राजनीति


चुनाव हारेपछि पनि जनताका घरदैलोमा

चुनाव हारेपछि पनि जनताका घरदैलोमा

नेपालखबर
माघ २९, २०७९ आइतबार १०:१३, सर्लाही

चुनाव हारेपछि नेताहरू मतदाता भेट्न हत्तपत्त गाउँघरतिर फर्किंदैनन्। करोडौँ खर्चेर पनि चुनाव हार्नुपर्दा उनीहरू आर्थिक संकट र तनावमा पर्छन्। महँगो चुनावले कतिपय उम्मेदवारको बिल्लिबाठसमेत हुन्छ।

नेकपा माओवादी केन्द्रका नेता नरेन्द्र साह भने चुनाव हारेर पनि यतिबेला विभिन्न अभियान लिएर आफ्नो निर्वाचन क्षेत्रमा पर्ने सर्लाहीका गाउँगाउँ घुमिरहेका छन्। 

गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा सर्लाही क्षेत्र नम्बर ३ मा उनी एमाले उम्मेदवार हरि उप्रेतीसँग थोरै मतान्तरले हारेका हुन्। 

निर्वाचनमा ३२ हजार ९ सय ३८ मतसहित उप्रेती विजयी हुँदा साहले ३२ हजार १ सय ६८ मत पाएका थिए। 

चुनावमा विजयी उप्रेती अहिले देशको रक्षामन्त्री बनेर सिंहदरबार पुगेका छन्। रक्षामन्त्री बनेपछि उप्रेतीले माघ दोस्रो साता पाँच दिन लगातार सर्लाहीमा बसेर बधाई थापे। 

उनै उप्रेतीसँग पराजित साह भने यतिबेला साक्षरता अभियान लिएर सर्लाहीका गाउँगाउँ पुगिरहेका छन्।

‘तपाईंहरूको सुखदुःखमा म साथमै छु’ भन्दै उनी आफ्नो निर्वाचन क्षेत्रका गाउँगाउँ पुगेर मतदाता भेटिरहेका छन्। यो अभियान उनको व्यक्तिगत खर्चमा चलिरहेको छ।

एक महिनाअघि आफ्नो निर्वाचन क्षेत्रका गरिब बस्तीमा पुगेर चिसोबाट पीडित परिवारलाई कम्बल वितरण गरेका साह यतिबेला साक्षरता अभियानअन्तर्गत ‘इच वान, टिच वान’ को नारासहित सामुदायिक विद्यालयमा पुगिरहेका छन्।

सरकारी विद्यालयमा पढ्ने गरिब परिवारका बालबालिकाको पठनपाठनमा सहयोग पुगोस् भनेर उनले आफ्नो निर्वाचन क्षेत्रका विभिन्न विद्यालयका करिब ३० हजार विद्यार्थीलाई कापी-कलम वितरण गरिसकेका छन्।

यो अभियानअन्तर्गत एकजना विद्यार्थीलाई साहले २ वटा कापी र एउटा कलम दिएका छन्। 

‘सर्लाहीको ३ नम्बर निर्वाचन क्षेत्रका ४० हजार भन्दा धेरै बालबालिकालाई कापी-कलम वितरण गर्ने लक्ष्य मेरो छ,’ साहले नेपालखबरसँग भने, ‘यो अभियानबाट बालबालिकाको पढाइमा थोरै भए पनि सहयोग पुग्ने अपेक्षा मैले लिएको छु।’ 

अहिलेसम्म हरिवन, बागमती, बरहथवा, बसबरिया, चक्रघट्टा, कविलासीलगायत स्थानीय तहका दुई दर्जनभन्दा धेरै विद्यालयमा पुगेर शैक्षिक सामग्री वितरण गरिएको साहले बताए।

विद्यार्थीलाई कापी र कलम वितरणसँगै विद्यालय परिसर र कक्षाकोठा सुधारको अभियानमा पनि आफ्नो सहयोग रहने साहले बताए। 

‘शिक्षाको विकास नभई देशको विकास हुन सक्दैन भन्ने मूल मन्त्रका साथ मैले आफ्नातर्फबाट बालबालिकालाई सकेको योगदान गर्दै छु,’ ०७० सालको संविधानसभा सदस्यसमेत रहेका साहले भने, ‘सबैले आआफ्ना ठाउँबाट सहयोग गरे देशले शिक्षा क्षेत्रमा ठूलो फड्को मार्न सक्छ।’

उनको यो अभियानमा प्रदेश सांसद जवाहरलाल कुशवाहा, हरिवन नगरपालिकाका मेयर कमल बुढाथोकी, बागमती नगरपालिकाका मेयर भरत थापालगायत जनप्रतिनिधिले पनि साथ दिएका छन्।

यसअघि गएको पुसको जाडोमा उनले सर्लाहीको बागमती नगरपालिका–४ को चेपाङ बस्तीका विपन्न परिवारलाई कम्बल वितरण गरेका थिए। 

०७० सालको संविधान सभा निर्वाचनमा समानुपातिक सांसद बनेका साह ०७४ सालको निर्वाचनमा सर्लाही ३ मा स्वतन्त्रबाट चुनाव लडेर हारेका थिए। त्यतिबेला उनले १४ हजार मत पाएका थिए। 

त्यतिबेला चुनाव हारेर पनि सामाजिक गतिविधिमा सक्रिय भएर जनताको मन जित्ने प्रयास गरे। फलस्वरुप गएको चुनावमा उनले राम्रो मत प्राप्त गरे। 

‘चुनावमा हुने हारजित प्राविधिक कुरा हो,’ साहले भने, ‘चुनावमा हारियो भन्दैमा जनतासँगको सम्बन्धलाई बिर्सनु हुँदैन। मलाई मतदान गर्ने/नगर्ने सबै मतदातालाई अप्ठ्यारो परेको बेला मलाई सम्झनुस् है भनेको छु। त्यो दायित्वबाट म पछि हट्दिनँ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad