समाज


बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी खुला

बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी खुला

नेपालखबर
मंसिर १९, २०७६ बिहिबार ४:११,

भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी खुला गरिएको छ।

दुई वर्ष पहिले नै जङ्गल सफारी खुला गरिएको थियो। तर, त्यतिबेला अपेक्षाकृतरूपमा पर्यटक भित्र्याउन नसकेको निकुञ्जले भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै पुनः जङ्गल सफारी खुला गरिएको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद श्रेष्ठले जानकारी दिए।

प्रतिनिधिसभा सदस्य महेश्वर गहतराज, प्रदेशसभा सदस्य कृष्णा केसी, उषा पुन, संविधानसभाका पूर्वसदस्य देवराज भार, राप्तीसोनारी गाउँपालिकाका प्रमुख लाहुराम थारू, कोहलपुर नगरपालिकाका कार्यवाहक प्रमुख सञ्जुकुमारी थारू, बैजनाथ, कोहलपुर र राप्तीसोनारी गाउँपालिकाका वडाध्यक्षले निकुञ्ज अवलोकन गरेका छन्।

उनीहरुले भ्रमण वर्षमा बाँके निकुञ्जमा जङ्गल सफारीका लागि सामूहिक अनुरोधसमेत गरेका छन्।

सांसद गहतराजले भ्रमण वर्षका लागि बाँके राष्ट्रिय निकुञ्ज प्रमुख गन्तव्यमा पर्ने बताउँदै त्यसका लागि सरोकारवाला निकायलाई निकुञ्ज चिनाउने अभियानमा लाग्नुपर्ने बताए। “जिल्लाकै आर्थिक प्रगतिमा महत्वपूर्ण भूमिका खेल्न सक्ने सम्पत्ति निकुञ्ज हामीसँग छ । यसलाई कसरी उपयोग गर्न सकिन्छ भन्नेतर्फ लागौँ”, उनले भने, “हामीले हाम्रो ठाउँबाट जे–जति गर्न सकिन्छ लागेका छौँ, सरोकारवाला निकायका अगुवालाई पनि लाग्न प्रेरित गर्छु।”

भ्रमण वर्ष २०२० प्रदेश समितिका सदस्य कृष्ण चौधरीले बाँके निकुञ्जलाई उत्कृष्ट गन्तव्य बनाउन प्रचारप्रसारको अभाव भएको बताए।

भ्रमण वर्षमा धेरैभन्दा धेरै पर्यटकलाई निकुञ्जमा ल्याउने गरी काम गर्नुपर्ने उनको भनाई थियो।

नेपाल सरकारले बाघ संरक्षणका लागि अन्तरराष्ट्रिय समुदायसँग गरेको प्रतिबद्धताअनुरूप बाघको बासस्थान र जैविकमार्ग संरक्षण गर्ने उद्देश्यले विसं २०६७ असार २८ गते निकुञ्ज स्थापना भएको हो ।

बाँके राष्ट्रिय निकुञ्ज नजिक घरवास छन् । यहाँ स्थानीय परिकार खान पाइन्छ। सफारीको व्यवस्थापन घरवास सञ्चालकले नै गरिदिने गाभर भ्याली सामुदायिक घरवासका अध्यक्ष कृष्ण चौधरीले बताए।

जङ्गल सफारीमा बाघ, चौका, बँदेलजस्ता वन्यजन्तु देख्न सकिन्छ । बाँके, दाङ र सल्यान जिल्लाको ५५० वर्ग किमी क्षेत्र समेटी नेपालको दशौँ राष्ट्रिय निकुञ्जको रूपमा बाँके राष्ट्रिय निकुञ्जको स्थापना भएको हो।

बाँके निकुञ्जको पूर्वी सिमाना शिवखोला, पश्चिम कोहलपुर सुर्खेत राजमार्ग, उत्तर चुरेपर्वत र दक्षिण पूर्वपश्चिम राजमार्ग रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad