समाज


सातवटै प्रदेशमा ट्रमा सेन्टर स्थापनाको तयारी

सातवटै प्रदेशमा ट्रमा सेन्टर स्थापनाको तयारी

नेपालखबर
असोज ३०, २०७६ बिहिबार १२:४८,

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सातवटै प्रदेशमा चोटपटक उपचार केन्द्र (ट्रमा सेन्टर) स्थापना गर्ने भएको छ। सडक दूर्घटना तथा विपद्मा परेकालाई विशेषज्ञसहितको उपचार गर्नट ट्रमा सेन्टर खोल्न लागेको स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्रकुमार यादवले जानकारी दिए।

विश्व ट्रमा दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले सो जानकारी दिँदै स्वास्थ्य क्षेत्रको गुणस्तरीय विकासका लागि बजेट, जनशक्ति तथा पूर्वाधारको अभाव रहेको चर्चा गरे। उनले भने, ‘संविधान प्रदत्त स्वास्थ्यसम्बन्धी मौलिक हक कार्यान्वयन गर्न स्वास्थ्य क्षेत्रमा बजेट वृद्धि गर्नुपर्छ। अर्थ मन्त्रालयको स्वास्थ्यमा बजेट बढाउन ध्यान गएको छैन। सातवटै प्रदेशमा ट्रमा सेन्टर स्थापना गर्ने स्वास्थ्य मन्त्रालयको नीति छ।’

स्वास्थ्य सचिव खगराज बराललले सातवटै प्रदेशमा ट्रमा सेन्टरको आवश्यकता औँल्याउँदै काठमाडौँको ट्रमा सेन्टरको विकासमा मन्त्रालयले ध्यान दिएको छ भने। ट्रमा सेन्टरका निर्देशक डा प्रमोद यादवले अन्य उपचारको तुलनामा ट्रमाको उपचारका लागि लामो समयसम्म गर्नुपर्ने भएकाले दुर्घटना नै हुन नदिन विशेष सचेतनाका कार्यक्रम सञ्चालनको आवश्यकता औँल्याए।

ट्रमा सेन्टरमा थप उपकरण र जनशक्ति अभाव रहेको उनले गुनासो गर्दै तत्काल एमआरआई उपकरणको अति आवश्यकता रहेको छ भने। हाल सेन्टरमा ११ श्ययाको आइसियु दश श्ययामा मात्र सञ्चालनमा छ। आर्थिक वर्ष २०७२/७३ मा चोटपटक लागेर अन्तरङ्ग सेवा (ओपिडी) लिने बिरामीको सङ्ख्या २८ हजार ३२३ रहेकामा गत आर्थिक वर्षमा सो सङ्ख्या ७९ हजार २३९ रहेको थियो।

यसैगरी सेन्टरमा आव २०७२/७३ मा आकस्मिक सेवा लिने बिरामीको सङ्ख्या पाँच हजार ४६६ रहेको थियो। आव २०७५/७६ मा १८ हजार २६३ जनाले सेवा लिएको सेन्टरले जनाएको छ। आव २०७२/७३ भर्ना हुनेको सङ्ख्या तीन हजार ७११ थियो भने अहिले बढेर चार हजार २४ जना पुगेको छ।

सवारीसाधन दुर्घटना मात्र प्रत्येक दिन पाँचदेखि सात तथा वार्षिक करीब दुई हजार जनाको अकालमा मुत्यु हुने सो अवसरमा जानकारी दिइएको थियो। कार्यक्रममा प्रहरी नायब उपरीक्षक पदमबहादुर विष्टले साउन र भदौमा मात्र काठमाडौँ उपत्यकामा सवारीसाधन दुर्घटनामा परी २८ जनाको मृत्यु भएको बताए। दुर्घटनामा मृत्यु हुनेमध्ये महिला २४ प्रतिशत तथा पुरुष ७६ प्रतिशत रहेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad