गर्भवती प्रेमिकाको हत्या अभियोगमा जन्मकैद सजाय भुक्तान गरिरहेका कैदी फरार प्रकरणमा घोराही कारागारका जेलर पक्राउ परेका छन्।
जन्मकैद भोगिरहेका यामराज परियार प्रहरीकै मोटरसाइकलमा फरार भएपछि जेलर युवराज परियार पक्राउ परेका हुन्।
कैदी भागेलगत्तै पदमुक्त भएका उनलाई प्रहरीले आइतबार साँझ पक्राउ गरेको हो। परियारलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको छ।
यही पुस ६ गतेदेखि १३ गतेसम्म बिदा बसेका जेलर ८ गते कार्यालय आएर परियारलाई अस्पताल जान अनुमति दिएको खुलेको छ।
यसमै उनको मिलेमतो ठहर गर्दै प्रमुख जिल्ला अधिकारीको अनुमति लिएर परियारला उनलाई पक्राउ गरिएको हो।
दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले पनि जेलर पक्राउको पुष्टि गरेका छन्। तर उनले अनुसन्धान भइरहेकाले यसबारे अहिले नबोल्ने बताए।
कारागारबाट फरार भएका कैदी परियार प्रहरीकै मोटरसाइकलमा फरार भएका थिए।
प्रहरीका अनुसार परियारले भाग्न प्रयोग गरेको लु ३४ प ४१० नम्बरको मोटरसाइकल मुसोटको जंगलमा फेला परेको थियो।
उक्त मोटरसाइकल कारागारमा कार्यरत प्रहरी जवान धनबहादुर चौधरीको थियो। चौधरीले उपचारमा अस्पताल लगेपछि आफ्नै मोटरसाइकल दिएर कैदी परियारलाई भगाएको प्रहरीले जनाएको थियो।
प्रहरी जवान चौधरी प्रहरी अहिले हिरासतमा छन्। फरार परियारको खोजी भइरहे पनि अहिलेसम्म फेला पर्न सकेका छैनन्।
Shares

प्रतिक्रिया