राजनीतिका पुराना खेलाडी शरदसिंह भण्डारीलाई पराजित गरेर संघीय संसद्को यात्रा तय गरेका महोत्तरीका उर्जावान युवा दिपककुमार साह नेपाल सरकारको श्रममन्त्रीमा नियुक्त भएका छन्।
महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिका–६, गोरीगम्माका स्थायी बासिन्दा साह १० असार २०४७ मा गोरीगम्मामै जन्मिएका हुन्। उनका पिता रामगोपाल साह अवकाश प्राप्त स्वास्थ्यकर्मी हुन्।
मन्त्री साहको प्रारम्भिक शिक्षा गाउँकै राष्ट्रिय प्राथमिक विद्यालयबाट सुरु भएको थियो। मावि तहको पढाई भने उनले जनकपुरधामस्थित मोनाष्टिक हाइयर सेकेण्ड्री स्कूलबाट गरे।
त्यसपछि उनी उच्च शिक्षाका लागि काठमाडौं गए। उनले काठमाडौँबाटै एलएलबी र एमपीएच अध्ययन पूरा गरे। साथै उनले लण्डनबाट हेल्थ पोलिसी प्लानिङ्ग एण्ड फाइनासिंङ सम्बन्धी विशेष अध्ययनसमेत गरेका छन्।
आँखा रोग विशेषज्ञको रूपमा परिचित साह निर्वाचनमा उम्मेदवार बन्नुअघि स्वास्थ्य क्षेत्रमा सक्रिय थिए।
उनले विश्व स्वास्थ्य संगठनसँग सम्बन्धित परियोजनाहरूमा काम गरिसकेका छन् भने स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य विभागमा समेत काम गरेका छन्।
उनले नेपाल दृष्टि विशेषज्ञ संघको केन्द्रीय अध्यक्षको जिम्मेवारीसमेत सम्हालिसकेका छन्।
बाल्यकालदेखि नै अध्ययनमा मेधावी रहेका साह विद्यार्थी जीवनमै नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्षम थिए।
उनी चञ्चल स्वभावका साथै संगठित नेतृत्व क्षमता भएका व्यक्तिका रूपमा चिनिन्छन्। उनको परिवार गाउँमा एक प्रभावशाली जमिन्दार परिवारको रूपमा परिचित छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट राजनीति सुरु गरेका साहले पहिलो पटकमै ठूलो राजनीतिक सफलता हासिल गरेका छन्।
महोत्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका लागि चुनाव लडेका उनले अनुभवी नेता शरतसिंह भण्डारी लाई पराजित गरेका हुन्।
१९ पटकसम्म मन्त्री बनिसकेका र १३ पटक चुनाव जितिसकेका जसपाका नेता भण्डारीलाई हराएर साह भारी मतसहित विजयी बनेपछि चर्चामा थिए।
साहले ३२ हजार ७२२ मत ल्याउँदा उनका निकटम प्रतिनिधि भण्डारीले १० हजार १९८ मत मात्रै ल्याउन सकेका थिए।
Shares

प्रतिक्रिया