राजनीति


मधेसका नवनियुक्त मुख्यमन्त्री भन्छन्- प्रदेश प्रमुखलाई पछ्याउँदै होटलसम्म पुगेँ

मधेसका नवनियुक्त मुख्यमन्त्री भन्छन्- प्रदेश प्रमुखलाई पछ्याउँदै होटलसम्म पुगेँ

मुख्यमन्त्री र प्रदेश प्रमुख


सुनिता विष्ट
कात्तिक २४, २०८२ सोमबार १४:१, हेटौँडा

मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले शपथ लिन मधेस प्रदेशबाट भागेको नभएर प्रदेश प्रमुख सुमीत्रा सुवेदी भण्डारी भएको ठाउँमा पुगेको बताएका छन्। 

उनले आफू आइतबार (हिजो) नै मुख्यमन्त्रीमा नियुक्त भैसकेको दाबी गर्दै रोकिएको सपथका लागि प्रदेश प्रमुख बसेको होटलसम्म पुगेको बताएका हुन्।

मुख्यमन्त्री यादवले नेपालखबरसँग कुराकानी गर्दै शपथको लागि भागेको नभएर काठमाडौँ जान लागेको प्रदेश प्रमुखलाई पछ्याएर आफू त्यहाँ पुगेको दाबी गरेका हुन्। 

‘मुख्यमन्त्री नियुक्त म आइतबार साँझ नै भैसकेको थिएँ। प्रदेश प्रमुख ज्युलाई सञ्चो नभएर काठमाडौँ जान लागेको खबर थाहा पाएँ,' उनले भने ‘त्यसपछि उहाँलाई फोन गरेँ। सपथको लागि किन कुर्नु भनेर हामी त्यहीँ आउँछौँ, बाटोमै बस्नोस् भनेँ। उहाँ बर्दीबासको पानस होटलमा हुनुहुँदो रहेछ। त्यहीँ पुगेर शपथ लिएको हो।’

यादवले यसअघि बनेका मुख्यमन्त्रीहरुले पनि प्रदेश प्रमुखको कार्यालयभन्दा बाहिर नै सपथ लिएको उदाहरण रहेको भन्दै उनले थपे, ‘मधेस सरकारमा सहभागीहरुले कहिले कबर्ड हलमा, कहिले होटलमै सपथ लिएको प्रमाण हामीसँगै छन्। तर आजको विषयलाई ठूलो बनाइयो।’

यादवलाई प्रदेश प्रमुख भण्डारीले संविधानको धारा १६८ उपधारा ३ बमोजिम ठूलो दलको हैसियतमा मधेस प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन्। 

यसअघि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का जितेन्द्र प्रसाद सोनल मुख्यमन्त्री नियुक्त भएका थिए। गत शनिबार सदनबाट विश्वासको मत लिने प्रायोजनका लागि राखिएको प्रदेश सभा बैठकबाट विश्वासको मत प्राप्त नहुने देखेपछि उनले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए। 

उनी विश्वासको मतको प्रक्रियामै सहभागी नभइ मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि प्रदेश प्रदेश प्रमुख भण्डारीले संविधानको धारा १६८ को उपधारा २ बाटै नयाँ सरकार गठनको लागि आह्वान गर्नुपर्नेमा सिधै संविधानको धारा १६८ को उपधारा ३ मा टेकेर मुख्यमन्त्री नियुक्त गरिएको भन्दै अन्य दलहरू विरोधमा उत्रिएका छन्। 

यता, नवनियुक्त मुख्यमन्त्री यादवले भने संविधान र प्रदेश संरचना जोगाउनका लागि धारा १६८ को उपधारा ३ बाट प्रदेश प्रमुखले नयाँ सरकार गठन प्रक्रियाअघि बढाएको बताउँछन्। 

‘प्रदेश प्रमुखज्युले पनि त कानुनी राय लिएरै सरकार गठन प्रक्रियाअघि बढाउनु भएको होला,' उनले भने, ‘सोनल जी ले प्रदेश सभाबाट विश्वासको मत नपाएपछि अब धारा १६८ को उपधारा २ बाटै सरकार गठन प्रक्रिया गर्न मिल्दैन। सोही कारण ठूलो दलको हैसियतले मलाई मुख्यमन्त्री नियुक्त गरिएको हो।’  

त्यसोत, मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र सदनबाट विश्वासको मत लिनुपर्ने हुन्छ। यादव मधेस प्रदेश सभा नेकपा एमाले संसदीय दलका नेता हुन्। 

मधेस प्रदेश सभामा एमालेको २५ सिट छ। कुल १०७ सदस्य रहेको यहाँ मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न ५४ सांसदको समर्थन आवश्यक पर्छ। हतारमा होटलमै पुगेर मुख्यमन्त्री पदको शपथ खाएका यादव नेतृत्वको सरकार टिकाउन भने उनलाई सकस देखिन्छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad