राजनीति


मधेस : एकीकरणपछिको जसपा नेपालमा विवाद, दलको नेता बुधबार छानिने

मधेस : एकीकरणपछिको जसपा नेपालमा विवाद, दलको नेता बुधबार छानिने

जितेन्द्र सोनाल र सरोजकुमार यादव।


सुभाष कर्ण
जेठ ४, २०८३ सोमबार १५:२२, जनकपुरधाम

जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबीचको एकीकरणपछि मधेसमा दलको नेताका विषयमा विवाद उत्पन्न भएको छ। जसपा नेपाल र लोसपा नेपालका संसदीय दलका दुवै नेताहरूले आफू दलको नेता भएको दाबी गरेपछि विवाद उत्पन्न भएको हो। 

जसपा नेपाल र लोसपा नेपालबीच २०८२ पुस २७ गते एकीकरण भई पार्टीको नाम जसपा नेपालनै राख्ने सहमति भएको थियो। तर दुवै दलका नेताहरूले आफू आधिकारिक दलको नेता भएको भन्दै विवाद गरेपछि गत शुक्रबार मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत लिन पाएनन्।
 
शुक्रबार सदन सञ्चालन हुनुअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा जसपा नेपाल र लोसपा नेपाल दुवै दलको नेताले आफू दलीय नेता भएको दाबी गरेका थिए। 

बैठकमा तत्कालीन जसपा नेपालका संसदीय दलका नेता सरोजकुमार यादव र तत्कालीन लोसपा नेपालका नेता जितेन्द्र सोनलले एकीकरणपछि बनेको जसपा नेपालको संसदीय दलको नेता आफू रहेको र आफ्नो कुर्सीबारे सभामुखलाई प्रश्न गर्दै ताकेता गरेपछि सदननै प्रभावित भएको थियो। 

त्यसपछि जसपा नेपालको दलको नेता विवाद टुंगो नलागेकाले मुख्यमन्त्री यादवको विश्वासको मत लिने मिति यही शुक्रबारसम्मका सारिएको हो।

जसपा नेपालले यही बुधबार मधेस प्रदेशमा संसदीय दलको नेताको निर्वाचन गर्ने भएको छ। तत्कालीन जसपा नेपालका दलका नेता सरोजकुमार यादवले पनि यसको पुष्टि गरेका छन्। 

नेपालखबरसँग कुरा गर्दै उनले भने, ‘जसपा नेपालको वैधानिक दलीय नेता मै हो, तर लोसपाका साथीले पनि दाबी गर्न थालेपछि उत्पन्न विवाद समाधानका लागि बुधबार दुवै दलको सहभागिताका बैठक बस्नेछ। सो बैठकबाट सर्वसम्मति भए ठीकै छ, नभए निर्वाचनबाट दलको नेता चयन गरिनेछ।’

स्रोतका अनुसार पूर्वमुख्यमन्त्रीहरू जसपा नेपालबाट सरोजकुमार यादव, पूर्वमुख्यमन्त्री लालबाबु राउत र लोसपा नेपालबाट जितेन्द्र सोनल संसदीय दलको नेताका लागि भिड्ने भएका छन्।

एकीकरणपछि जसपा नेपाल मधेस प्रदेशमा सबैभन्दा ठूलो दल बनेको छ। तत्कालीन जसपा नेपालका १८ जना र लोसपा नेपालको ८ जना गरी २६ जना सांसद पुगेका छन्। 

दुई जना निलम्बनमा रहेका समेत गरेर जसपा नेपालको संख्या २८ सांसद पुग्छ। दोस्रोमा नेकपा एमाले २४ र तेस्रोमा नेपाली कांग्रेस २२ जना सांसद छन्। 

चौथोमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) १४ र पाँचौँमा जनमत पार्टीका १२ जना सांसद छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad