जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले आइतबार बिहान ८ बजेदेखि साँझ ५ बजेसम्मका लागि बाह्रबिसे बजार क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ।
बाह्रबिसे नगरपालिकाले सडक मिचेर दायाँबायाँ बनाइएको घरटहरा भत्काउँदा झडप भएपछि अप्रिय घटना हुन नदिन निषेधाज्ञा जारी गरेको हो।
बाह्रबिसे बजारको पूर्वतर्फ ३०० मिटर, पश्चिमतर्फ भोटेकोशी पुल, उत्तरतर्फ इलाका प्रहरी कार्यालय र दक्षिणतर्फ क्षमादेवी जाने सडकसहितको चार किल्लाभित्र पाँच जनासम्म भेला भएर हिँडडुल गर्न नपाइने गरी निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले जानकारी दिए।
नगरपालिकाले सडक साँघुरो हुने गरी वर्षौंदेखि सडक मिचेर दायाँबायाँ बनाइएका घरटहरा भत्काउन पटकपटक सूचना जारी गरेको थियो।
सूचना अटेर गरिएपछि नगरपालिकाले शुक्रबार डोजर प्रयोग गरी घर टहरा भत्काएपछि सामान्य झडपसमेत भएको थियो।
आज पनि घर टहरा भत्काउँदा झडप हुनसक्ने आँकलन गरेर स्थानीय प्रशासनले निशेधाज्ञा जारी गरेको हो।

प्रतिक्रिया