ad ad

समाज


बागलुङको बान्द्रेगाउँमा खानेपानीको हाहाकार, बसाइँ सर्दै स्थानीय

बागलुङको बान्द्रेगाउँमा खानेपानीको हाहाकार, बसाइँ सर्दै स्थानीय

नेपालखबर
फागुन ३०, २०७९ मंगलबार ११:७, बागलुङ

सदरमुकाम बागलुङ बजार नजिकै छ मालिकाको बान्द्रेगाउँ। डाँडापाखाले घेरिएको यो गाउँ वर्षौँदेखि खानेपानीको समस्यामा छ। 

गाउँमा खानेपानीको समस्या समाधान गरिदिने बाचा गरेकाहरु धेरैपटक सत्तामा पुगे । व्यवस्था फेरिए तर खानेपानीको समस्या भने सधैँ उस्तै। पानीको अभावले बारीमा लगाएका सागका पालुवा ओइलिएका छन्।
 

पानी नहुँदा विद्यालयका शौचालय ढुङ्डुङ्ती गन्हाएका छन्। 

बागलुङ नगरपालिका–५ स्थित बान्द्रे गाउँमा सहज खानेपानीको पहुँच नहुँदा स्थानीयसँगै यहाँको कृष्ण आधारभूत विद्यालयका विद्यार्थीले धित मर्ने गरी पानी पिउन पाएका छैनन्। 

दशकौँ अगाडि निर्माण भएको योजनाबाटै स्थानीयले खानेपानी उपभोग गर्दै आएका छन् । बिहान र बेलुका गरी दुई समय धारामा पानी आउँछ । थोरै समय आउने पानीले स्थानीयको गाग्री भरिँदैन । विद्यालयको ड्रम भरिंदैन।

स्थानीयले यो समस्या सरोकारवाला निकायलाई पटक–पटक सुनाउँदै आएका छन् । खानेपानीको समस्या सम्बन्धित निकायलाई सुनाउँदा सुनाउँदै दिक्क भएका उनीहरू अहिले यो विषयमा बोल्नै चाहँदैनन्। 

खानेपानीको चरम अभावका कारण गाउँ छाडेर जानेको सङ्ख्या बढ्दै गएको स्थानीय बताउँछन्। पानीको आपूर्ति नहुँदा दैनिकी कष्टकर बन्दै गएको स्थानीय पार्वती शर्माले गुनासो गरिन्।
 
‘घर नजिकै विद्यालय छ, विद्यार्थी तिर्खाएर आउँदा उनीहरूलाई पानी दिन नसक्दा दुःख लाग्छ’, शर्माले भनिन्, ‘खेतीयोग्य जमिन भए पनि पानी अभावले तरकारी खेती र पशु चौपायालाई खुवाउन सकस छ।’ 

मुहान नजिक नहुँदा र सरकारले स्थानीयका समस्यामा ध्यान नदिँदा खानेपानीको समस्या वर्षौँदेखि यथावत छ। खानेपानीको सहज उपलब्धता नभएपछि धेरै परिवारले बान्द्रे गाउँ छाडिसके।

करिब चार दशक अगाडि धुरखोलाबाट ल्याएको पानी अहिलेसम्म व्यवस्थित गर्न नसक्दा समस्या भएको स्थानीय ७० वर्षीय प्रेम शर्मा सापकोटाले बताए। गाउँका झण्डै ३५ परिवारले खानेपानीको समस्या भोग्दै आएका छन्।

धारामा साँझ बिहान दुई समय खानेपानी आए पनि विद्यार्थीका लागि पर्याप्त नहुने कृष्ण आधारभूत विद्यालयका प्रधानाध्यापक दयाराम सापकोटाले बताए। पानी भर्नका लागि बिहान छिट्टै विद्यालय आउने र साँझ अबेरसम्म बस्नुपर्ने बाध्यता रहेको उनको भनाई छ।

बागलुङ नगरपालिका–५ का वडाध्यक्ष हरिप्रसाद शर्माले खानेपानी समस्या समाधानका लागि योजना अन्तिम चरणमा पुगेको बताए। 

विसं २०७२ देखि ‘मालिका खानेपानी तथा सरसफाइ आयोजान’ सञ्चालन भए पनि बजेट अभावमा सम्पन्न हुन सकेको छैन। ‘उपभोक्त समितिमार्फत ट्याङ्की निर्माण भएको छ, पाइप लाइन खन्न बाँकी छ,’ शर्माले भने। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .