ad ad

समाज


विश्वकै दोस्रो अग्लो माउन्ट के-टुको शिखरमा पुगिन् पूर्णिमा श्रेष्ठ

विश्वकै दोस्रो अग्लो माउन्ट के-टुको शिखरमा पुगिन् पूर्णिमा श्रेष्ठ

नेपालखबर
साउन ११, २०८० बिहिबार १२:५९, काठमाडौँ

८ हजार मिटरभन्दा माथिका १४ वटा हिमाल आरोहण अभियानमा रहेकी आरोही एवम् फोटो पत्रकार पूर्णिमा श्रेष्ठले पाकिस्तानस्थित विश्वकै दोस्रो अग्लो हिमाल के–टुको सफल आरोहण गरेकी छन्। 

उनले बिहीबार मध्यान्ह विश्वकै दोस्रो अग्लो शिखर चुम्न सफल भएको जानकारी दिएकी छन्। 

८६११ मिटर अग्लो माउन्ट के-टुको सफल आरोहणपछि उनी अहिले बेसक्याम्पतर्फ फिर्ता भइरहेकी छन्।

पूर्णिमाले आफ्नो सफल आरोहणका लागि सहयोगी र शुभेच्छुकलाई धन्यवाद पनि दिएकी छन्। पूर्णिमा एटके एक्सपिडिसन्सबाट अन्य सहयोगीसहित माउन्ट के-टु चढ्न पाकिस्तान पुगेकी थिइन्। 

यस अघि उनले नेपालमा रहेका ८ हजार मिटर उचाइका ७ वटा हिमाल आरोहण गरिसकेकी छन्। उनी ८ हजार ६११ मिटर उचाइको के–टुको आरोहणका लागि गत जेठ २४ गते पाकिस्तान गएकी थिइन्। 

उनी इस्लामाबाद हुँदै विश्वको दोस्रो सर्वोच्च हिमाल के–टु चढ्न पुगेकी थिइन्। के–टु आरोहणका लागि जोखिमयुक्त भएकाले किलर माउन्टेनको उपमा दिइएको छ। 

यसअघि के–टुको चुचुरोमा तीन नेपाली महिला पुगेका थिए। पूर्णिमाले शिखर चुमेसँगै आरोहण गर्ने नेपाली महिलाको संख्या ४ पुगेको छ।

पुर्णीमाले पहिलो पटक ८ हजार मिटरको हिमाल यात्रा गृहजिल्ला गोरखास्थित मनास्लुबाट सुरू गरेकी थिइन्। 

२०७४ मा मनास्लुको सफल आरोहण गरेकी उनी २०७५ मा सगरमाथाको शिखरमा पुगिन्। 

त्यसपछि अन्नपूर्ण र धौलागिरि आरोहण गरिन्। उनी अन्नपूर्ण र धौलागिरि आरोहण गर्ने पहिलो नेपाली महिला पनि भइन् 

विश्वका ८ हजार मिटर अग्ला १४ वटा हिमालमध्ये नेपालमा ८ वटा छन्। तीमध्ये चोयु तिब्बतबाट चढ्नुपर्छ। 

भौगोलिक जटिलता र विविध कारण नेपालबाट चोयु आरोहण अनुमति खुलाइएको छैन। माउन्ट के-टु पनि आरोहण गरेपछि पूर्णिमाले चोयु आरोहण गर्ने योजना बनाएकी छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .