रुपन्देहीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (युसीएमएस)का विद्यार्थीको मागप्रति यहाँको नागरिक समाजले ऐक्यबद्धता जनाउँदै माग तुरुन्त सम्बोधन गर्न कलेज प्रशासनलाई आग्रह गरेको छ। कलेजको मूल गेटमा रिले अनशन बसेका विद्यार्थीलाई बुधबार बिहान भेट गरी नागरिक अगुवाहरुको संस्था भैरहवा मर्निङवाक गु्रप (बीएमजी) ले ऐक्यबद्धता जनाउँदै माग यथाशक्य सम्बोधन गर्न आग्रह गरेको हो।
‘विद्यार्थीबाट अवैध रुपमा लिएको शुल्क कलेजले तुरुन्त फिर्ता गर्नुपर्छ। सरकारको निर्देश्न मान्नुपर्छ’, सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्वअध्यक्षसमेत रहेका भैरहवा मर्निङवाक गु्रप (बीएमजी)का अध्यक्ष ओमकार गौचनले भने। आफूहरु विद्यार्थीका माग जायज भएकै कारण आन्दोलनमा ऐक्यबद्धता जनाउन आएको उनले बताए। एमबीबीएस र बीडीएस अध्ययनरत विद्यार्थीहरु कलेज प्रशासनले आफूहरुबाट मनपरी शुल्क लिएको भन्दै २० दिनदेखि आन्दोलनमा छन्। विद्यार्थी सामूहिक रिले अनसन थालेको पनि आज पाँचौ दिन भइसकेको छ।
यसअघि विद्यार्थीले नागरिक समाजलाई अनुरोध गर्दै आफूहरुका माग सम्बोधनको पहल कदमी गर्न अपिल गरेका थिए । ‘सरकारले विद्यार्थीबाट लिएको अतिरिक्त शैक्षिक शुल्क फिर्ता गर्न निर्देश्नसमेत दिइसकेको छ। तर, कलेज प्रशासनले बेवास्ता गरेको छ । यस्तो अवस्थामा विद्यार्थीको मागलाई समर्थन गरी पूरा गराउन पहल गर्नु हाम्रो पनि दायित्व हो’, गौचनले भने, ‘यदि कलेज प्रशासनले बेवास्ता गरिरह्यो भने हामी विद्यार्थीसँग मिलेर थप आन्दोलन चर्काउँछौं ।’ नागरिक समाजको समर्थनले विद्यार्थी आन्दोलन थप चर्किने अनुमान गरिएको छ। विद्यार्थीले नागरिक समाजलाई पत्र लेख्दै भनेका छन्, ‘लामो समयदेखि कलेज प्रशासनले हामीलाई दमन गर्दै आएको छ। देशैभर आन्दोलन चर्किएपछि दमनका कार्यक्रम केही रोकिएका छन्। तर, हामीबाट उठाइएको करोडौं रुपैयाँ अतिरिक्त शुल्क फिर्ता गरिएको छैन । यसका लागि पहलको अपिल गर्दछौं।’
यस्तै, विद्यार्थीले नागरिक समाजलाई गरेको अपीलमा कलेजले ६ लाखदेखि २५ लाखसम्म अतिरिक्त शुल्क उठाएको, आफूहरुमाथि निरन्तर दमन गरेको, कलेजले तोकेको शुल्क नबुझाए भर्ना नलिने, परीक्षा फारम भर्न नदिने, परीक्षामा समावेश नगराउने र विरोध गरे परीक्षामा फेल गराउनेसम्मका धम्कीका कारण आफूहरु डरले कलेजले तोकेअनुसारै शुल्क तिर्न बाध्य भएको उल्लेख छ । यस्तै, विद्यार्थीले अब जिल्ला प्रशानमा उजुरी दिने तयारीसमेत गरेको जनाएका छन्। ‘हाम्रो मागलाई यसैगरी बेवास्ता गरिँदै गयो भने हामी बाध्य भएर थप संघर्षका कार्यक्रम गर्छौ’, अपीलमा भनिएको छ।
बीएमजीका पूर्वअध्यक्ष विजय सागरले अवैधानिक रुपमा लिएको शुल्क फिर्ता गरी विद्यार्थीका माग सम्बोधन गर्न कलेज प्रशासनलाई आग्रह गरे। ‘युसीएमएस यस क्षेत्रको गहना हो। यसको उत्तरोन्नती र विकास हामी पनि चाहन्छौं। तर, शैक्षिक शुल्कको नाममा सरकारले तोकेभन्दा बढी शुल्क लिएर मनोमानी ढंगले विद्यार्थीको ढाड सेक्न पाइँदैन । यसको हामी सधैं विरोध गरिहन्छौं। अरितरिक्त शुल्क तुरुन्छ फिर्ता हुनुपर्छ’, उनले भने ।
सरकारले विद्यार्थीबाट अवैधानिकरुपमा असुल गरेको शुल्क छानविन गर्न कलेजमा छापा मार्ने डरले युसीएमएस प्रशासनले मंगलबारमात्रै विद्यार्थी भर्नासम्बन्धी महत्वपूर्ण कागजपत्र नै ‘गायव’ पारेको थियो। यसअघि बीडीएस र एमबीबीएस अध्ययनरत विद्यार्थीहरुले कलेज प्रशासन, लेखा, प्राध्यापक तथा सहायक प्राध्यापक कक्षलगायतमा तालाबन्दी गरेका थिए । तर तालाबन्दी गरिएको प्रशासन शाखाको झ्यालको लक नै फुटाएर प्रशासनले कागजात लुकाएको हो।
युसीएमएसका प्रबन्धक कमलप्रसाद ढकालले सरकारीस्तरबाट समस्या समाधानको पहल भइरहेको भन्दै विद्यार्थीलाई आन्दोलन स्थगन गर्न अनुरोध गरे पनि बेवास्ता गरेको जनाए । सरकारले बीडीएसका लागि १९ लाख ३२ हजार र एमबीबीएसका लागि ४२ लाख ५० हजार शुल्क तोकेको छ । तर युसीएमएसले सरकारले तोकेभन्दा लाखौं रुपैयाँ बढी शुल्क लिइरहेको जनाइएको छ ।

प्रतिक्रिया