अहिले काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार यतिबेला कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको हो।
आज राति सबै प्रदेशमा पानी पर्ने र केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना देखिएको हो भने कोशी र मधेश प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।
मौसम महाशाखाले आगामी २४ घण्टा (शनिबार साँझ ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।
जसमा भनिएको छ– कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, मधेश र गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ। मधेश र कोशी प्रदेशका तराई भूभागका एक/दुई स्थानमा हावाहुरीको सम्भावना छ। वर्षाका कारण त्यस क्षेत्रहरूबाट बहने नदीको जलसतह हल्का बढ्नसक्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षयजस्ता प्रकोप हुनसक्ने भएकाले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुनसक्ने असुविधा साथै चट्याङ र तराईमा हावाहुरीको जोखिम रहने हुँदा सोबाट हुनसक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।
Shares

प्रतिक्रिया