समाज


यमपञ्चक सुरु तर काग तिहार भोलि

भाइटीका कात्तिक १० गते ११:३७ बजे उत्तम साइत
यमपञ्चक सुरु तर काग तिहार भोलि

फाइल तस्बिर


नेपालखबर
कात्तिक ५, २०७९ शनिबार ६:५२, काठमाडौँ

प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आज सुरु गरिँदै छ। 

कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज शनिबार बेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। यस वर्ष यमदीपदान आज सुरु हुने भए पनि काग तिहार कात्तिक ६ गते आइतबार परेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए। बेलुकी त्रयोदशी तिथि परेका दिन यमदीपदान सुरु हुन्छ।

आइतबार बेलुकी ०५:०४ बजेसम्म त्रयोदशी तिथि छ। त्रयोदशीमा सूर्योदय भएका दिन काग तिहार मनाइन्छ। बेलुकी ०५:०४ बजेपछि चतुर्दशी तिथि लाग्छ। यसैले शनिबार नै यमपञ्चक सुरु हुने समितिले जनाएको छ।

“सायंकालमा त्रयोदशी भएका दिन यमदीपदान सुरु गर्नुपर्ने र प्रातः कालमा त्रयोदशी भएका दिन काग तिहार मनाउनुपर्ने शास्त्रीय व्यवस्थाअनुसार यस्तो निर्णय गरिएको हो”, उनले भने।

यमपञ्चकका अवसरमा यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ। यसैगरी धनत्रयोदशी (धनतेरस) पर्व पनि आजै परेको छ। धनवन्तरी जयन्ती भने कात्तिक ६ गते आइतबार परेको छ। तिथिको घटबढका कारण सोमबार कुकुर तिहार र लक्ष्मीपूजा सोमबार एकै दिन परेको समितिले जनाएको छ।

यमदीपदान परिवारका सदस्य सङ्ख्याका आधारमा गरिन्छ। यमदीपदान गर्दा दक्षिण फर्काएर गर्नुपर्ने धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताए। कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनसम्म यमदीपदान गर्ने शास्त्रीय विधि छ।

कात्तिक ७ गते सोमबार अरुणोदयकालमा नरक स्नान गरेर बिहान कुकुर तिहार पर्व मनाइन्छ। बेलुकी लक्ष्मीपूजा गर्नुपर्ने समितिका अध्यक्ष अधिकारीले बताए। सोमबार बिहान अरुणोदयकालअघि अपामार्गसहित स्नान गरिन्छ। यसलाई नरक स्नान भनिन्छ। यस दिन बिहान विधिपूर्वक स्नान गरेर बत्ती बालेर नदीमा बगाउनाले नरकको यातना सहनु नपर्ने शास्त्रीय मान्यता छ।

गाईपूजा कात्तिक ८ गते मङ्गलबार परेको छ। गोरुपूजा, हलितिहार, गोवद्र्धनपूजा, बलिपूजा र आत्म (म्ह) पूजा कात्तिक ९ गते बुधबार परेको छ। कार्तिक शुक्ल प्रतिपदाका दिन गाई, गोरु, गोवर्द्धन र आत्म (म्ह) पूजा गर्नुपर्ने शास्त्रीय वचन छ। प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचनअनुसार नेपाल संवत् ११४३ पनि यसै दिन सुरु हुन्छ।   

भाइटीका कात्तिक १० गते ११:३७ बजे उत्तम साइत

कात्तिक १० गते बिहीबार भाइटीका लगाउनुपर्ने समितिले जनाएको छ। यस दिन बिहान ११:३७ बजे भाइटीकाको उत्तम साइत रहेको समितिका अध्यक्ष अधिकारीले बताए।

सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउनु पनि शास्त्रसम्मत् नै हुने समितिले जनाएको छ। राज्य सञ्चालकले भने साइतमा टीका लगाउनुपर्छ। भाइपूजा र नेवारी भाषामा किजापूजा कात्तिक १० गते नै गरिन्छ। बेलुकी सूर्यास्त नभएसम्म भाइटीका लगाउन कुनै समस्या नरहेको समितिले जनाएको छ।

झिलीमिलीको चाड पनि भनिने तिहारका अवसरमा एक हप्ता अघिदेखि नै राजधानीलगायत प्रमुख सहरमा थरीथरीका बत्ती बाल्न सुरु भइसकेको छ। बत्तीको उज्यालोले सहरमा घुम्दा मन आनन्दित हुन्छ। केहीले आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाकै दिनदेखि दीपावलीलाई निरन्तरता दिन्छन्।

यस अवसरमा विकृतिका रूपमा फैलिएको पटाका पड्काउनेले गर्दा दुर्घटना पनि हुने गरेको छ। जताततै पटाका पड्काउँदा आगलागी, अरुलाई लागेर घाइते हुने, आँखालगायत अङ्गभङ्ग हुने समस्यासमेत बढ्न थालेको छ। नेपाल प्रहरीले पटाका नपड्काई सभ्य रूपमा पर्व मनाउन आह्वान गरेको छ। तिहारअघि ठूलो सङ्ख्यामा पटाका बरामद हुने गरे पनि पड्किन भने छोडेको छैन। रासस 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad