ad ad

समाज


सडक मानवमुक्त अभियानः परिवार र आफन्त भेट्न कठिन

सडक मानवमुक्त अभियानः परिवार र आफन्त भेट्न कठिन

शर्मिला पाठक
पुस ९, २०७६ बुधबार ९:३५,

सडकबाट उद्धार गरिएकालाई परिवार र आफन्तको जिम्मा लगाउन मुख्य समस्या रहेको छ। उद्धार गरिएकाहरुले आफ्नो परिवारबारे सत्यतथ्य जानकारी नदिँदा उनीहरुलाई जिम्मा लगाउन समस्या भएको हो। यसरी संरक्षण गरिएकामध्ये अशक्त र अनाथको सङ्ख्या कम छ। परिवार भएका र सक्रिय जीवन जिउन सक्नेहरु पनि घर फर्काइदिने पिरले आफ्नो ठेगाना भन्न मान्दैनन्। 

‘परिवारबारे जानकारी लिनका लागि उनीहरुलाई केही दिनको परामर्श नै आवश्यक छ, अन्यथा कठिन छ’, मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले भने। पछिल्लो समय काठमाडौँ महानगरपालिका सडकमा आफ्नो जीवन बिताइरहेकाको संरक्षण जुटिरहँदा यस्ता किसिमका समस्या देखापरेको हो।

कामपाले आफ्नो २५औं महानगर दिवस अर्थात् गत मंसिर २९ गतेदेखि शुरु गरेको यस अभियानअन्तर्गत हालसम्ममा २८५ जनालाई उद्धार गरिसकेको छ। यसरी सडकमा जीवन बिताउनेमध्ये सबैभन्दा बढी कालीमाटी, ढल्को, नयाँबजार, इन्द्रचोक, बौद्ध, पशुपति, चाबहिलचोकगायत स्थानका छन्। सडकमा बस्नेहरु ४० भन्दा बढी जिल्लाका रहेका भए पनि बढी मात्रामा सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, नुवाकोट, धादिङ, गोरखा र चितवनको बढी रहेको आश्रमले जनाएको छ। उद्धार गरिएकाहरुमा बढी पुरुष छन्। ती १६ वर्षदेखि ४० वर्ष उमेर समूहका छन्।

मंसिर २९ गतेदेखि हरेक राति ८ देखि ११ बजेसम्म उद्धारको काम गर्नका लागि कामपा, प्रहरी, मानव सेवा आश्रमका प्रतिनिधिसहित ५० जनाको टोली खटिने गरेको छ। सडकका भरमा कोही पनि बस्नु नपरोस् भन्दै बिरामीलाई उपचार गर्ने, परिवार भएकालाई जिम्मा लगाइदिने र बेसहारालाई सहयोग गरी संरक्षण गर्ने जनाई कामपाले यस किसिमको अभियान सञ्चालन गरेको हो।

कार्यक्रम सञ्चालन गरिएको तीन महिनामा ३२ वटै वडामा बेसहारा भई आफ्नो जीवन बिताइरहेकाको उद्धार गर्ने लक्ष्य कामपाको छ। शुरुआतीको पहिलो चार रातमा सडक किनारामै सुत्ने २१५ व्यक्तिलाई उद्धार गरिएको थियो। अभियान शुरु भएको पहिलो दिन सात महिला, ३४ पुरुष र एक बालक गरी ४२ को उद्धार भएको थियो। दोस्रो दिन १० महिला, ४५ पुरुष एक बालक र एक बालिका गरी ५७ लाई उद्धार गरिएको थियो। यही पुस १ गते ११ महिला, ३७ पुरुष र एक बालक गरी ४९ र पुस २ गते तीन महिला, ६४ पुरुष गरी ६७ लाई राति काठमाडौँका विभिन्न सडक किनाराबाट उद्धार गरिएको थियो।

‘बेसहारा, अभिभावकविहीन, सडक आश्रित (सहयोगापेक्षी) मानवमुक्त महाअभियान घोषणा मूल व्यवस्थापन समिति’ को प्रदेश नं ३ का इञ्चार्ज सुमन बर्तौलाले उद्धार गरिएकामध्ये १२९ पुरुष र १४ महिला तथा एक एक बालक र बालिकालाई मनोसामाजिक परामर्शपछि घर पठाइएको बताए। उद्धार गरिएकामध्ये पहिचान गरिएका १५ जनालाई मानव सेवा आश्रममा लगिएको छ। त्यस्तै नौ जनाको अस्पतालमा राखेर उपचार भइरहेको छ।

कामपाका प्रमुख विद्यासुन्दर शाक्यले व्यक्तिको बस्न र बाँच्न पाउने नैसर्गिक अधिकारको सम्मान गर्दै उद्धार शुरु गरिएको बताए। उनले व्यक्तिको उद्धारपूर्वको अवस्थालाई तस्वीर र भिडियोसहित कागजातमा व्यवस्थित अभिलेख बनाउन पनि समितिलगायत निकायलाई निर्देशन दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .