पश्चिमी न्यून चापीय प्रणालीका कारण बिहीबारदेखि नै काठमाडौं उपत्यकालगायत देशका अधिकांश स्थानमा वर्षा भइरहेकाे छ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार काठमाडौं उपत्यकामा त बिहीबार रातभर वर्षा भएको छ। अहिले (शुक्रबार बिहान)सम्म वर्षा जारी नै छ।
वर्षाले काठमाडौंका सडक भिजेका छन् भने खाल्डाखुल्डीमा पानी जमेका छन्। पिच नभएका सडक हिलाम्मे भएका छन्। यतिबेला काठमौंका सडकमा मानिस छाता ओढ्दै तथा रुझ्दै हिँडेको देखिन्छ।
तराई क्षेत्रमा पनि उत्तिकै वर्षा भएको छ। सर्लाहीकाे हरिवन निवासी पत्रकार टंक क्षत्रीले फेसबुकमा लेखेका छन्- झण्डै ३ घण्टादेखि वर्षायाम झल्काउने गरी झम्के झरी!
‘कति मिलिमिटर वर्षा भयो भन्ने तथ्यांकचाहिँ केहीबेरपछि आउनेछ,’ मौसमविद् श्रेष्ठले शुक्रबार बिहान ६ बजे नेपालखबरसँग भने, ‘देशका अन्य स्थानमा पनि वर्षा कहाँ र कति भयो भन्नेबारे जानकारी पनि हामी केहीबेरपछि प्रकाशन गर्नेछौं।’
तैपनि देशका अधिकांश स्थानमा वर्षा भएको उनको अनुमान छ। ‘यसपालि चाहिनेभन्दा बढी नै हिउँदे वर्षा भएको अनुमान छ,’ उनले भने, ‘विगतका वर्षभन्दा बढी हो होइन भन्नचाहिँ तथ्यांक आएपछि मात्रै सकिन्छ।’
यसैगरी देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपता भइरहेकाे माैसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (शुक्रबार) पनि देशका अधिकांश स्थानमा वर्षा तथा उच्च पहाडी तथा हिमाली भेगका धेरै ठाउँमा हिमपात हुने सम्भावना छ।
महाशाखाले शुक्रबार बिहान प्रकाशन गरेको बुलेटिनमा भनिएको छ : पश्चिम तथा मध्यको उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा भारी हिमपातको सम्भावना छ।
मध्य र पूर्वी क्षेत्रमा आज दिनभर वर्षा हुने
आज पनि दिनभर देशभरजसाे वर्षा हुने मौसमविद्ले अनुमान गरेका छन्।
महाशाखाकै अर्का मौसमविद् प्रतिभा मानन्धरका अनुसार पश्चिमी न्यून चापीय प्रणाली पूर्व सर्ने क्रममा रहेकाले आज पश्चिम क्षेत्रमा दिउँसोदेखि वर्षा कम हुनेछ भने मध्य र पूर्वी क्षेत्रमा दिनभर वर्षा हुने सम्भावना छ।
नेपालखबरले पुनः शुक्रबार बिहान ७ बजे सम्पर्क गर्दा मौसमविद् मानन्धरले काठमाडौंस्थित त्रिभुवन विमानस्थल क्षेत्रमा १५ मिलिमिटर वर्षा भएको जानकारी दिइन्। ‘उपत्यकाभरिकै तथा देशका १६ स्टेसनको तथ्यांकचाहिँ हामी ८ः४५ बजे मात्रै आइपुग्छ।’
महाशाखाले अरू २४ घण्टा वर्षा तथा हिमपात नराेकिने अनुमान गरेकाे छ।
शुक्रबार बिहान महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै लेखेकाे छ : ‘देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा तथा उच्च पहाडी तथा हिमाली भेगमा हल्कादेखि मध्यम हिमपातकाे सम्भावना छ।
साथै मध्य र पश्चिमका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा भारी हिमपातको सम्भावना रहेकाले सतर्कता अपनाउन तथा यसबाट हुने चिसोबाट बच्न सर्वसाधारण सबैलाई अनुरोध छ।’
आगामी तीन दिनको मौसम पूर्वानुमान :
माघ ३ गते (शुक्रबार)
दिउँसो : देशभर सामान्यदेखि पूर्णसम्म बदली रहनेछ। देशका अधिकांश स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानमा हल्कादेखि मध्यमसम्म हिमपातको सम्भावना छ। पश्चिम तथा मध्यको उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा भारी हिमपातको सम्भावना छ।
राति : देशभर आंशिकदेखि सामान्यसम्म बदली रहनेछ। देशका केही स्थानमा हल्का वर्षा हुने देखिन्छ भने उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
माघ ४ गते (शनिबार)
दिउँसो : देशभर आंशिकदेखि सामान्यसम्म बदली रहनेछ। पहाडी भू-भागका थोरै स्थानमा हल्का वर्षा हुने देखिन्छ भने पश्चिमी उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।
राति : देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्यसम्म बदली भई पश्चिमी पहाडी भू-भागका थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना छ।
माघ ५ गते (आइतबार)
दिउँसो : देशको पहाडी भू-भागमा आंशिक बदली भई पहाडी भू-भागका थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना छ।
राति : देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
स्राेत : जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखा
Shares

प्रतिक्रिया