले चिकित्सकसहित ४ जना स्वास्थ्यकर्मीलाई कुटपिट गरेका थिए। 

मेडिकल कलेजको नेफ्रो विभागको ओपीडी डा. खड्कासहित इन्टर्नमा रहेका स्वास्थ्यकर्मी कुटिएपछि त्यहाँका कर्मचारी आन्दोलित छन्। 

डायलाइसिस गर्न आएका बिरामी कुरुवाद्वयले डायलाइसिस गर्ने पालो ढिलो आएको भनेर चिकित्सकलाई हातपात गरेका खुलेको छ।

मध्यराति चिकित्सक कुटिएपछि आइतबार बिहानैदेखि अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित भएका छन्।

उनीहरु अस्पताल परिसर र सिनामंगलस्थित सडकमा उत्रिएर धर्ना बसेका छन्। आन्दोलनका कारण अस्पताल पनि ठप्प छ। 

सरकारले सुरक्षित कार्यस्थलको ग्यारेन्टी गर्ने भनेपछि शनिबार ६ बुँदे सहमति गरेर चिकित्सकहरु काममा फर्किएका थिए। 

पोखराको मणिपाल अस्पताल र मकवानपुरको हेटौंडास्थित सञ्चो अस्पतालका चिकित्सकहरु कुटिएका थिए। त्यसयता देशभरका चिकित्सकहरुले काम छाडेर आन्दोलन चर्काएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .