ad ad

समाज


कपिलवस्तुको यशोधरा-७ बालविवाह मुक्त वडा घोषणा

कपिलवस्तुको यशोधरा-७ बालविवाह मुक्त वडा घोषणा

प्रकाश न्यौपाने
पुस १३, २०७६ आइतबार १०:६,

कपिलवस्तुको यशोधरा गाउँपालिका वडा नं. ७ (साविक सोमडीह गाविस) बालविवाह मुक्त घोषणा भएको छ। बालविबाह हुने क्रम रोकिएपछि वडालाई बालबिबाहमुक्त घोषणा गरिएको हो। वडा अध्यक्ष चन्द्रप्रकाश दुवेले वडाबासीको सहयोगले वडालाई बालबिबाहमुक्त बनाउने योजना सफल भएको बताए।

‘विगतमा व्याप्त रहेको बालबिबाह अब रोकिएको छ। वडाबासीले गाउँपालिकासँग मिलेर घरघर र टोलटोलबाट अभियान थालेकाले यो सार्थक भएको हो। अब पनि हामीले बालबिबाह हुन दिँदैनौं भनेर अठोट गर्न जरुरी छ’, उनले भने। दुवेले वडालाई वालविवाहमुक्त वडा घोषणा गर्न समस्त वडावासी तथा वडाका राजनैतिक दलका प्रतिनिधि र अभिभावक तथा किशोरकिशोरीहरु वालविवहाविरुद्ध प्रतिवद्ध भएको जनाए।

वडाको तथ्यांकअनुसार २०७३ मंसिरदेखि २०७४ कार्तिक मसान्तसम्म २५, २०७४ मंसिरदेखि २०७५ कार्तिक मसान्तसम्म १८ र २०७५ मंसिरदेखि २०७६ कार्तिक मसान्तसम्म ९ जनाले वालविवाह गरेका छन्। ‘विस्तारै बालविवाहको दर घट्दै गएको छ। अब वडामा बालविवाह हुनेछैन। सबै प्रतिबद्ध हुनुभएको छ’, उनले भने। वडामा कार्य गरिरहेका विभिन्न संघसंस्था, युवा क्लव, बाल क्लबलगायतको अथक प्रयास पछि वडा बालविबाहमुक्त बन्न सफल भएको पालिकाले जनाएको छ।

वडामा एक कार्यक्रम गरी वडालाई बालबिबाहमुक्त घोषणा गरिएको हो। जिल्ला समन्वय समिति प्रमुख नारायणप्रसाद खनालले वालविवाहमुक्त घोषणा गरेर मात्रै नहुने बताउँदै यसको पूर्ण कार्यान्वयन हुनु महत्वपूर्ण पक्ष भएको जनाए। ‘घोषणा गरेर मात्रै सफल भइन्छ भन्ने छैन। घोषणा कार्यान्वयन गर्न सबै एकठाउँ हुनुपर्छ। वडाबासीले घरबाटै अभियान सफल पार्न लाग्नुपर्छ’, उनले भने।

गाउँपालिकाका अध्यक्ष गिरिजेशकुमार पाण्डेयले वडालाई शिक्षा, स्वास्थ्य, चेतनालगायत सबै सामाजिक विकासको क्षेत्रमा अगाडि लैजाने योजनाका साथ आफू अघि बढेको बताए। उनले सचेतनामूलक कार्यक्रमले बालबिबाह मुक्त गर्न सफल भइने जनाए। नेपालको कानूनअनुसार २० वर्ष नपुगी विबाह गर्न पाइँदैन। तर तराईका जिल्लाहरुमा कानूनको खिलाप बालबिबाह गर्ने प्रचलन छ। ‘वडा बालबिबाहमुक्त भएपछि विस्तारै सिंगो पालिका नै मुक्त गर्न सकिन्छ। यसले मुलुकभर राम्रो सन्देश गएको छ’, अध्यक्ष पाण्डेयले भने।

चिकित्सकहरुका अनुसार बालविवाहले बालबालिकाको शारीरिक, मानसिक र संवेगात्मक विकासमा असर पर्छ। बालविवाह हुने धेरैजसो बालिका सानैमा यौन सम्बन्ध राख्दा संक्रमणमा पर्ने, छिटै सन्तान जन्माउँदा रोगी हुने, शारीरिक, मानसिक रुपमा कमजोर हुने र पठनपाठनबाट टाढा हुने गरेका छन्। यसले गर्दा पाठेघर खस्ने, पाठेघरको क्यान्सर हुने, विभिन्न यौन रोग जस्ता समस्या देखिने गरेको छ। यसैले उमेर पुगेरमात्रै विबाह गनुपर्ने चिकित्सकहरु बताउँछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .