ad ad

समाज


बेपत्ता श्रीमान खोज्दा धर्मादेवीले जब ‘टाउको छिनालेको’ अडिओ सुनिन्...

बेपत्ता श्रीमान खोज्दा धर्मादेवीले जब ‘टाउको छिनालेको’ अडिओ सुनिन्...

फोटोः मृतक अर्जुन दासकी श्रीमती धर्मादेवी, (टाउकोमा रुमाल बेरेकी।)


गोकुल जोशी
पुस ५, २०७८ सोमबार १७:३, महेन्द्रनगर

कैलालीको जानकी गाउँपालिका–९ अमरावतीका २५ वर्षीय अर्जुन दासको बीभत्स हत्याले पुरै गाउँ शोकमग्न छ। परिवारको सहारा अर्जुनलाई गुमाउँदा उनका आमाबुवा र श्रीमती सम्हालिन सकेका छैनन्।

दास परिवारको खुसी लुटिएको छ। बुढेसकालमा आमाबुवाले कलिलै छोरो गुमाउँदा विक्षिप्त छन्। बिहे गरेको सात वर्षमै धर्मादेवीको सिँउदो पुछिएको छ। र, तीन वर्षीया छोरी टुहुरी बनेकी छन्।

पुत्रशोकमा रहेको दास परिवारलाई छिमेकी र इष्टमित्रले सान्त्वना दिने प्रयास गरिरहेका छन्। 

शनिबार बेलुका अर्जुन दासको निर्मम तरिकाले घाँटी छिनालेर हत्या गरिएको अवस्थामा स्थानीय अमरावती सामुदायिक वनमा शव भेटिएको थियो। 

मृतक अर्जुन साथीकोमा जाने भन्दै शुक्रबार बेलुका घरबाट हिँडे। रात छिपिँदै गयो। तर, पनि उनी घर आएनन्। 

कहिलेकाहिँ रातिको समयमा पनि उनी घर आउने गरेका थिए। राति घर आउँछन् कि भनेर श्रीमती धर्मादेवी अर्जुनको पर्खाइमा थिइन्। रात छिपिँदै गएकाले तीन वर्षीया छोरी भने सुतिसकेकी थिइन्।
श्रीमान् राति अबेरसम्म पनि घर नआएपछि साथीकोमा बसेका होलान् भन्ने अड्कल काटिन् र उनी पनि सुतिन्। राति ३ बजेतिर अर्जुनका दुई साथी घरमा आए। 

उनीहरुले अटेजी (बाकस)मा अर्जुनले मोबाइल राखेको र त्यो लिन आएको धर्मादेवीलाई सुनाए। अमरावतीकै ती युवक र धर्मादेवीले घरभित्र खानतलासी गरे। तर, केही समान नभेटाएपछि युवक अर्जुनको घरबाट निस्के।

उनीहरुले अर्जुन साथीहरुसँग नै रहेको पनि बताएका थिए। पछि फेरि श्रीमान् घर आउँछन् कि भनेर धर्मादेवी उनको पर्खाइमा बसिन्। तर शनिबार रातभर अर्जुन घर आएनन्।

धर्माको शनिबार बिहानसम्म पनि श्रीमानसँग न फोन सम्पर्क भएको थियो, न त अर्जुन घर नै आएका थिए। श्रीमान् सम्पर्कविहीन भए भन्ने चिन्ताले उनलाई पिरोल्न थालेको थियो।

धर्माले अर्जुनलाई आफन्त, साथीभाइ, छरछिमेकमा खोजी गरिन्। तर उनको बारेमा केही अत्तोपत्तो चलेन। शनिबार दिउँसोतिर उनी श्रीमान्को खोजी गर्न स्थानीय कमल साउँदको घरमा गइन्।

स्थानीयका अनुसार मृतक अर्जुन कमलको घरमा ‘बल्ब बनाउने’ काम गर्थे। कमलको घरबाट केही दिन अगाडि मोबाइल चोरी भएको थियो। यसै बिषयमा शुक्रबार कमल र अर्जुनको विवाद पनि भएको खुलेको  छ। 

धर्मा र केही महिला अर्जुनको खोजी गर्न कमलको घरमा पुगेका थिए। तर, कमलले पनि अर्जुनको बारेमा आफू अनभिज्ञ भएको उनीहरुलाई सुनाए।

त्यसपछि धर्माको मनमा चिसो पस्न थाल्यो। कमलले यताउता साथीहरुलाई फोन गर्न थाले। यसक्रममा कमलको मोबाइलमा एउटा ‘कल रेकर्डको अडियो’ आयो। जसमा एक जना युवकले टाउको र शरीर अलग हुने गरी हत्या गरेपछि आफूहरु भागेर भारत गइरहेको बताएका थिए। 

‘एक दुई दिनमा खबर पाइहाल्नुहुन्छ, घाँटी अलग छ, शरीर अलग छ,’ अडिओमा एक युवकले भनेका छन्, ‘हामीले गरेर आको, हामी बोर्डर पारि छौं, बैंग्लोर जान रूपैडिया छौँ।’ 

बेपत्ता श्रीमान्को खोजीमा रहेकी धर्र्मा यो अडिओ सुनेपछि झस्किइन्। कतै आफ्नै श्रीमान् त होइनन् भनेर उनी अत्तालिइन्। त्यसपछि गहभरी आँशु पार्दै धर्मा स्थानीय अमरावती प्रहरी चौकी पुगिन्। 

‘चौकीमा श्रीमानको खोजीका लागि निवेदन लेखेकी थिएँ। हामी पनि खोज्छौँ, तपाईहरु पनि खोज्दै गर्नुहोस् भन्नु भयो,’ मृतक अर्जुनकी श्रीमती धर्माले भनिन्, ‘एकैछिन पछि त जंगलमा शव भेटिएको खबर सुनेँ।’

स्थानीय अमरावती प्रहरी चौकीमा श्रीमान्को खोजीका लागि निवेदन दिइन्। र, प्रहरीलाई अडिओ पनि सुनाइन्। त्यसको केही समय पछि शनिबार बेलुकातिर प्रहरीलाई अमरावती सामुदायिक वनका चौकीदारले वनमा शव मिलेको भनेर खबर गरे। 

त्यस लगत्तै प्रहरी घटनास्थल पुग्यो। वनमा भेटिएको शव धर्माले प्रहरीलाई सुनाएको अडिओमा भने जस्तै प्रकृतिको थियो। 

‘टाउको छिनालेर शरीर र टाउको अलग गरेको दर्दनाक घटनाको’ अडिओ लिएर सम्पर्कविहीन श्रीमानको खोजी गरिरहेकी धर्मालाई जुन कुराको डर थियो, त्यही भयो। 

दुर्भाग्य, जंगलमा भेटिएको शव अरु कसैको नभएर उनकै श्रीमान् अर्जुन दासको थियो। उनले श्रीमान्को बीभत्स शव हेर्नै सकिनन्। 

प्रहरीका अनुसार मृतक अर्जुनको शरीरबाट टाउको छिनालिएको थियो। टाउको विनाको नग्न शव रुखमा बाँधिएको थियो। माथिल्लो शरीरको कपडा खोलेर त्यही कपडाले शरीर रुखमा बाँधिएको अवस्थामा शव भेटिएको थियो।

घटनाको प्रहरीले विभिन्न कोणहरुबाट अनुसन्धान गरिरहेको छ। मृतकको पहिचानका व्यक्ति नै घटनामा संलग्न हुनसक्ने आशंकामा विभिन्न कोणहरुबाट अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी वेद जोशीले बताए।

‘चिनजानकै मानिसबाट घटना भएको देखिन्छ। अपराधमा ३/४ जना भन्दा बढीको संलग्नताको आशंका छ,’ डीएसपी जोशीले नेपालखबरसँग भने, ‘विभिन्न माध्यमबाट प्राप्त सूचनाहरुको विश्लेषण गरेर सुक्ष्म अनुसन्धान भइरहेको छ। छिट्टै निष्कर्षमा पुग्छौँ।’

उनका अनुसार अर्जुनको हत्या घटनामा संलग्नताको आशंकामा आइतबार बेलुका लम्की टीकापुर क्षेत्रबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .