भारतको विहारमा बेचिएका सातजना नेपाली महिलाको उद्धार भएको छ। पर्सा प्रहरीले भारतीय पक्षसँग समन्व्य गरी उनीहरुको उद्दार गरेको हो।
उनीहरुलाई उद्धार गर्ने क्रममा प्रहरीले दुईजना भारतीयलाई पनि पक्राउ गरेको छ। उनीहरुले ती महिलालाई बेचेको आरोप प्रहरीले लगाएको छ।
पक्राउ पर्नेहरूमा भारतको बिहार राज्यका २५ वर्षीय विकास भन्ने विकेश कुमार र धनुषा लगराइन घर भएका २४ वर्षीया ममता कुमारी भनिने अजिमा खातुन रहेका जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
विभिन्न जिल्लाबाट ७ जना महिलाहरुलाई भारतको विहार राज्यमा पुर्याई बेचबिखन भइरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरीले भारतीय काउन्टरपार्ट्ससँग समन्वय गरी आफन्त नेपाल संस्थासँगको सहकार्यमा ती महिलाहरूको उद्दार गरेको हो।
विकेश र अजिमाले भारतको छौँडादानो भन्ने स्थानमा लगेर उनीहलाई आर्केष्ट्रमा बेचेका थिए। ती महिलालाई उनीहरुले अँध्यारो कोठामा राखी भारतकै विभिन्न स्थानमा पठाई रकम असुल्ने गरेका प्रहरीले जनाएको छ।
बेचिएका महिलाहरुको इच्छाबिपरीत बिना पारिश्रमिक नाचगान गराई शारीरिक तथा मानसिक यातना दिई श्रमशोषण गरेको पाइएको प्रहरीले जनाएको छ।
पक्राउ परेकाहरुलाई जिल्ला अदालत पर्साबाट ५ दिनको म्याद थप गरी कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
Shares

प्रतिक्रिया