समाज


नेपाल संवत् ११४० लाई स्वागत

नेपाल संवत् ११४० लाई स्वागत

नेपालखबर
कात्तिक १२, २०७६ मंगलबार ९:८,

नव वर्ष नेपाल संवत् ११४० आजदेखि शुरु भएको छ।

नेपाल संवतलाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन्। राष्ट्रिय विभूति शङ्खधर साख्वाःले विसं ९३७ ९इ सं ८८०० मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवत्को शुरुआत गराएका थिए।

नेपाल संवतले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवतको मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा. त्रिरत्न मानन्धरले बताए।

‘लिच्छविकालका राजा राघवदेवको शासनकालबाट शुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवतका रुपमा चलेको थियो, लिच्छविकाल अघि शक संवत् प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक संवत् हो’, मानन्धरले भने।

newari11
Newari5

विसं २००७ मा प्रजातन्त्रको स्थापना भएदेखि नै नेपाल संवतलाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको थियो। नेपाल संवतलाई नयाँ वर्षका रुपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेषरुपमा मनाउने गरिन्छ।

गरीब जनताको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवतसमेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वाःलाई राष्टिय विभूति घोषणा गरेका थिए।

विसं २०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवतले राष्ट्रिय मान्यता पाउने घोषणा गरेका थिए। कात्तिक कृष्ण औँसीका दिन बही खाता बन्द गरी नयाँ वर्ष अर्थात् कात्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको शुरुआत गर्ने परम्परासमेत काठमाडौँमा अझै छ।

Newari7
म्याग्दीको बेनीमा मंगलबार नेपाल संवत ११४० को अवसरमा नेपाल भाषा मंकाः खलले आयोजना गरेको झाँकीसहितको कार्यक्रममा सहभागी। (तस्बिरः सन्तोष गौतम)
Newari6

नेपाल संवत् ११४० का अवसरमा काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा नेवार समुदायका गुठी, खलः, पुचः तथा सांस्कृतिक तथा साहित्यिक सङ्घसंस्थाले बिहानै र्याली निकालेर नेपाल संवतको भव्य स्वागत गरेका छन्। विभिन्न वेशभूषा, झाँकी र सांस्कृतिक पहिचान झल्कने गरी विभिन्न टोल टोलबाट निकालिएको र्याली नगरपरिक्रमापछि वसन्तपुरमा आएर मुख्य समारोहमा समाहित भएको थियो।

नेपाल संवत् ११४० न्हूदँ राष्ट्रिय समारोह समितिले आज वसन्तपुरमा आयोजना गरेको समारोहमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले गुठीका नाममा भइरहेको अतिक्रमण रोकेर मुलुकमा धर्म, संस्कृति र परम्परालाई संरक्षण गर्न सरकारले विशेष महत्व दिएको बताए।

उनले ‘कम्युनिष्टको सरकारले धर्म संस्कृति मास्नका लागि गुठी विधेयक ल्याएको’ भनेर केही समूहले प्रचार गरेको भए पनि किसानलाई जमिनको मालिक हुनबाट बाधा गर्ने तथा उनीहरुलाई हलिया बनाइराख्ने परम्पराको अन्त्य गर्न गुठीलाई परिस्कृत गर्न उक्त विधेयक ल्याइएको बताए।

नेपाल संवत् मुलुकको पहिचानसँग जोडिएको हुँदा यसको इतिहास र गौरवलाई कायम राख्नुपर्नेमा जोड दिँदै पोखरेलले उक्त संवत् वैज्ञानिक र व्यवहारिक रहेको उल्लेख गरे।

उपप्रधानमन्त्री पोखरेलले उक्त संवतका प्रवर्तक शङ्खधर साख्खाःको सङ्घीय राजधानीको केन्द्र भागमा शालिक बनाउन आयोजक समितिलाई सुझाव दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले पठाउनुभएको शुभकामना सन्देश कार्यक्रममा पढेर सुनाए।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नेपाल संवत् राष्ट्रिय संवत् भएकाले अब यसलाई कार्यान्वयन गर्दै लैजानुपर्ने बताए। समितिका अध्यक्ष रमेश महर्जनले नेपाल संवतले सामाजिक सांस्कृतिक एकता कायम गराउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।

यसवर्ष तिथि–मिति घटबढ भएका कारण यही कात्तिक १३ गते नेवार समुदायलाई भाइटीका मनाउन सरकारले सार्वजनिक बिदा दिएको छ।

newari22
राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानद्वारा मंगलबार नेपाल सवत् ११४० को दिन नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाःको मध्यपुर थिमि शंखधर चोकमा रहेको प्रतिमामा माल्यार्पण गर्दै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल।
newari4
राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानले मंगलबार नेपाल संवत् ११४० को दिन नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाःको मध्यपुर थिमि शंखधर चोकमा रहेको प्रतिमामा माल्र्यापण गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad