ad ad

राजनीति


ओलीको दबाबपछि आफ्नो शक्ति देखाउँदै थापा, वीरु तामाङ नेतृत्वमा छुट्टै र्‍याली

ओलीको दबाबपछि आफ्नो शक्ति देखाउँदै थापा, वीरु तामाङ नेतृत्वमा छुट्टै र्‍याली

नेपालखबर
माघ २१, २०७७ बुधबार १३:९,

नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षका नेता तथा गृहमन्त्री रामबहादुर थापालाई पार्टीका कार्यक्रमहरुमा आफ्नो छुट्टै शक्ति देखाउनुपर्ने दबाब परेको छ।

नेकपाका विभाजित दुवै पक्षबीच शक्ति प्रदर्शन गर्ने तिब्र प्रतिस्पर्धा चलिरहँदा पछिल्लो विभाजनमा ओलीतर्फ लागेका थापालाई पनि सशक्त भूमिका देखाउन दबाब परेको हो।

बुधबार राष्ट्रिय युवा संघले काठमाडौंमा गरेको मोटरसाइकल र्‍यालीमा ओली र थापा पक्षका छुट्टाछुट्टै र्‍याली निकालिएकाे थियाे।

यसले गर्दा थापामाथि बढिभन्दा बढि सहभागी जुटाउनुपर्ने दबाब बढेको नेताहरुले बताएका छन्।

केहि दिनपहिले थापा पक्षले युवा संघमा रहेको आफ्नो वाईसीयल ब्युँताएको छ। तिनै वाईसीयलका संयोजक विरु तामाङको नेतृत्वमा बुधबार गौशालाबाट मोटरसाइल र्‍याली गरिएको थियो।

उता ओलीका तर्फबाट महेश बस्नेतको नेतृत्वमा ललितपुरको बालकुमारीबाट र्‍याली सुरु भएको थियो।

गौशालाबाट सुरु भएकाे र्‍यालीमा ३ हजार सहभागी भएको गृहमन्त्री थापाका प्रेस संयोजक किरण भट्टराईले बताए।

‘वाईसीयलले गौशालाबाट सुरु गरेको र्‍याली बालकुमारी पुगेर मिसियो,’ भट्टराईले नेपालखबरसँग भने, ‘गृहमन्त्रीको पक्षमा थुप्रै युवाहरुको पनि साथ रहेको आजको र्‍यालीले पुष्टि गरेको छ, आज सो र्‍यालीमा ३ हजारको उपस्थिति थियो।’

MotorcycleRally Thapa YCL

ओली पक्षले शुक्रबार काठमाडौंमा बृहत् सभा राखेको छ। सो सभामा व्यापक मानिसको सहभागी गराउन थापा सक्रिय छन्। उनको सचिवालयको टिम र उनीनिकट नेताहरु आफ्नाे उपस्थिति सशक्त पार्न पुरै शक्तिका साथ लागेको एक नेताले बताए।

स्रोतका अनुसार वागमती प्रदेशका १३ जिल्लाबाट मानिसलाई राजधानी ल्याइँदैछ। त्यसमा बढीभन्दा बढी मानिस सहभागी हुनेगरी व्यवस्थापन गर्न थापाले पनि आफू निकटकालाई निर्देशन दिएका छन्।

‘देशैभरबाट सभाका लागि मानिस आउँछन् तर वागमतीका १३ जिल्लामा हाम्रो उपस्थिति राम्रो छ,’ स्रोतले भन्यो, ‘पर्सिको कार्यक्रममा राम्रो संख्यामा प्रदर्शनकारी उतार्नेछौं।’

यसका अलावा थापाको प्रभाव रहेका अन्य जिल्लाबाट पनि सहभागी ल्याउन भनिएको छ।

पुस ५ गते प्रतिनिधि सभा विघटन गर्ने ओली कदमपछि पार्टी राजनीतिक तथा सांगठनिकरुपमा विभाजन भई अहिले दुई पार्टीको अभ्यास सुरु भएको छ।

विभाजनमा प्रचण्ड–नेपाल पक्षमा नलागी प्रधानमन्त्री ओलीतिर खुलेका थापालाई आफ्नो छुट्टै शक्ति देखाउनुपर्ने चुनौति थपिएको हो।

माघ २३ गतेको कार्यक्रममा देशभरबाट लाखौं मानिस काठमाडौं उतार्न ओलीले आफ्ना सबै निकायलाई निर्देशन दिएका छन्।

यो पनि: 
गृहमन्त्री थापाले ब्युँताए वाईसीएल

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .