डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–२ रसीका जुनराज रोकायले खानेपानीको समस्या भएको गुनासो सुनाउन लागेको १५ वर्ष बित्यो।
स्थानीय सिमखोलाको पानी खाँदै आएका रोकाय अहिले त्यहाँ पानी सुक्न थालेपछि चिन्तित भएका छन्। स्थानीय सरकारदेखि सबै नेतासँग पानीको गुहार माग्दासम्म पनि सुनुवाइ नभएपछि रोकायलाई सबैदेखि दिक्क लाग्न थालेको छ।
सुक्खाडाँडामा रहेको तीन गाउँका करीब ११५ घरधुरी दैनिक खानेपानीको समस्यामा छन्। बढ्दो वन विनास र भिरालो जमीन भएको रसीगाउँमा स्थानीय सिमखोलीबाट आधा घण्टा हिँडेर पानी ल्याएर पिउनुपर्ने बाध्यता छ।
अहिले सोही खोलाको पानीसमेत सुक्दा तीन गाउँका स्थानीयवासी पानीको चरम समस्यामा परेका अर्का स्थानीय दत्ते रोकायले बताए।
सबै गाउँको संयुक्त एक खानेपानीको धारा छ। दिनभरि सोही धारामा मानिसको लाइनले गर्दा पालो कुर्दाकुर्दै घण्टौँ समय लाग्ने गरेको रोकायाले बताए।
भौगोलिक रुपमा निकै दुर्गम मानिएको यहाँ पानीकै कारण स्थानीयवासी चिन्तित छन् । नगरपालिकाले बस्तीस्तरको योजना छान्दा आफ्नो गाउँको खानेपानी वर्षौंदेखि छुटाउँदै आएको स्थानीयवासीको आरोप छ।
खानेपानीकै अभावका कारण गाउँलेहरुले बसाइँ नै सार्ने अवस्था आएको स्थानीयवासी पवित्रा रोकायले बताइन्।
कसैले पानीको समस्याबारे कुरा उठाउँदा पनि नसुनेको भन्दै उनले आक्रोस पोखिन्। नगरपालिकाको बजेटबाट सो ठाउँमा खानेपानी ल्याउन नसकिने अवस्था रहेको स्थानीयले बताएका छन्।

प्रतिक्रिया