समाज


बग्दादीः जसको सूचनाको मूल्य अमेरिकाले साढे २ करोड डलर तोकेको थियो

बग्दादीः जसको सूचनाको मूल्य अमेरिकाले साढे २ करोड डलर तोकेको थियो

नेपालखबर
कात्तिक १०, २०७६ आइतबार १५:८,

छुट्टै इस्लामिक राज्य स्थापनाको लागि सशस्त्र युद्ध गर्दै आएका इस्लामिक स्टेट विद्रोहीका प्रमुख मानिने अबु बकर अल बग्दादी अमेरिकी सेनाको गोप्य कारबाहीमा शनिबार राति मारिएका छन्। उनी विश्वकै ‘मोस्ट वान्टेड’ थिए।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार साँझ यसको पुष्टि गरेका हुन्। उनले उक्त रेडमा अमेरिकी सेनातर्फ कुनै क्षती नभएको ह्वाइटहाउसमा गरेको पत्रकार सम्मेलनमा जानकारी दिए। उक्त गोप्य रेडबारे थोरै सांसदलाई मात्र जानकारी दिइएको बताए।

सिरियाको इडलिब सहरमा अमेरिकी सेनाले गरेको गोप्य आक्रमणमा उनी मारिएको अमेरिकी मिडियाहरुले जनाएका छन्। राष्ट्रपति ट्रम्पका अनुसार बग्दादी इडलिबको एउटा सुरुङमा मारिएका हुन्।

उनले आफैँले पहिरिएको विस्फोटक पदार्थयुक्त भेष्ट विस्फोट गराएको ट्रम्पले जानकारी दिए। उनीसँगै बग्दादीका तीन सन्तानको पनि मृत्यु भएको बताइएको छ। अमेरिकी सेनाको अपरेसनका क्रममा बग्दादीका अर्का एक सहयोगी पनि मारिएको र केहीलाई नियन्त्रणमा लिइएको थियो।

को हुन् बग्दादी? 
विश्वकै नक्सा परिवर्तन हुने गरी सिरिया, इराकमा अभूतपूर्व पकड जमाउँदै इस्लामिक स्टेटले केही वर्षयता हिंस्रक् र सशस्त्र संघर्ष गर्दै आएको थियो। त्यसको नेतृत्वकर्ता हुन् अबु बकर अल बग्दादी। उनलाई अमेरिकाले सन् २०११ को अक्टोवरमा आतंकवादी घोषणा गरेको थियो। उनीबारे सूचना दिनेलाई अमेरिकाले १० मिलियन अर्थात् १ करोड अमेरिकी डलर पुरस्कारको समेत घोषणा गरेको थियो। पछि सन् २०१७ मा उक्त पुरस्कार राशि बढाउँदै अमेरिकाले २५ मिलियन अर्थात् २ करोड ५० लाख अमेरिकी डलर पुर्यायो।

बीबीसीका अनुसार बग्दादी युद्धकौशल भएका र संगठित रुपमा लड्न सक्ने व्यक्तिभित्र पर्दथे। उनी इराकी राजधानी बग्दादको उत्तरतर्फ सामारा भन्ने ठाउँमा सन् १९७१ मा जन्मिएका थिए। उनको वास्तविक नाम इब्राहिम अवाद अल बद्री हो। उनी सन् २००३ मा अमेरिकाले इराकमा कारबाही थाल्दा सहरको एउटा मस्जिदमा धार्मिक नेता (क्लेरिक) थिए।

अझ कतिपयले उनलाई इराकी नेता सद्दान हुसेनको शासनताकाका युद्धनायक (जिहादिष्ट) थिए भनी विश्वास गर्ने गरेका छन्। कतिपय मानिसचाहिँ दक्षिणी इराकको अमेरिकी क्याम्पमा समातिएका र सो क्रममा धेरै अल कायदा कमान्डर पनि सँगै रहेको विश्वास गर्छन्। तर उनी सन् २०१० मा मात्रै अलकायदाको नेताका रुपमा देखापरेका थिए। सोही समूह पछि आईएसमा संगठित भएको र सिरियाको अल नुस्रा फ्रन्टसँग गाभिन खोजेको थियो।

यो वर्ष मात्रै आईएसले बग्दादी भन्दै एउटा भिडियो सार्वजनिक गरेको थियो। उनी सन् २०१४ यता कहीँ कतै देखापरेका थिएनन्। उनी सिरिया र इराकका भूभाग मिसाएर इस्लामिक स्टेट बनाउन चाहन्थे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .