यतिबेला (आइतबार बिहान) देशका पहाडी भेगका केही स्थानमा मौसम आंशिक बदली भएको छ भने तराई क्षेत्रमा हुस्सुरकुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार यसबाहेक देशका अन्य स्थानमा भने मौसम समान्यतया सफा छ।
अहिले नेपालमा पानी पर्ने खासै सिस्टम नभएको उनले जानकारी दिए।
‘तर पूर्वका उच्च पहाडी तथा हिमाली भेगका एक÷दुई स्थानमा आज हल्का वर्षा र हिमपातको सम्भावना देखिएको छ,’ आइतबार बिहान नेपालखबरसँग वरिष्ठ मौसमविद् पौडेलले भने, ‘अलि तल-तल वर्षा हुन्छ भने उच्च भूभागतिर हिमपात।’
तराईमा लागेका हुस्सु कुहिरो घाम लागेसँगै हटेर जाने उनले बताए। बिहानको समय काठमाडौं उपत्यकालगायत पहाडी क्षेत्रमा पनि कुहिरो देखिएको तर घाम लागेसँगै त्यो बिस्तारै हट्दै गएको उनले बताए।
मंगलबार न्यून चापीय प्रणाली आउने सम्भावना
मंगलबार फेरि पश्चिमी वायुको न्यून चापीय प्रणाली भित्रिने सम्भावना छ।
वरिष्ठ मौसमविद् पौडेलका अनुसार पश्चिमी क्षेत्रबाट भित्रिने यो प्रणाली पश्चिमी क्षेत्रमै वर्षा र हिमपात गराउने सम्भावना छ।
तर त्यस बेलाको अपडेट त्यही बेला गरिने उनको भनाइ छ।

प्रतिक्रिया