परिवारसहित त्रिशूली नदीमा हामफालेर पनि बाँच्न सफल काठमाडौं थानकोटका विनय लामिछानेविरुद्ध हत्याको मुद्दा लाग्ने भएको छ।
धादिङ जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी रवीन्द्र रेग्मीका अनुसार उनीसँगै हामफालेका उनकी श्रीमती र दुई नाबालक छोराको मृत्यु भएकाले उनीविरुद्ध प्रहरीले कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाएको हो।
काठमाडौंको चन्द्रागिरि नगरपालिका ५, थानकोट निवासी ३८ वर्षीय लामिछाने सामूहिक आत्महत्या गर्न भनेर गत बिहीबार साँझ २८ वर्षीया श्रीमती जमुना तथा ६ महिना र २ वर्षका दुई छोरासहित त्रिशूली नदीमा हामफालेका थिए।
धादिङको बेनिघाट रोराङ-१ स्थित झोलुंगे पुलबाट त्रिशूलीमा हामफालेका उनीहरूमध्ये श्रीमती जमुना त्यही दिन मृत भेटिइन् भने दुई बालक अझै बेपत्ता छन्।विनयलाई भने प्रहरीले जीवितै उद्धार गरेकाे थियाे।
बिहीबार साँझ एक-एक बच्चा बाेकेका उनीहरू नदीमा बग्न थालेपछि तत्काल स्थानीय प्रत्यक्षदर्शीले प्रहरीलाई खबर गरेका थिए। तत्कालै घटनास्थल पुगेकाे प्रहरी स्थानीय र्याफ्टिङ व्यवसायीको सहयोगमा विनयलाई जीवितै उद्धार गर्न सफल भयो तर श्रीमती जमुना र बच्चाहरूकाे उद्धार गर्न सकेन। जमुनाकाे शव ३ सय मिटर तल फेला पर्याे भने दुई बच्चा बेपत्ता भए।
‘श्रीमती परिपक्व उमेरकी भएकाले उनका हकमा विनयविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने देखिए पनि दुई नाबालक छोराको त उनले सीधै हत्या गरेको ठहर्छ,’ आइतबार बिहान एसपी रेग्मीले टेलिफोनमा नेपालखबरसँग भने, ‘फेरि उनकी श्रीमतीले पनि आत्महत्या नै गरेको हो भन्ने पुष्टि भएको अवस्था होइन, पछि पुष्टि भएछ भने अर्कै कुरा, नत्र अहिले विनयले श्रीमतीसमेतकाे हत्या नै गरेको देखिन्छ।’
यसैकारण प्रहरीले विनय लामिछानेविरुद्ध कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाएको एसपी रेग्मीले जानकारी दिए।
‘आज हामी विनयविरुद्ध अदालतबाट म्याद थप गर्दै छौं,’ उनले भने।
कस्तो छ विनयको अवस्था?
त्रिशूलीमा हामफालेर पनि बाँच्न सफल विनय अहिले धादिङको गजुरी इलाका प्रहरी कार्यालयको हिरासतमा छन्।
उनको स्वास्थ्य सामान्य रहेको कार्यालय प्रमुख डीएसपी खगेन्द्रराज खड्काले जानकारी दिए।
‘हामाफाल्दा घुँडा, कुहिनालगायतमा लागेका सामान्य चोटपटकबाहेक उनलाई केही भएको छैन,’ डीएसपी खड्काले नेपालखबरसँग टेलिफोनमा भने, ‘उनको स्वास्थ्य ठीक छ।’
उनका अनुसार विनयले कमोडिटी अनलाइन बिजिनेसमा चरम घाटा बेहोरेपछि निराश भएर श्रीमतीसमेतको सहमतिमा सामूहिक आत्महत्या गर्न त्रिशूलीमा हामफालेको बताइरहेका छन्।
दुई बच्चा अझै भेटिएनन्
गत बिहीबार साँझ त्रिशूलीमा बगाइएका दुई बालक अझै नभेटिएको प्रहरीले जनाएको छ।
‘गोताखोर टोलीद्वारा खोजी गरेको गर्यै छौं,’ आइतबार बिहान एसपी रेग्मीले भने, ‘तर अहिलेसम्म भेटिएका छैनन्।’
त्रिशूलीको पानी अझै धमिलै रहेकाले खोजीमा समस्या भइरहेको उनले बताए। उनका अनुसार बेपत्ता बालक खाेजीका लागि त्रिशूली नदी बग्ने क्षेत्र चितवन, नवलपरासीसम्म भनिएकाे एसपी रेग्मीले जानकारी दिए।
याे पनि : मिटर ब्याजबाट मुक्ति खोज्न मृत्यु रोजे, थपियो श्रीमती र दुई छोराको वियोग
Shares

प्रतिक्रिया