नेकपा–एमालेमा उपाध्यक्ष भीम रावलले पार्टीलाई बुझाएको स्पष्टीकरण पत्रमा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नै कैयौं प्रतिप्रश्न गरेका छन्।
‘नेकपा (एमाले) पुनःस्थापित भएपछि म समेत नेकपा (एमाले) र देश तथा जनताको उज्यालो भविष्य चाहने नेता र कार्यकर्ताहरुबाट तपाई समेतका नेताहरुसंग विगतको तथ्यसंगत समीक्षा गर्दै कमी कमजोरी सच्याउँदै पार्टीलाई एकताबद्ध रुपमा अगाडि बढाउन गरिएको आग्रहलाई किन अस्वीकार गर्नुभयो? त्यस्तै यही चैत्र २ गते नेकपा (एमाले), केन्द्रीय कार्यालय, धुम्बाराहीमा तपाई समेत तपाई निकटका नेताहरुसंग भएको मसमेत सहभागी छलफलमा पार्टी एकता र मेलमिलाप कायम गर्दै विगतका कमी कमजोरी हटाएर सशक्त नेकपा (एमाले) निर्माण गर्न सर्वोच्च अदालतको फैसलालाई स्वीकार गर्दै पार्टी तथा जनसंगठनहरुको संरचना पार्टी एकीकरण पूर्वको स्थितिमा रहेको स्वीकार गरौं र तपाईबाट फागुन २८ गते अवैधानिक रुपमा गरिएको निर्णय वदर गरौं भन्दा तपाईले किन मान्नु भएन? यसको तात्पर्य तपाईमा पार्टी विभाजनको दुराशय रहेको देखियो किन नभन्ने?’ रावलले बुझाएको स्पष्टीकरण पत्रमा भनिएको छ, ‘गत फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाबाट नेकपा (एमाले) पुनर्जिवित भएपछि नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको बैठक विधिवत्बोलाई एकताबद्ध भएर जाने कार्यमा पार्टी अध्यक्षको हैसियतले पहल गर्नु तपाईको कर्तब्य थियो कि थिएन? यसरी विधिवत् बैठक बोलाउनुको साटो तपाईले केन्द्रीय कमिटीका अन्य सदस्यहरुलाई कुनै जानकारी नदिई गोप्यरुपमा गत फागनु २८ गते प्रधानमन्त्रीको सरकारी निवासमा आफ्ना गुटका मानिसहरुको भेला बोलाई त्यसलाई कथित केन्द्रीय कमिटीको संज्ञा दिदै पार्टीको विधान र प्रक्रिया विपरीत नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरुको जिम्मेवारी परिवर्तन गर्ने, नेकपा (एमाले) को सदस्य नरहेका २३ जनालाई केन्द्रीय कमिटीको सदस्य मनोनयन गर्ने, पार्टी विधानमा संशोधन गर्ने जस्ता निर्णय गरिएको भनी सार्वजनिक गरेर पार्टी विधानको ठाडो उल्लंघन गर्दै पार्टी विभाजनको रेखा कोर्ने आपत्तिजनक काम किन गर्नुभयो? यसप्रकार तपाईले गुटगत गतिविधि गरी नेकपा (एमाले) को झण्डा, चुनावचिन्ह र संगठनको दुरुपयोग गरेको कुरा सार्वजनिक सञ्चार माध्यमबाट जानकारी भएकोले त्यस्तो पार्टी विधानविपरीत गरिएको बैठकका अवैध निर्णयहरुको आधारमा नेकपा (एमाले) बारे कुनैपनि सूचना अद्यावधिक नगरियोस् भनी म समेतले निर्वाचन आयोगमा मिति २०७७।१२।१ मा निवेदनसमेत गरेको तपाईलाई जानकारी छ कि छ्रैन? तपाईले उक्त प्रकारका कार्य गरी नेकपा (एमाले) को नवौं राष्ट्रिय महाधिवेशनद्वारा पारित विधानका निम्नलिखित प्रावधानहरुको ठाडो उल्लंघन किन गर्नुभयो?’
पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले पार्टी कार्यालय धुम्बाराहीमा स्पष्टीकरण बुझाएका हुन्।
उनीहरुलाई गत शनिबार अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको स्थायी समिति बैठकले पार्टी हितविपरित काम गरेको भनी स्पष्टीकरण माग गरेको थियो।
‘पार्टी कार्यालयमा रहेका कर्मचारीले नेताहरुको स्पष्टीकरण पत्र प्राप्त भएको बताउनुभएको छ,’ एमालेका कार्यालय सचिव ईश्वरी रिजालले नेपालखबरसँग भने।
अर्का एक नेताले पार्टी कार्यालयमा महासचिवका नाममा पत्रहरु प्राप्त भएको बताए।
शनिबारको केन्द्रीय समितिको निर्णयअनुसार पार्टी महासचिव ईश्वर पोखरेलले सोमबार चारजना नेताहरुको नाममा छुट्टाछुट्टै स्पष्टीकरण पत्र पठाएका थिए।
रावलले पार्टीमा बुझाएको स्पष्टीकरणको पूर्णपाठः
प्रतिक्रिया