राजनीति


प्रदेश गौरवका आयोजना एक वर्षभित्रै सम्पन्न गर्ने सुदूरपश्चिम सरकारको घोषणा

प्रदेश गौरवका आयोजना एक वर्षभित्रै सम्पन्न गर्ने सुदूरपश्चिम सरकारको घोषणा

गोकुल जोशी
जेठ १८, २०८३ सोमबार १९:४२, कञ्चनपुर

सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत भएको छ। प्रदेश प्रमुख नजिर मियाँले सोमबार बसेको प्रदेश सभाको बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन्। 

सरकारको नीति तथा कार्यक्रममा प्रदेश गौरवका आयोजनाहरू आगामी आर्थिक वर्षभित्र सम्पन्न गर्ने गरी बजेट विनियोजन गर्ने घोषणा गरिएको छ। त्यसका लागि आवश्यकताका आधारमा बजेट विनियोजन गर्ने प्रतिबद्धता सरकारले जनाएको छ। भौतिक पूर्वाधार विकास, पर्यटन प्रवद्र्धन, स्वास्थ्य र शिक्षा सुधारका कार्यक्रमलाई नीतिमा समेटेको छ। 

अहिलेसम्म सडक सञ्जालसँग नजोडिएका दार्चुलाको साइपाल गाउँपालिका, अपि हिमाल गाउँपालिका र बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकालाई प्रादेशिक तथा स्थानीय सडक सञ्जालसँग जोड्ने लक्ष्य पनि लिइएको छ। 

प्रदेश लोकमार्ग तथा सहायक मार्गको स्तरोन्नतिलाई पनि प्राथमिकता दिइएको छ। अगामी वर्षमा प्रदेशको गरिबी न्यूनीकरणका लागि केही स्थानीय तहमा विशेष कार्यक्रम सञ्चालन गर्ने घोषणा पनि गरिएको छ।

सडक पूर्वाधारलाई उत्पादनसंग जोड्न कृषि उत्पादन क्षेत्रदेखि प्रदेश लोकमार्ग, राजमार्ग वा बजारसम्म जोड्ने सडकलाई ‘कृषि आर्थिक पहुँच मार्ग’का रुपमा बहुउपयोगी हुने गरी प्राथमिकताका साथ निर्माण गर्ने नीति छ। अछामको ढकारी गाउँपालिका, कमलबजार नगरपालिका, दार्चुलाको शैल्यशिखर नगरपालिका, बाजुराको त्रिवेणी नगरपालिका, बैतडीको सिगास र शिवनाथ गाउँपालिकामा गरिबी न्यूनीकरणका कार्यक्रम सञ्चालन गर्ने लक्ष्य लिइएको छ।

‘प्रदेश प्रमुख स्टार्टअप कार्यक्रम’मार्फत सीप ववकास कार्यक्रम सञ्चालन गरी नवयुवामा उद्यमशीलता प्रवद्र्धन गर्दै स्वरोजगार अभिवृद्धि गर्न प्रदेश स्वरोजगार विकास कोषको क्षमता अभिवृद्धि गर्ने नीति लिइएको छ। शिक्षा, स्वास्थ्य र पोषणसँग जोडेर घोषित क्षेत्रमा गरिबी न्यूनीकरण कार्यक्रम लागू गरिने नीति तथा कार्यक्रममा उल्लेख छ। 

प्रदेश सरकारले बढ्दो युवा पलायन रोक्ने उद्देश्यले रोजगारीका अवसर सिर्जना गर्ने नीति पनि लिएको छ। त्यसका लागि उत्पादन, उद्यमशीलता र सीप विकाससँग सम्बन्धित कार्यक्रम सञ्चालन गर्ने घोषणा गरिएको छ।

अपी-सुर्मा-सैपाल-खप्तड-रानीसैन-बडिमालिका-रामारोशन क्षेत्रमा उच्च पहाडी तथा हिमाली पर्यटन प्रवद्र्धन तथा पदमार्ग निर्माण गरि सुरक्षित पर्यटन गन्तव्यका रूपमा विकास गर्ने नीति पनि लिइएको छ। मुख्यमन्त्री स्वास्थ्य क्षेत्र सुधार कार्यक्रम, घोरीघोरा स्वास्थ्य उपचार कार्यक्रम, ग्रामीण अल्ट्रासाउन्ड कार्यक्रम, बादी उत्थान छात्रवृत्ति कार्यक्रम, मुख्यमन्त्री शैक्षिक प्रोत्साहन छात्रवृत्ति कार्यक्रमलाई पनि निरन्तरता दिइएको छ।

प्रदेशका सबै घरपरिवारलाई आधारभूत खानेपानी पु¥याउन ‘आधारभूत खानेपानी’ कार्यक्रम र खानेपानी सबैको पहुँचमा पु¥याउन ‘एक घर, एक धारा’ कार्यक्रम कार्यान्वयनमा ल्याउने उल्लेख छ। पिछडिएका समुदायको उत्थानका लागि ‘दशरथ चन्द सीपमूलक एंवम् क्षमता अभिवृद्धि’ कार्यक्रमलाई निरन्तरता दिनुका साथै उद्योगहरूको प्रवद्र्धन गर्न ‘द्वारिकादेवी ठकुरानी महिला उद्यमशीलता’ कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।

‘पर्यटन पूर्वाधारः समृद्ध प्रदेशको आधार’ भन्ने मूल नाराका साथ प्रदेशभरका धार्मिक, सांस्कृति, ऐतिहासिक, पुरातात्विक र सीमसार तथा ताल तलैया क्षेत्रको संरक्षण, विकास र प्रवद्र्धनका लागि ‘बाकावीर पर्यटन प्रवद्र्धन’ कार्यक्रमलाई पनि अघि सारिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad