ad ad

राजनीति


नागरिक उन्मुक्तिको अड्कोले रोकियो सुदूरपश्चिममा सभामुखको निर्वाचन

माग्यो ३ मन्त्रालय र २ संसदीय समिति
नागरिक उन्मुक्तिको अड्कोले रोकियो सुदूरपश्चिममा सभामुखको निर्वाचन

फाइल तस्बिर


नेपालखबर
पुस २९, २०७९ शुक्रबार १३:१०, कञ्चनपुर

सरकार गठनदेखि नै अड्को थापिरहेको निर्णायक शक्ति नागरिक उन्मुक्ति पार्टी सभामुखको निर्वाचनमा सहभागी नहुने भएपछि प्रदेश सभा बैठक स्थगित भएको छ। 

सभामुख चयनका लागि शुक्रबार बिहान ११ बजे बोलाइएको प्रदेश सभा बैठक अर्को सूचना नआउन्जेलसम्मलाई स्थगित भएको प्रदेश सचिवालयका प्रवक्ता नरेन्द्रबहादुर पालले जानकारी दिए।

त्यसअघि सर्वदलीय बैठकमा नागरिक उन्मुक्ति पार्टीले प्रदेश सभा बैठकमा सहभागी नहुने अडान लिएको थियो।

सत्तासाझेदार दलले मुख्यमन्त्रीसँगै माओवादीका खगराज भट्ट र एमालेकी सन्तोषी कुमारी थापा (शर्मा)लाई मन्त्री शपथ गराएपछि नागरिक उन्मुक्ति असन्तुष्ट छ।

सत्तारुढ गठबन्धनमा छलफल नगरेर एकलौटी तरिकाले मन्त्रीको शपथ गराइएको भन्दै नागरिक उन्मुक्तिले असहमति जनाएको छ। 

यस्तै, नागरिक उन्मुक्तिले सत्तारुढ गठबन्धनमा तीन मन्त्रालय र दुई संसदीय समिति सभापतिमा दाबी गरेको छ।

यसमा लिखित सहमति नभएसम्म सभामुख निर्वाचनमा भाग नलिने उन्मुक्तिको अडान छ। 

बिहीबार नागरिक उन्मुक्तिका एक सांसद प्रदेश सभामा उपस्थित नहुँदा सत्तारुढ गठबन्धनका तर्फबाट माओवादीका भीमबहादुर भण्डारीले सभामुखका लागि बहुमत जुटाउन सकेका थिएनन्। 

हिजोको मत विभाजनमा सत्तारुढ गठबन्धनको एक मत बदर भएको थियो भने एमालेका चक्र मल्ल बैठकमा सहभागी भएका थिएनन्।

सभामुखको मत विभाजनमा भण्डारीको पक्षमा २६ र विपक्षमा २३ मत आएको थियो। ५३ प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा बहुमतका लागि २७ सांसद आवश्यक पर्दछन्।

प्रदेश सभामा कांग्रेसका १९, माओवादीका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७, नेकपा एकीकृत समाजवादीका ४, राप्रपा र स्वतन्त्र सांसद १/१ छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .