समाज


आचारसंहिता उल्लंघन गर्ने ३५ युट्युब च्यानललाई कारबाही गरिने

आचारसंहिता उल्लंघन गर्ने ३५ युट्युब च्यानललाई कारबाही गरिने

नेपालखबर
चैत ६, २०७९ सोमबार १८:२९, काठमाडौँ

प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिताको चरम उल्लंघन गर्ने ३५ वटा युट्युब च्यानललाई विशेष अनुगमनमा राखिएको जनाएको छ। 

काउन्सिलको आचारसंहिता अनुगमन उपसमितिको आजको बैठकले विशेष निगरानीमा राखिएका ती युट्युब च्यानलका विषयवस्तु, त्यसविरुद्ध परेका उजुरी, स्वअनुगमनसमेत अध्ययन गरी १५ दिनभित्र प्रतिवेदन तयार गर्ने निर्णय गरेको हो।

काउन्सिलले कुनै मिडियाअन्तर्गत आबद्ध नभएका युट्युब च्यानललाई अनुुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरी (साइबर ब्युरो) मा सिफारिस गर्ने र यस्ता च्यानलले सम्प्रेषण गरेका सामग्री र आकर्षित ऐन, नियम, निर्देशिका, आचारसंहिताबारे उल्लेख गरी कारबाहीका लागि युट्युब कम्पनीलाई अनुरोध गर्ने भएको छ। 

काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतको संयोजकत्वमा बसेको उपसमितिको बैठकले कतिपय युट्युब च्यानल प्रचलित ऐन, नियम, निर्देशिका, आचारसंहिताबारे जानकारीसमेत नभएका, के गर्ने/नगर्ने भन्ने सामान्य ज्ञानसमेत नभएको देखिएको भन्दै व्यावसायिक रूपमा सञ्चालन हुन चाहने युट्युब च्यानल लक्षित एकदिने अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि गरेको छ। 

बैठकमा अध्यक्ष बस्नेतले युट्युब च्यानल आफैँमा सूचना सम्प्रेषणका उपयुक्त माध्यम भएकाले भरपर्दो, विश्वसनीय र जिम्मेवारपूर्ण सूचना सम्प्रेषण गर्नुपर्ने बताए।

बैठकमा नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेल, काउन्सिलका सदस्यहरू दीपक पाण्डे, दुर्गा भण्डारी पौडेल, ठाकुर बेलवासे, लालबाबु शेख, बार एसोसिएसनका तर्फबाट प्रतिनिधि महासचिव अञ्जिता खनाल, काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसाल र उपप्रशासकीय अधिकृत एवं सहप्रवक्ता रामशरण बोहराको सहभागिता थियो। रासस 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad