मकवानपुरको हेटौंडा स्थित एनएस सिनेमा हलमा शुक्रबार बिहान चलचित्र कोपिला प्रदर्शन भइरहेको थियो। १३ को उमेरमा गतवर्ष निर्मम बलात्कारपछि हत्या भएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको घटनाक्रमलाई चलचित्रमा कलाकारले अभिनयमार्फत प्रस्तुत गरिरहेका थिए।
हलको एउटा कुनामा बसेर निर्मलाकी आमा दुर्गादेवी पन्त चलचित्र कोपिला हेरिरहेकी थिइन्। छोरीको दर्दनाक कथामा बनेको आफ्नो परिवारको पीडालाई दुर्गादेवीले चलचित्रमा राम्ररी हेर्न सकिनन्। फिल्म हेर्ने क्रममा उनको आँखाबाट निरन्तर आँसु झरे। चलचित्रको प्रदर्शन सकिँदा पनि उनको आँखाबाट आँसु रोकिएका थिएनन्।
चलचित्र प्रथम प्रदर्शनको क्रममा मध्यान्तरमा दुर्गादेवीलाई आर्थिक सहयोग तथा आभारपत्र प्रदान गर्ने कार्यक्रम राखिएको थियो। चलचित्र कोपिलालाई निर्मालाको कथामा आधारित रहेर निर्माण गरिएको थियो। त्यसैले आफ्नो परिवारको पीडामा निर्मित चलचित्र कोपिल हेर्न दुर्गादेवी बिहीबार रातभार रात्रिबसमा यात्र गरेर शुक्रबार सिनेमा हलमा आइपुगेकी थिइन्। फिल्म हेर्ने क्रममा उनी रोएकी हुन्। यो खबर आजको राजधानी दैनिकमा डब्बु क्षत्रीले लेखेका छन्।
कार्यक्रम आयोजक संस्था मकवानपुर जागरण अभियानले चलचित्रको मध्यान्तरमा औपचारिक कार्यक्रम राखेको थियो। औपचारिक कार्यक्रममा आभारपत्र र आर्थिक सहयोग ग्रहण गर्ने क्रममा भक्कानिएकी दुर्गादेवी मञ्चमै मुर्छा परेर ढलिन्। केही समय आराम गरेपछि उनले बाँकी चलचित्र हेरिन्।
चलचित्रको विशेष प्रदर्शनबाट उठेको रकममध्य खर्च काटेर कार्यक्रममा दुर्गादेवीलाई ५० हजार रुपैयाँसहित आभारपत्र यो चलचित्रका निर्देशक शिवम् अधिकारी, निर्माता मणिराज गौतम, गणेश गिरी, सुवासराज काफ्ले, जागरण अभियानका अध्यक्ष कृष्णराज कोइरालाले संयुक्त रूपमा हस्तान्तरण गरे । यतिबेला पनि उनको आँखा रसाएकै थिए ।
चलचित्र प्रदर्शनपछि दुर्गादेवीले निर्मला पन्तको पछिल्लो अवस्थाबारे भनिन्,‘अहिलेसम्म पनि हामीले राज्यबाट पूर्णन्याय पाएका छैनौं, छोरीको हत्यामा ठूलाबडाकै हात भएर पनि हामीले न्याय नपाएको होला। निर्मलाको हत्या र त्यसपछिको हामीले भोगेको घटनालाई समेटेर बनाएको यो चलचित्र कोपिला मलाई मन प¥यो।’
चलचित्रमा कलाकारले आफ्ना परिवारको पीडालाई राम्रोसँग उतारेको उनले बताइन्। यो चलचित्रको न्यायको लागि दबाब दिने र आम नेपाली नारीलाई अब सचेतना हुन जागरण ल्याउने विश्वास पनि उनले व्यक्त गरिन्।
निर्देशक शिवम् अधिकारीले निर्माला हत्या प्रकरण राज्यको ठूलो कमजोरी भएकाले निर्मलाको न्यायका लागि ऐक्यबद्धता जनाउन चलचित्र कोपिला बनाएको बताए। सुरुमा चलचित्रको नाम निर्मला राखे पनि त्यो नाममा चलचित्र बनाउन अनुमति नपाएपछि आफूहरूले चलचित्रको नाम कोपिला राखेको पनि उनले स्पष्ट पारे।
यही कार्यक्रमका लागि दुर्गादेवीसँगै कञ्चनपुरबाट हेटौंडा आएका नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष बिष्णु अवस्थीले पनि निर्मला पन्तको कथालाई उठान गरेर निकै मार्मिक चलचित्र कोपिला बनेको बताए। चलचित्रले आमनिर्मलाहरूको प्रतिनिधत्व गर्ने भनाइ अध्यक्ष अवस्थीको थियो।
यो चलचित्रमा सञ्जिवनी खरेल, सरिता गिरी, गणेश गिरी, प्रकृति खरेल, जुनिफर पौडेल, श्रेया आचार्य, ऋद्धिचरण श्रेष्ठ, अस्मिता सुनार जुरेली, प्रणव सुवेदी, बिमल पौडेल, सुशान्त श्रेष्ठ, आरजे प्रणव सुवेदीसहितका कलाकारले अभिनय गरेका छन्।
निर्मलाका रूपमा चलचित्रमा सञ्जिवनी खरेल प्रस्तुत भएकी छन्। निर्मला बनेर आफूले अभिनय गर्दा उनको पीडालाई नजिकबाट भोग्ने अवसर पाएको र त्यो पीडाले निकै दुःखी बनाएको सञ्जिवनीले बताइन्। आफ्नो यो पहिलो चलचित्र भएको पनि उनले खुलाइन्।
चलचित्रलाई विभिन्न च्यारिटी सो र विदेशमा अवार्ड समारोह एवं विशेष प्रदर्शनपछि नेपालमा रिलिज गर्ने यसका निर्माता मणिराज गौतम र सुवास काफ्लेले बताए।
Shares

प्रतिक्रिया