समाज


बसपार्कमा यात्रु ताने पाँच सय जरिवाना

बसपार्कमा यात्रु ताने पाँच सय जरिवाना

नेपालखबर
कात्तिक १, २०७६ शुक्रबार ६:१३,

 बसपार्कमा जथाभावी रुपमा यात्रु तानातान गरे जरिवाना तिर्नुपर्ने भएको छ। वीरेन्द्रनगर नगरपालिकाले निर्माण गरेको बसपार्क व्यवस्थापन कार्यविधि २०७६ मा यात्रुमैत्री व्यवहार नगरेमा ५०० जरिवाना तिनुपर्ने व्यवस्था गरिएको छ।

वीरेन्द्रनगरमा रहेको नवनिर्मित बसपार्कलाई व्यवस्थितरुपमा सञ्चालन गर्नको लागि वीरेन्द्रनगर नगरपालिकाले बसपार्क सञ्चालन कार्यविधि निर्माण गरेको हो। नगरपालिकाको स्वामित्वमा रहेको सिटी बसपार्कलाई व्यवस्थापन गर्नुको साथै नगरको बस पार्किङ व्यवस्थापन गर्नको लागि स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ को उपदफा ७ बमोजिम उक्त कार्यविधि निर्माण गरिएको नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले बताए। कार्यविधिअनुसार बसपार्कभित्र सवारीसाधनको साथै टिकट काउण्टरको तथा पसलको व्यवस्थापनको लागि विभिन्न शुल्कको व्यवस्था गरिएको छ।

त्यसैगरी तोकिएको स्थानमा पार्किङ, नगर्नुका साथै बसपार्कभित्र टा«फिक नियमपालना नगरेमा रु एक हजार जरिवाना तिर्नुपर्ने भएको छ। साथै गल्ती दोहोरिएमा दोब्बर जरिवाना बुझाउनुपर्नेछ। कार्यविधिमा बसपार्कमा प्रवेश गर्ने लामो तथा छोटो दूरीमा चल्ने सवारीसाधनको छुट्टाछुट्टै प्रवेश शुल्क निर्धारण गरिएको छ। लामो दूरीमा चल्ने ठूला सवारीसाधनको लागि रु १००, लामो दूरीमा चल्ने साना सवारीसाधन र छोटो दूरीमा चल्ने ठूला सवारीसाधनको रु ५० र छोटो दूरीमा चल्ने साना सवारीसाधन रु ३० प्रवेश शुल्क निर्धारण गरिएको छ। बसपार्कमा रात बिताउनुपर्ने बसको रु २०० र माइक्रो बसको रु १५० शुल्क निर्धारण गरिएको छ।

बसपार्कको सञ्चालन तथा व्यवस्थापनमा सहयोग गर्नुका साथै बसपार्कलाई सही ढंगबाट व्यवस्थापन गरी नगरको सौन्दर्य वृद्धिमा सहयोग गर्ने उद्देश्यले कार्यविधि निर्माण गरिएको हो। बसपार्क व्यवस्थापन तथा अनुगमन गर्नको लागि नगरप्रमुखको अध्यक्षतामा पाँच सदस्यीय समिति गठन गरिएको छ।

कार्यविधिअनुसार बसबाहेकका अन्य सवारीसाधनलाई बसपार्कभित्र प्रवेशमा निषेध गर्नुको साथै नगरपालिकाबाट स्वीकृत रकमभन्दा बढी भाडा लिन नपाइने भएको छ । छ महीना अघि वीरेन्द्रनगर नगरपालिकामा निर्माण सम्पन्न भइसकेको सिटी बसपार्क लामो समयदेखि सञ्चालनमा आएको थिएन । बसपार्क सञ्चालनमा नआउँदा यात्रु र यातायात व्यवसायीले सास्ती भोग्दै आइरहेका थिए। बसपार्क निर्माणको काम सकिए पनि प्राविधिक कारणले हस्तान्तरण गर्न ढिलाइ भएको नगरपालिकाका इञ्जिनियर विशाल अधिकारीले बताए।

पहिलो पटक छ महिना म्याद थप गरेको कम्पनीले दोस्रोपटक एक वर्षको म्याद थपेको थियो। नगर विकास कोषबाट रु छ करोड ५९ लाखमा ऋण लिएर नगरपालिकाले बसपार्क निर्माण गरेको हो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad