ad ad

ग्लोबल


कहाँ गायब भए चिनियाँ विदेशमन्त्री? चर्चित टिभी पत्रकारसँग जोडिएको थियो नाम

कहाँ गायब भए चिनियाँ विदेशमन्त्री? चर्चित टिभी पत्रकारसँग जोडिएको थियो नाम

नेपालखबर
साउन ३, २०८० बुधबार १३:६, काठमाडौँ

तीन सातायता एकजना चिनियाँ उच्च नेतालाई विश्व कूटनीतिक जगतले खोजिरहेको छ। गत डिसेम्बर अन्तिममा पद सम्हालेका चिनियाँ विदेशमन्त्री छिन काङ तीन सातायता सार्वजनिक रुपमा नदेखिएपछि खोजी भइरहेको हो।

पछिल्लो पटक जुन २५ मा सार्वजनिक रुपमा देखिएका उनी त्यसयता गायब छन्। त्यसदिन उनले श्रीलंका र रुसका विदेशमन्त्रीहरुलाई भेटेका थिए। त्यसपहिले उनी दैनिकजसो कूटनीतिक भेटमा सक्रिय थिए। त्यही नै उनको अन्तिम भेट थियो। 

पछिल्ला कूटनीतिक भेटघाटमा नदेखिएका उनी कहाँ गए? किन गायब भए? धेरैको चासो बनेको छ। उनी गायब भएपछि अहिले चीनका पूर्वविदेशमन्त्री वाङ यी अन्तर्राष्ट्रिय बैठकहरुमा सक्रिय भइरहेका छन्। 

पछिल्लो पटक भएको आसियानको बैठकमा पनि वाङ यी देखिएका छन्। उनले यो बैठकमा विश्वजगतका नेताहरुसँग चीनकोतर्फबाट भेट्दै संवाद गरेका छन्। 

पछिल्लो पटक युरोपबाट बेइजिङ पुगेका जोसेप बोरेलले छिनसँग भेट्ने कार्यक्रम पनि रद्द गरिएको थियो। 

जाकर्तामा आयोजित आसियान मुलुकका विदेशमन्त्रीहरुको बैठकमा पनि छिन काङ नगएपछि उनको अवस्थालाई लिएर प्रश्न उठेको छ। चिनियाँ विदेश मन्त्रालयले स्वास्थ्यका कारण उनी उपस्थित नभएको बताए पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा भने एकजना महिला पत्रकार भाइरल भइरहेकी छन्। 

जुन २५ मा श्रीलंकन समकक्षीसँग भेट्दै चिनियाँ विदेशमन्त्री
एकजना महिला पत्रकारसँगका तस्बिरहरु सार्वजनिक भएसँगै विदेशमन्त्री छिन काङमाथि चिनियाँ सरकारले निगरानी बढाएर नियन्त्रणमा लिएको समाचार अन्तर्राष्ट्रियमाध्यममा आइरहेका छन्। 

छिन काङ बेपत्ता भएको विषयलाई लिएर चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले काममा फर्किनेबारे आफूलाई कुनै जानकारी नभएको बताएकी छन्। 

एकजना ४० वर्षीया विश्वचर्चित महिला पत्रकारसँग सार्वजनिक स्थानमा देखिएसँगै छिनमाथि सरकारले कारबाही अघि बढाएको दाबी समाचारमा गरिएको छ। 

४० वर्षीया चर्चित टेलिभिजन पत्रकार महिलासँग देखिएयता चिनियाँ विदेशमन्त्रीको अवस्था पनि अज्ञात छ। ती महिलासँग सार्वजनिक स्थानमा देखिएका तस्बिर चिनियाँ सामाजिक सञ्जालमा भाइरल भएसँगै सरकारले कारबाही अघि बढाएको बताइएको छ।

एक महिलासँग विदेशमन्त्री यसरी देखिनु गलत बताउँदै चिनियाँ सरकारले उनीहरु दुवैलाई नियन्त्रणमा लिएर राखेको दाबी सञ्चारमाध्यमहरुले गरेका छन्। 

४० वर्षीया फू जियोतियान एकजना प्रतिष्ठित पत्रकार हुन्। बेलायतस्थित क्याम्ब्रिज युनिभर्सिटीले सम्मानमा भन्दै एउटा पार्कको नाम नै उनको नाममा राखिदिएको छ।

उता इटालीले पनि ती पत्रकार महिला फूलाई 'अर्डर अफ द स्टार इटाली'बाट सम्मान पनि गरेको थियो। 

अहिले गायब भएकी फूले चीनको पश्चिमा देशसँगको सम्बन्धलाई उचाइमा लैजान गरेको योगदानलाई लिएर प्रशंसा पनि पाएकी थिइन्। 

ब्रिटिश पत्रिका द टाइम्सका अनुसार टीभी प्रस्तोता फू जियोतियान विश्वचर्चित नेताहरुसँगको संवादका कारण चर्चित थिइन्। उनले अमेरिकी, रसियन, भारतीयदेखि म्यानमारको सैनिक नेतृत्वसँग पनि सम्वाद गरेकी थिइन्। 

सन् १९८३ मा जन्मिएकी उनी पनि चिनियाँ विदेशमन्त्री गायब भएयता सार्वजनिक मञ्चहरुमा देखिएकी छैनन्। 

६ महिनाअघि उनले तिनै चिनियाँ विदेशमन्त्री छिन काङको अन्तर्वार्ता पनि लिएकी थिइन्। यही अन्तर्वार्ताबाट उनीहरु दुवैजना सार्वजनिक मञ्चमा देखिँदै निकट भएका चर्चा चीनमा पनि चलेको थियो। 

त्यही अन्तरवार्तापछि यी दुईजनाबीचको सम्बन्ध चर्चामा थियो। विदेशमन्त्री छिन एक पत्रकारसँग फ्लर्ट गरिरहेको सार्वजनिक भएसँगै चिनियाँ सरकारले कारबाही गरेको चर्चा विश्वभर चलेको छ।

यी चिनियाँ पत्रकाले 'टक विद वर्ल्ड लिडर' कार्यक्रम चलाउँथिन्। उनको यो कार्यक्रम चीन र बाहिर पनि चर्चित छ। 
विदेशमन्त्री छिन गायब भएयता यी पत्रकार पनि टेलिभिजन कार्यक्रममा देखिएकी छैनन्। 

उनी सरकारी च्यानल फिनिक्समा कार्यरत थिइन्। अप्रिल १२ मा उनले एउटा जहाजसहित ट्विटरमा केही तस्बिर हालेकी थिइन्।

त्यस कोलाजमा सानो बच्चासहितको र विदेशमन्त्री छिनको तस्बिर पनि राखेकी थिइन्। त्यो तस्बिरलाई लिएर उनीहरु निकट र पारिवारिक सम्बन्धमा रहेको चर्चा थियो। त्यही तस्बिरका आधारमा चीनमै पनि दाल केही कालो छ भन्ने अनुमान सुरु भएको थियो। 

त्यसपछि उनी पनि चिनियाँ सरकारको जाँचको घेरमा आएकी थिइन्। उनलाई दिएको सम्मानलाई लिएर चीन सरकारले इटाली र बेलायत दुवैसँग आपत्तिसमेत प्रकट गरेको थियो।

इटाली र बेलायतले अन्तर्राष्ट्रियस्तरको सम्मान पाएकी उनी र विदेशमन्त्री छिनको अवस्थाबारे चिनियाँ अधिकारीहरुले पछिल्लो समय जवाफ दिन पनि मानिरहेका छैनन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .