राजनीति


वडा सदस्यदेखि संसद्‌सम्म नीताको छलाङ: बिर्तामोडको वडा-बस्तीबाट सिंहदरबारको यात्रा

वडा सदस्यदेखि संसद्‌सम्म नीताको छलाङ: बिर्तामोडको वडा-बस्तीबाट सिंहदरबारको यात्रा

सुमन सुस्केरा
चैत ३, २०८२ मंगलबार १८:४, ​विराटनगर

स्थानीय तहको वडा सदस्यबाट संसदीय राजनीतिमा छलाङ मार्ने थोरै नेतामध्ये झापाकी नीता घतानी एक सफल नाम बनेकी छिन्। 
नेकपा (एमाले) को तर्फबाट प्रतिनिधि सभामा समानुपातिक प्रणालीमार्फत निर्वाचित भएकी ३७ वर्षीय घतानीले विद्यार्थी राजनीतिबाट सुरु गरेको आफ्नो १४ वर्षे यात्रालाई सङ्घीय संसद्को रोष्ट्रमसम्म पुर्‍याउन सफल भएकी हुन्। 

​इलाममा जन्मिएर झापाको बिर्तामोड–२ लाई कर्मथलो बनाएकी घतानीको पारिवारिक पृष्ठभूमि राजनीति र समाजसेवामै भिजेको छ। उनका बुवा नेपाल विद्यूत प्राधिकरणका अवकाशप्राप्त कर्मचारी हुन्।
वि.सं. २०६८ सालदेखि अनेरास्ववियुबाट सक्रिय राजनीति सुरु गरेकी घतानीले बिर्तामोडको मनोकामना कलेजको प्रारम्भिक कमिटी, जिल्ला कमिटी हुँदै अनेरास्ववियुको केन्द्रीय सदस्यसम्म भएर काम गरिन्।
 
​जनप्रतिनिधिको रूपमा उनको यात्रा वि.सं. २०७४ को स्थानीय तह निर्वाचनबाट सुरु भएको हो। उनी बिर्तामोड नगरपालिका–२ बाट दलित महिला सदस्य पदमा निर्वाचित भएकी थिइन्।  त्यसपछि उनले नगर कार्यपालिका सदस्यको रूपमा स्थानीय सरकारको अनुभव  बटुलेको नेपालखबरलाई बताइन्।

​जनप्रतिनिधि भइरहँदा पनि पार्टीको आन्तरिक जीवन रोकिएन। वडा सह–सचिव, नगर सचिवालय सदस्य, जिल्ला कमिटी सदस्य हुँदै उनी २०७९ मा युवा क्लस्टरबाट एमालेको कोसी प्रदेश कमिटी सदस्य  निर्वाचित भइन्। प्रदेश कमिटी सदस्यमा निर्वाचित भएको दुई वर्ष हुँदा नहुँदै उनले नेकपा (एमाले) को केन्द्रीय कमिटी सदस्यमा निर्वाचित हुने अवसर प्राप्त गरिन्।  

३७ वर्षकै उमेरमा स्थानीय तहको तल्लो निकायदेखि सङघीय संसद् र पार्टीको केन्द्रीय तहसम्म  उनको यो छलाङलाई एमालेभित्र उदाहरणीय रूपमा हेरिन्छ। राजनीतिकर्मीसँगै एक सक्रिय समाजसेवीको पहिचान बनाएकी घतानीले कोभिड–१९ को महामारीमा अग्रपङ्क्तिमा रहेर काम गरिन्। उनी आफ्नै वडाकी दृष्टिविहीन वृद्धा  महिलालाई व्यक्तिगत पहलमा घर निर्माण गरिदिएको काम आफ्नो जीवनको सबैभन्दा निस्वार्थ र सन्तोषजनक कामको रूपमा सम्झन्छिन्।

​संसद्‌मा पुगेपछि उनले मुख्य गरी शिक्षा क्षेत्रको विसङ्गति र विभेदविरुद्ध आवाज उठाउने योजना बनाएकी छिन्। सामुदायिक विद्यालयभित्रै प्राविधिक शिक्षाको नाममा हुने विभेद अन्त्य हुनुपर्ने र संविधानले प्रत्याभूत गरेको दलित समुदायका लागि कक्षा १२ सम्मको निःशुल्क शिक्षा पूर्ण रूपमा कार्यान्वयन हुनुपर्ने उनको मुख्य एजेन्डा रहेको छ।

​उनी शिक्षा क्षेत्रमा रहेको विभेद हटाउन चाहन्छिन्। 'एउटै सामुदायिक विद्यालयभित्र प्राविधिक शिक्षाका नाममा बोर्डिङ र सरकारी माध्यम भन्दै विद्यार्थीबिच विभेद भइरहेको छ, यसलाई रोक्नुपर्छ,' उनी भन्छिन्।

सिंहदरबारको यात्रा तय गर्दै गर्दा आफ्नो जरा, वडा र बस्ती भएका कारण यही क्षेत्रका आम नागरिकका समस्यालाई सङ्घीय संसदमा राखेर नीति निर्माणमा भूमिका खेल्ने उनको अठोट छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad