राष्ट्रपति विद्यादेवी भण्डारीले आज बिहान ११ बजेर ५५ मिनेटको शुभसाइतमै आफ्ना दुई भाइलाई टीका लगाइदिइन। प्रधानमन्त्री केपी शर्मा ओलीले भने निर्धारित साइतभन्दा करिब १ घण्टा ४३ मिनेट ढिलो मात्र चार बहिनीहरूबाट सरकारी निवास बालुवाटारमा भाइटीका लगाए।
राष्ट्रपति विद्यादेवी भण्डारीले भाइटीकाका अवसरमा आज बिहान ११ बजेर ५५ मिनेटको शुभसाइतमा आफ्ना जेठा भाइ तेजेन्द्र पाण्डे र कान्छा भाइ डेगेन्द्र पाण्डेलाई सप्तरङ्गी टीका लगाइदिइन।

चपलीहाइटस्थित निवासमा भएको भाइटीकाको कार्यक्रममा राष्ट्रपति भण्डारीले भाइद्वय पाण्डेलाई टीका लगाइदिएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले बताए।
राष्ट्रपति भण्डारीले टीका लगाएर भाइलाई आशीर्वाद दिँदै दुबो, मखमलीयुक्त माला लगाइ कटुुस, ओखर र मिठाइ खुवाएर भ्रातृवात्सल्य प्रस्तुत गरिन्। दुबै भाइले यथाशक्य दक्षिणा प्रदान गरेर दिदीसँग आशीर्वाद लिए।
त्यसअघि राष्ट्रपतिले शास्त्रोक्त विधिपूर्वक दीप, कलश, गणेशका साथै अष्टचिरञ्जीवी र यमयमुनाको पूजा अर्चना गरेकी थिइन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नी बहिनीद्वय विष्णुमाया ढकाल र कौशिलादेवी कोइरालाबाट प्रधानमन्त्री निवास बालुवाटारमा भाइटीका लगाएका छन्।
प्रधानमन्त्री ओलीले भाइटीकाको शुभसाइत ११ बजेर ५५ मिनेटमा भएपनि करिब १ घण्टा ४३ मिनेट ढिलो १ बजेर ३८ मिनेटमा पत्नी राधिका शाक्यसहित आफ्ना बहिनीहरुबाट भाइटीका लगाएका हुन्।

टीका लगाइदिएपछि बहिनीहरूले प्रधानमन्त्री ओलीलाई मखमलीको माला लगाई कटुुस, ओखर र मिठाई खुवाएर वात्सल्य प्रस्तुत गरे।
प्रधानमन्त्री ओलीले बहिनीहरुले दिएका भाइमसाला ग्रहण गर्दै बहिनीहरूलाई टीका लगाइदिएर दक्षिणा तथा स्नेहोपहार प्रदान गरे।

प्रतिक्रिया