ad ad

राजनीति


मधेसमा ढल्यो उपेन्द्र यादवको विरासत, ७८ महिनापछि जसपा सत्ताबाहिर

मधेसमा ढल्यो उपेन्द्र यादवको विरासत, ७८ महिनापछि जसपा सत्ताबाहिर

फाइल तस्बिर


नेपालखबर
जेठ २४, २०८१ बिहिबार ५:३३, जनकपुरधाम

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव विश्वासको मत पाउन असफल भएका छन्।  मधेस प्रदेशसभाको बुधबारको बैठकमा उनले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावका पक्षमा ५० मत परेको छ भने विपक्षमा ५३ मत खसेको छ। सरकार जोगाउन मुख्यमन्त्रीलाई ५४ मत आवश्यक थियो। प्रदेशसभामा १ सय ३ सांसद उपस्थित थिए। 

मुख्यमन्त्री यादवले डेढ वर्षमा पाँचौँपटक विश्वासको मत लिनुपर्‍यो। मुख्यमन्त्रीलाई उनको दल जनता समाजवादी पार्टी (जसपा) नेपाल, नेपाली कांग्रेस, लोसपा र राप्रपाले मत दिए पनि त्यो बहुमतका लागि पर्याप्त थिएन।

विपक्षमा नेकपा (एमाले), जनमत पार्टी, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) ले मतदान गरे। विसं २०७९ पुस २३ मा एमाले, जनमत, माओवादी केन्द्र, लोसपा, एकीकृत समाजवादीलगायत दलको समर्थनमा जसपा संसदीय दलका नेता यादव मुख्यमन्त्री बनेका थिए।

गठबन्धन फेरबदल हुँदा पनि यसअघि मुख्यमन्त्री यादवले चारपटक विश्वासको मत पाएका थिए। तर पाँचौँपटक विश्वास पाएनन्। योसँगै जसपा नेपालले मधेस प्रदेशमा पहिलोपटक सत्ता गुमाएको छ। 

मुख्यमन्त्री यादव नेतृत्वको सरकार ढलेपछि अब यहाँ केन्द्रीय सत्ता समीकरणले सरकार बनाउने प्रयास सुरु गरेको छ।  नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), जनमत पार्टी, नेकपा (एकीकृत समाजवादी), नागरिक उन्मुक्तिलगायत पार्टीले यहाँ जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने सहमति गरिसकेका छन्। 

जसपा ७८ महिना सत्तामा

प्रादेशिक संरचना लागू भएपश्चात् विसं २०७४ मा भएको पहिलो निर्वाचनपछि यहाँ लगातार जसपा नेपालले सरकारको नेतृत्व गरेको थियो। पहिलो निर्वाचनपछि तत्कालीन प्रदेश नं २ (हालको मधेस प्रदेश) मा उपेन्द्र यादव नेतृत्वको तत्कालीन सङ्घीय समाजवादी फोरम, नेपाल (हालको जनता समाजवादी पार्टी नेपाल) को सरकार बन्यो। 

तत्कालीन प्रदेशसभा संसदीय दलका नेता लालबाबु राउतले सत्ता गठबन्धन र राजनीतिक दलमा जस्तो परिवर्तन आए पनि पूरा कार्यकाल नेतृत्व गरेका थिए। 

यसपछि २०७९ मङ्सिर ४ गते दोस्रो निर्वाचनपश्चात पनि जसपा नेपालकै नेतृत्वमा सरकार गठन भयो। मुख्यमन्त्रीका रूपमा जसपा नेपालका नेता सरोजकुमार यादवले नेतृत्व सम्हाले। गठबन्धन र दलमा फेरबदल हुँदा पनि चारपटक उनले विश्वासको मत पाएका थिए। तर यसपटक भने पाएनन्। योसँगै मधेस प्रदेशमा तत्कालका लागि करिब साढे छ वर्ष अर्थात् ७८ महिनापछि जसपा नेपालले मधेस प्रदेशको सत्ता गुमाएको छ। 

अब यहाँ पनि अरु प्रदेशमा जस्तै राजनीतिक अस्थिरता सुरु भएको छ। अरु प्रदेशमा केन्द्रीय सत्तासमीकरण फेरबदल भए पनि मधेसमा आफ्नै पार्टी नेतृत्वको सरकारलाई प्राथमिकतामा राख्ने उपेन्द्र यादव अहिले केन्द्रदेखि प्रदेशसम्म सरकारबाहिर हुनुपरेको छ। 

जसपा नेपालका सङ्घीय परिषद् अध्यक्ष रहेका अशोक राईले पार्टीका सात सङ्घीय सांसद लिएर जनता समाजवादी पार्टी गठन गरेपछि यादवले केन्द्रदेखि मधेस प्रदेशमा सत्ता गुमाउनुपरेको हो। 

यद्यपि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गर्दासम्म यहाँ आफूबाहेकको सरकार बनाउन नदिने पक्षमा जसपाले भरमग्दूर प्रयास गर्ने सो पार्टीका नेताहरू बताउँछन्। बुधबार प्रस्तावको विपक्षमा पनि सरकार बनाउन आवश्यक ५४ मत नपुगेपछि यो सम्भावना जीवितै रहेको जसपा नेताहरूको दाबी छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .