ad ad

राजनीति


दुई बागीको चेपुवामा गठबन्धन, शिवपुजनले ‘धोका दिँदा’ धुकचुकमा नागेन्द्रकुमार

दुई बागीको चेपुवामा गठबन्धन, शिवपुजनले ‘धोका दिँदा’ धुकचुकमा नागेन्द्रकुमार

जेवी पुन मगर र जनार्दन पोखरेल
कात्तिक ३०, २०७९ बुधबार ११:३९, सर्लाही

सत्तारुढ गठबन्धन ठीक ठाउँमा हुन्थ्यो भने राजनीतिमा इमानको वकालत गर्ने कांग्रेस नेता नागेन्द्रकुमार रायलाई यसपटक सर्लाही ४ बाट प्रतिनिधिसभा सदस्य पदमा विजयी हुन गाह्रो थिएन।

तर, आफ्नै पार्टी र गठबन्धनका अन्य दलको समेत भर नहुँदा तीन कार्यकाल कांग्रेसको सर्लाही जिल्ला सभापति, सांसद र मन्त्रीसमेत भइसकेका राय मंसिर ४ को चुनावमा जित हुनेमा ढुक्क हुन सकेका छैनन्।

राय उम्मेदवार रहेको सर्लाही ४ मा गठबन्धनमै आबद्ध दल माओवादी केन्द्रका नेता शिवपुजन रायले आफ्नी छोरी मधुमाला कुमारीलाई स्वतन्त्र उम्मेदवार बनाएका छन्। सर्लाही ४ बाट निर्वाचित निवर्तमान सांसदमेत रहेका आफ्नै पूर्व सहकर्मी अमरेशकुमार सिंह पनि यही क्षेत्रमा स्वतन्त्र उम्मेदवार बनेका छन्। यो क्षेत्रमा दुईजना स्वतन्त्र उम्मेदवारका पक्षमा निर्वाचन माहोल बन्दै जाँदा रायलाई अप्ठ्यारो अवस्था सिर्जना भएको छ।

सर्लाही ४ मा एमाले–जसपा गठबन्धनले राकेश मिश्रलाई उम्मेदवार बनाएको छ। राजपाका नेता मिश्र ०७४ को निर्वाचनमा २८ हजार भन्दा धेरै मत ल्याएर तत्कालिन कांग्रेस नेता सिंहसँग हारेका थिए। आगामी मंसिर ४ गते हुने निर्वाचनमा सर्लाही ४ मा राय, मिश्र, अमरेश र मधुमालाबीच कडा प्रतिस्पर्धा हुने अनुमान यस क्षेत्रका मतदाताले गर्न थालेका छन्।

माओवादी नेता शिवपुजन सर्लाही ४ माओवादी केन्द्रको भागमा पार्न र आफ्नी छोरीलाई उम्मेदवार बनाउन चाहन्थे। त्यसका लागि उनले अध्यक्ष प्रचण्डसँग निकै जोडबल पनि गरे। तर, केन्द्रमा क्षेत्र बाँडफाँड हुँदा सर्लाही ४ कांग्रेसको भागमा पर्‍यो। माओवादीको उम्मेदवार बनाउन नपाएपछि शिवपुजनले आफ्नी छोरीलाई नागेन्द्रकुमारको विरुद्धमा स्वतन्त्र उम्मेदवार बनाएका हुन्। 

कांग्रेसको कारबाहीमा परेका सिंहले पनि यही क्षेत्रबाट उम्मेदवारी दिँदा नागेन्द्र कुमारलाई अझ अप्ठ्यारो अवस्था सिर्जना भएको छ।

सर्लाही ४ मा गोडैता र बलरा नगरपालिका, धनकौल र रामनगर गाउँपालिकाका सबै क्षेत्र पर्छन्। त्यसैगरी बरहथवा नगरपालिकाका ७ वटा वडा, विष्णु गाउँपालिकाका ४ वटा र बसबरिया गाउँपालिकाका ३ वटा वडा पनि यही क्षेत्रमा पर्छन्।

गएको स्थानीय तह निर्वाचनमा विष्णु र धनकौल गाउँपालिकामा कांग्रेस, बलरा नगरपालिका र रामनगर गाउँपालिकामा माओवादी, बरहथवा नगरपालिकामा एमाले र गोडैता नगरपालिकामा लोसपा विजयी भएका छन्।

यो क्षेत्रमा सत्तारुढ गठबन्धन दलका वडाध्यक्षले पाएको मत ५६ हजारको हाराहारीमा छ। एमाले–जसपा गठबन्धनको मत झण्डै ३० हजार मात्रै छ। गठबन्धनको मत विभाजन नहुने हो भने यो क्षेत्रबाट नागेन्द्रकुमार सजिलै विजयी हुने थिए। तर, दुई जना स्वतन्त्र उम्मेदवारले गठबन्धनकै मत काट्ने हुँदा नागेन्द्रकुमार यतिबेला पराजयको त्रासमा छन्। 

विपक्षीहरुले उनलाई ‘टुरिस्ट’ उम्मेदवार भनेर प्रचार गर्दै जनमत आफ्ना पक्षमा पार्ने प्रयास गरिरहेका छन्। सर्लाही ४ मा उम्मेदवार बनेका नागेन्द्रकुमारको पुर्ख्यौली घर भने सर्लाही २ को कौडेना–२ इनर्वामा पर्छ। 

‘शिवपुजनले गठबन्धनलाई धोका दिए’, आफ्नै निर्वाचन क्षेत्रमा पर्ने बरहथवा बजारमा भेटिएका नागेन्द्रकुमारले नेपालखबरसँग भने, ‘अमरेशको कुरा छाडौँ, कम्तीमा शिवपुजन मात्रै इमानमा रहने हो भने पनि विपक्षीलाई म दोब्बर मतान्तरले पराजित गर्ने थिएँ।’

गठबन्धनको मत विभाजन हुने अवस्था देखिए पनि आफ्नो विजयलाई कसैले रोक्न नसक्ने दाबी उनले गरे।

‘गाविस अध्यक्षदेखि  कांग्रेसको जिल्ला सभापति, सांसद र मन्त्री हुँदा मैले इमानको राजनीति गरेँ,’ नागेन्द्रकुमारले भने, ‘यो कांग्रेसको पकेट क्षेत्र पनि हो। यहाँबाट पटक–पटक कांग्रेस उम्मेदवार विजयी भएका छन्। यसपटक पनि तपाईंले यहाँ कांग्रेस नै विजयी भएको देख्नु हुनेछ।’

सर्लाही ४ को प्रदेशसभा (क) मा वीरेन्द्रप्रसाद सिंह र (ख) मा माओवादीका फकिरा महतो उम्मेदवार छन्। ‘माओवादीको सबै भोट मधुमालालाई जाँदैन,’ नागेन्द्रकुमारले भने, ‘माओवादी नेताहरु फकिरा महतो, रत्न गिरी लगायतका साथीहरु मेरै पक्षमा खुलेर लाग्नु भएको छ। यो मेरो विजयको अर्को आधार हो।’

आफू चुनाव लड्ने ‘मुड’मै नभए पनि अमरेश सिंह कारबाहीमा परेपछि बाध्य भएर उम्मेदवार बन्नुपरेको उनको दाबी छ। ‘यो क्षेत्रबाट गगन थापाको नाम सिफारिस भएको थियो। मेरो चुनाव लड्ने तयारी पनि थिएन,’ उनले भने, ‘तर अमरेशको चरित्र राम्रो भएन। यसपटक उनलाई भारतीय दूतावासले पनि पत्याएन। उनी पार्टी कारबाहीमा परेपछि म बाध्य भएर उम्मेदवार बन्नुपरेको हो।’

अमरेश र शिवपुजनहरुकै कारण सर्लाही ४ मा शान्ति सुरक्षाको अवस्था कमजोर बनेको आरोपसमेत उनले लगाए।

‘यो क्षेत्रलाई मान्छेहरु ‘चम्मल घाँटी’ भन्छन्। यहाँ दिनदहाडै कुनै न कुनै अप्रिय घटना भइरहेका हुन्छन्। प्रत्येक चुनावमा त्यस्ता घटना हुँदै आएका छन्,’ नागेन्द्रकुमारले भने, ‘म निर्वाचित भएँ भने यो क्षेत्रलाई शान्ति क्षेत्र बनाउने छु। एक–दुई जनाका कारण यो सुन्दर ठाउँ चम्मल घाँटी बन्न सक्दैन।’

मधेश आन्दोलनका बेला महन्थ ठाकुरले कांग्रेस छाड्न आग्रह गरे पनि आफूले नमानेको उनले बताए। ‘म साम्प्रदायिक राजनीतिका पक्षमा थिइनँ। त्यसैले मधेश आन्दोलनका बेला म विचलित भइनँ,’ उनले भने।

शिवपुजन र अमरेशले जातीय राजनीति गरेको भन्दै उनले त्यसले जनताको भलो नगर्ने बताए। ‘शिवपुजन र अमरेशहरु जातीय राजनीति गर्छन्। म त्यो गर्दिनँ। मैले आफ्नो नागरिकतामा पनि थर लेखेको छैन। नागेन्द्रकुमार मात्रै लेखेको छु। मलाई सबै जाति र समुदायका मानिसले आफ्नै सम्झनुभएको छ। म सबै जाति, धर्म र क्षेत्रका मानिसलाई उत्तिकै सम्मान गर्छु।’

आफूविरुद्ध अमरेश बागी उठे पनि उनले कांग्रेसको आधा पनि मत नकाट्ने नागेन्द्रकुमारको दाबी छ। ‘मलाई कांग्रेस, माओवादी र लोसपाको भोट आउँछ,’ उनले भने, ‘मैले राजनीतिसँगै सहकारी अभियान र शिक्षण पेसामा रहेर पनि यहाँका जनताको सेवा गरेको छु। मेरो निर्वाचन जित्ने आधार भनेको जनतालाई गरेको सेवा नै हो।’

उनले स्थापना गरेको मलंगवाको दसहारा सहकारी संस्था सर्लाही जिल्लाकै उत्कृष्ट सहकारीमा गनिन्छ। रायले मलंगवामा निजी अस्पताल पनि सञ्चालन गरेका छन्। दिनकर नामको अस्पतालमा उनका छोरा-बुहारी कार्यरत छन्।

रायले आफ्ना जेठा छोरा डा. सरोज यादवलाई कांग्रेस सर्लाहीको जिल्ला उपसभापति बनाएका छन्। आफू उमेरले उत्तरार्द्धमा पुगेपछि चिकित्सा पेसामा रहेका आफ्ना छोरालाई पार्टी राजनीतिमा ल्याएको भनेर पनि विपक्षीहरुले उनको आलोचना गर्ने गरेका छन्। 

तीनपटक पार्टी सभापति भइसकेका राय ०५६ सालको निर्वाचनमा सर्लाही ४ बाटै विजयी भएका थिए। ०५६ मा खुभारी राय र रामेश्वर रायलाई पराजित गरेर उनी सांसद बने। त्यतिबेला उनी निर्वाचित भएको क्षेत्र कौडेनामै पर्थ्यो। ०७४ मा क्षेत्र बाँडफाँड हुँदा भने कौडेना सर्लाहीको २ नम्बर क्षेत्रमा समेटियो। जसका कारण सर्लाही ४ मा निर्वाचन लड्दा उनले अहिले ‘टुरिस्ट’ उम्मेदवारको आरोप खेप्नु परिरहेको छ।

०५१ सालमा फुलपरासी गाविसको अध्यक्ष पदबाट राजीनामा दिएर उनी सर्लाही ४ मा कांग्रेसबाट निर्वाचन लडेका थिए। त्यतिबेला भने उनी खोभारी रायसँग हारेका थिए। 

सभापति शेरबहादुर देउवानिकट मानिने राय ०७४ मा कांग्रेसबाट समानुपातिक सांसद बनेका थिए। यसपटक कांग्रेसको निर्वाचित सांसद हुने उनको दाउ छ। तर, ६९ वर्षीय यी पाका नेतालाई आफ्नो विजय यात्रामा उमेरदार ‘बागी’हरु तगारो बन्न सक्ने डर धेरै छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .