राजनीति


राप्रपाबाट मधेसमा मन्त्री बनेकी बिच्छालाई प्रश्न: पार्टीले तत्काल फिर्ता हुन भने पनि तपाईँ त ‘ब्याक’ हुनु भएन नि?

राप्रपाबाट मधेसमा मन्त्री बनेकी बिच्छालाई प्रश्न: पार्टीले तत्काल फिर्ता हुन भने पनि तपाईँ त ‘ब्याक’ हुनु भएन नि?

कञ्चन बिच्छा (फाइल फोटो)


सुनिता विष्ट
कात्तिक २८, २०८२ शुक्रबार १२:४६, हेटौँडा

सरकार गठनका विषयले यतिबेला मधेस प्रदेश चर्चामा छ।

गत सोमबार बिहान होटलमै मुख्यमन्त्री तथा मन्त्री नियुक्ति गर्दै शपथ खुवाइएको घटनाले देशकै ध्यान तानिएको छ। जसले मधेस प्रदेशको राजनीतिक द्वन्द्व उत्कर्षमा पुगेको छ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल मधेस प्रदेश संसदीय दलका नेता जितेन्द्र प्रसाद सोनलले संसद्‌बाट विश्वासको मत नपाउने देखेपछि पदबाट राजीनामा दिए।

त्यसपछि तत्कालीन प्रदेश प्रमुख सावित्री सुवेदी भण्डारीले संविधानको धारा १६८ को उपधार ३ बमोजिम ठुलो दलको हैसियतमा एमाले मधेस संसदीय दलका नेता सरोजकुमार यादवलाई महोत्तरीको बर्दिबासस्थित एक होटलमै नियुक्तिपत्र दिइन् र शपथ खुवाइन्। लगत्तै ३ मन्त्रीको शपथ पनि त्यहीँ भयो। 

तीमध्ये मन्त्रीको शपथ खाने एक हुन्- मधेस प्रदेशसभामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की एक्ली सांसद कञ्चन बिच्छा। 

संघीय लोकतान्त्रिक समाजवादीकी विमला अन्सारी र एमालेका लखन दाससँगै बिनाविभागीय मन्त्रीको शपथ खाएको खबर सार्वजनिक हुनेबित्तिकै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले बिच्छालाई तत्काल सरकारबाट फिर्ता हुन निर्देशन दिँदै अन्यथा कारबाही गर्ने चेतावनी दिए। 

तर बिच्छाले हालसम्म मन्त्री पदबाट राजीनामा दिएकी छैनन्। यस विषयमा नेपालखबरले उनीसँग संक्षिप्त वार्ता गरेको छ।

मन्त्रीको शपथ ग्रहण गरेपछि दिनचर्या कस्तो चल्दै छ?
दैनिकी सामान्य नै छ। मन्त्रीको शपथ खाएको मात्रै हो। पदभार ग्रहण गराउनुभएको छैन। विभागीय मन्त्रालयको जिम्मेवारी पाएको छैन। अहिले त अन्योलमै बितिरहेको छ भन्नुपर्ला। 

मुख्यमन्त्रीसँग कुन मन्त्रालय लिने/दिने सहमति भएको थियो? 
त्यस्तो केही कुरा भएकै थिएन। मात्रै उहाँहरूले भन्नुभयो कि सरकारमा सहभागी हुनपर्‍यो। तब मैले कुन मन्त्रालय दिने भनेर सोध्न पनि भ्याइनँ। हतार हतारमा सबै कुरा भयो। मुख्यमन्त्रीज्यूले परिस्थिति सहज बनेपछि मन्त्रालयको जिम्मेवारी तोक्ने भन्नुभएको छ। अहिले त यत्तिकै बसिरहेको मात्रै हो।

मन्त्रीको शपथ खाएको थाहा पाउनेबित्तिकै पार्टीले मन्त्रीबाट फिर्ता हुन निर्देशन दियो, तर तपाईँ त ब्याक हुनुभएन नि? 

मन्त्री बन्ने बेलामा छलफल गर्ने अवस्था नै बनेन। जेनजी आन्दोलनपछि राप्रपाका सांसदहरूले सामूहिक राजीनामा दिने भन्ने निर्देशन जारी भएको थियो। उतिबेला मैले पनि सांसद पदबाट राजीनामा दिएको जानकारी गराएको थिएँ। तर राजीनामा स्वीकृत भएन। पार्टीले तत्काल लिखित राजीनामा नबुझाउने भनेर अर्को सूचना दिएको थियो। त्यो भएपछि मैले सरकारमा जाँदा अप्ठेरो नपर्ला भन्ने ठानेँ। 

मन्त्री बनेपछि पार्टीको अनुशासन समितिले स्पष्टीकरण मागेको थियो। मैले कात्तिक २६ गते (बुधबार) नै स्पष्टीकरण बुझाएको थिएँ। तर उताबाट केही पनि प्रतिक्रिया आएको छैन। तर अन्य विषयमा भने पार्टीसँग छलफल भइरहेको छ। 

सरकारमा सहभागी हुँदा पार्टी शीर्ष तहलाई जानकारी गराउनुभएन?
मन्त्री बन्नपर्‍यो भनेर प्रस्ताव आइरहेको छ भनेर माथिका नेताहरूसँग कुराचाहिँ भएको हो। तर के गर्ने भन्ने निष्कर्ष आएको थिएन। त्यो दिन म मन्त्री बनेर शपथ लिन त्यस्तै अप्ठेरो परिस्थिति बन्यो। शीर्ष तहबाट निष्कर्ष नआउँदै बिहानीपख शपथ भइहाल्यो। परिस्थिति नै त्यस्तै बन्यो। 

अब पार्टीलाई के जवाफ दिनुहुन्छ? 
म पार्टीको हितविपरीत जादिनँ। पार्टीका नेताहरूसँग निरन्तर छलफल भइरहेको छ। बाहिर हल्ला भएजस्तो मैले पार्टीको कुरै नसुनेर निर्णय लिएको पनि होइन। बस हतारमा शपथ खानुपर्ने परिस्थिति सिर्जना हुँदा यतिधेरै गाल खानुपरेको मात्रै हो। मैले फेरि पनि भनेँ- पार्टीको निर्देशन र पार्टीको हितविपरीत जाँदिनँ। 

नवनियुक्त मुख्यमन्त्रीकै पद धरापमा छ, यस्तो अवस्थामा सरकार कसरी अगाडि बढ्ला? 
यो अवस्थालाई सामान्य बनाउन हामी प्रयास गर्दै छौँ। सरकार स्थिर भएपछि आफ्नो कार्ययोजना बनाएर अघि बढ्ने सल्लाह भएको छ। अन्य कुरा त बिस्तारै सुल्झिएलान् नि!

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad