समाज


नर्वेजियन आरोही र नेपाली गाइडले तोडे निर्मल पुर्जाको विश्व रेकर्ड

९२ दिनभित्र विश्वका १४ अग्ला हिमाल चढ्न सफल
नर्वेजियन आरोही र नेपाली गाइडले तोडे निर्मल पुर्जाको विश्व रेकर्ड

नेपालखबर
साउन ११, २०८० बिहिबार १४:१३, काठमाडौँ

नेपालीमूलका आरोही निर्मल पुर्जाले ७ महिनाभित्र विश्वका १४ वटा ८ हजार मिटर अग्ला हिमाल चढेर बनाएको विश्वरेकर्ड तोडिएको छ।

म्याग्दीमा जन्मिएका निर्मलले ८ हजार मिटरभन्दा अग्ला संसारका १४ वटा हिमाल ७ महिनाभित्र चढेर २०७६ कात्तिकमा बनाएको विश्ववकीर्तिमान नर्वेजियन हिम आरोही क्रिस्टिन ह्यारिला र नेपाली गाइड तेन्जिन ल्हामा शेर्पाले बिहीबार तोडेका हुन्। 

निर्मलले २०७६ कात्तिक ११ गते सोमबार तिब्वतमा अवस्थित शिशापङ्मा हिमाल आरोहण गरेसँगै सात महिनामा विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ हिमाल आरोहण गर्ने पहिलो पर्वतारोही बनेका थिए। 

तर उनको यो कीर्तिमान नर्वेजिन महिला हिम आरोही र नेपाली गाइड तेन्जिनले अभियान थालेको ९२ दिनमै तोडिदिएका हुन्।

निर्मलले आफ्नो उक्त सफलतालाई विश्वभर ब्रान्डिङ गरेका थिए। भिडिओ र फोटोमार्फत उक्त सफलता संसारभर फैल्याएका उनको कीर्तिमान अब अर्का नेपाली गाइडको नाममा पुगेको छ।

निर्मलको कीर्तिमान तोड्दै नर्वेजियन आरोही क्रिस्टिन ह्यारिला र नेपाली गाइड नेन्जिन शेर्पा (लामा) अभियान थालेको ९२ दिनमै पाकिस्तानस्थित विश्वकै दोस्रो अग्लो माउन्ट के-२ को शिखरमा पुगेका हुन्। 

उक्त कीर्तिमानपछि उनीहरुको टिमकोतर्फबाट जारी विज्ञप्तिमा यो सफलता अटुट दृढ संकल्प, सामूहिक प्रयास र लगातारको मिहिनेका कारण सम्भव भएको उल्लेख गरिएको छ।

विज्ञप्तिमा ह्यारिला र लामाको सहकार्यले पर्वतारोहणका क्रममा आवश्यक एकता, सहयोग र महानता पनि एकसाथ प्रदर्शन गरेको जनाइएको छ। 

यसघि यो सफलता नेपालमा जन्मिएका ब्रिटिश आरोही निर्मल पुर्जाले सन् २०१९ मा ६ महिना ६ दिनभित्र कायम गर्न सफल भएका थिए। 

पुर्जा अहिले बिना अक्सिजन विश्वका ८ हजार मिटर अग्ला १४ वटा हिमाल चढ्ने विश्वकीर्तिमान आफ्नो नाममा लेखाउने कोसिसमा छन्। 

यो रेकर्ड कायम गर्ने क्रममा ह्यारिला र लामाले तिब्बततर्फबाट शिशापंगमा चढेका थिए। त्यसैगरी चीनले भिसामा ढिलाइ गरिदिएपछि माउन्ट के-टुसहित अन्य १२ हिमाल चढ्नुपर्ने दबाब उनीहरुलाई थियो। 

अहिलेसम्म विश्वका ८ हजार मिटर अग्ला १४ हिमाल करिब ४ जनाले मात्रै चढेका छन्। त्यसमा महिलाको संख्या नगन्य छ। 

यो कीर्तिमान कायम गर्ने दौडमा निस्किनुअघि ३७ वर्षीया ह्यारिलाले आफ्नो घर पनि बेच्नु परेको थियो। प्रायोजक मिल्न मुस्किल भएपछि उनले आफ्नो अपार्टमेन्ट बेचेर पैसा जुटाएका थिइन्। 

‘विश्वमा एक महिला हुनु बिलकुल अलग कुरा हो, केबल यो प्रायोजनको कुरा मात्रै होइन’, उनले केही महिनाअघि एएफपीसँग भनेकी थिइन्।

ह्यारिला नर्वेको सबैभन्दा उत्तरी भागको ब्यारेन्ट्स सागरमा अवस्थित भाडसोकी बासिन्दा हुन्। जहाँको उच्चतम बिन्दु केबल ६३३ मिटर (२,००० फिट) छ।

उनले सानै उमेरमा हिमाल चढ्ने कोसिस गरेकी थिइनन्। उनले सानो उमेरमा आफूलाई फुटबल, ह्याडबल र क्रस-कन्ट्री स्किइङगका लागि अभ्यस्त बनाइन्। 

सन् २०१५ मा जब उनको फर्निचर चेनको टोलीसँगै तान्जानियाको किलिमञ्जारोको यात्रा गरिन्, त्यसपछि उनमा हिमआरोहणको नशा चढ्यो।

यता नेपाली गाइड लामा १६ वर्षदेखि नै हिमालको यात्रामा निस्किएका थिए। अब उनी क्रिस्टिनको विश्वकीर्तिमानी यात्राको एक सहयोद्धा पनि बनेका छन्। 

आरोहण टिमले पनि लामाको दुर्लभ विशेषता, हिमाल र अग्ला पहाडसँगको गहिरो सम्बन्ध तथा जोखिमयुक्त क्षेत्रलाई बुझेर कठोर मौसमको पनि सामना गर्ने क्षमताकै कारण यो विश्वकीर्तिमान सम्भव भएको जनाएको छ। 

पाकिस्तानमा ८ हजार मिटरमाथिका विश्वका १४ हिमालमध्ये ५ वटा रहेका छन्। ती सबै अग्ला चुचुरा चुम्नुलाई पनि पर्वतारोहीको अन्तिम उपलब्धि मानिन्छ।

विश्वको सर्वोच्च शिखर सगरमाथाको तुलनामा प्राविधिक रुपमा माउन्ट के-टु आरोहण चुनौतीपूर्ण मानिन्छ। मौसम एकदमै अस्थिर रहने यो हिमालमा सन् १९५४ यता केवल ४२५ जना मात्रै पुग्न सफल भएका छन्। जसमा महिलाको संख्या करिब १० छ।

निर्मलको रेकर्ड 
निर्मल पुर्जाले यसअघि २७६ कात्तिकमा ६ महिना ६ दिन लगाएर ८००० माथिका १४ हिमाल चढ्ने रेकर्ड बनाएका थिए। तर क्रिस्टिन ह्यारिला र नेपाली गाइड तेन्जेन ल्हामा शेर्पाले उक्त रेकर्ड ९२ दिनमै तोडिदिए। 

ब्रिटिस सेनामा काम गरिसकेका निर्मल पुर्जाले २०७६ कात्तिकमा शिशापाङ्मा हिमालको सफल आरोहणसहित यो कीर्तिमान राखेका थिए। 

त्यसअघि यो कीर्तिमान पोल्याण्डका आरोही जेर्जी कुकुज्जाको नाममा थियो। उनले करिब ८ वर्ष लगाएर सन् १९८७ मा यो कीर्तिमान बनाए। 

सन् २००३ मा ब्रिटिस सेनामा लागेका ३६ वर्षीय निर्मललाई सन् २०१८ मा बेलायती महारानी एलिजाबेथले अर्डर अफ् द ब्रिटिस एम्पायर(एमबीई) अवार्ड प्रदान गरेकी थिइन्। 

निर्मलले चढेका हिमाल
अन्नपूर्ण, नेपाल, अप्रिल २३

धौलागिरी, नेपाल, मे १२

कञ्जनजङ्गा, नेपाल, मे १५

सगरमाथा, नेपाल, मे २०

लोत्से, नेपाल, मे २२

मकालु, नेपाल, मे २४

नाङ्गा पर्वत, पाकिस्तान, जुलाई ३

जी १, पाकिस्तान, जुलाई १५

जी २, पाकिस्तान, जुलाई १८

के २, पाकिस्तान, जुलाई २४

ब्रोड पिक, पाकिस्तान, जुलाई २६

चो यू, चीन, सेप्टेम्बर २३

मनास्लु, नेपाल, सेप्टेम्बर २७

शिशापाङ्मा, चीन, अक्टोबर २९

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad