समाज


स्वदेश फर्किएर हजयात्रीको गुनासो - ट्वाइलेटमा प्लेट सफा गरेर सडेको खाना खुवाए

स्वदेश फर्किएर हजयात्रीको गुनासो -  ट्वाइलेटमा प्लेट सफा गरेर सडेको खाना खुवाए

नेपालखबर
साउन ३, २०८० बुधबार १३:१, काठमाडौँ

नेपालबाट हजका लागि साउदी अरबको मक्कामदिना सरिफमा सहभागी भएका हजयात्री स्वदेश फर्किएका छन्।

बुधवार बिहान उनीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै स्वदेश फर्किएका हुन्। यस वर्ष नेपालबाट हजका लागि १ हजार २ सय जना मक्कामदिना गएका थिए। मक्का मदिनामा हजयात्रा पूरा गरी उनीहरू सबै स्वदेश फर्किएका हुन्।

स्वदेश फर्किएका हजयात्रीहरूले हज यात्रामा राम्रो व्यवहार नभएको गुनासो गरेका छन्। उनीहरूले नेपालबाट गएका हज कमिटीका सदस्यहरूले हज यात्रीका लागि कुनै राम्रो व्यवहार नगरेको र फोहोर खानेकुरा, बस्ने ठाउँ पैसा तिरेअनुसार राम्रो नदिएको गुनासो गरे।

एक हजयात्री राजअहम्मद अन्सारीले पैसा तिरेवापत सुविधा नपाएको र फोहोर होटलमा फोहोर खानेकुरा खुवाएको बताए।

नेपालबाट गएका हजयात्रीहरू हराउँदासमेत नेपालबाट गएका हज प्रतिनिधिहरू खोज्नसमेत नगएको गुनासो उनले गरे। हज कमिटी गठन गर्दा स्वच्छ छविका व्यक्ति राख्न र पार्टीका कार्यकर्ता नराख्न आग्रह गरे।

‘मक्का मदिनामा ४३ दिन पूरा गर्दा हामीले १२ सय जना जानुभएको थियो, पैसा तिरेरै गएको हो तर पैसा तिरेबापत सुविधा पाइएन,' उनले भने, 'गाडीको सुविधा पनि दिएन, सडेको चामल, मासु खुवाउँथ्यो, खाना खाने मानिस अस्पताल भर्ना भए, होटलमा पनि ट्वाइलेटमा राखेर प्लेट सफा गर्ने, स्प्रेले सफा गर्ने गरेर खाना खुवायो।'

नेपाल सरकारले पठाएका प्रतिनिधिहरूले आफूहरूलाई राम्रो व्यवहार नगरेको बताउँदै उनले भने, 'कति जना त तीन-चार दिनसम्म हराए, नेपाल सरकारले पठाएका प्रतिनिधिहरू खोज्नसम्म गएनन् । हज कमिटी गठन गर्दा स्वच्छ छविका व्यक्ति राखियोस्, यो पार्टीगत नहोस्, हजमा नेपालको बदनाम गर्नेलाई कारबाही होस्। हज कमिटीको सबै सदस्यहरू दोषी हुन्।’

उनले हज यात्रामा नेपालको प्रतिनिधि भई गएका हज कमिटीका प्रतिनिधिहरूले नेपालको बदनाम गरेको बताउँदै कारवाहीको माग गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .