राजनीति


११ वर्षको उमेरदेखि नै राजनीतिमा क्रियाशील थिए लुम्बिनीका नव नियुक्त मुख्यमन्त्री आचार्य

११ वर्षको उमेरदेखि नै राजनीतिमा क्रियाशील थिए लुम्बिनीका नव नियुक्त मुख्यमन्त्री आचार्य

फाइल तस्बिर


नेपालखबर
साउन ८, २०८१ मंगलबार ५:४४, अर्घाखाँची

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका चेतनारायण अचार्य अर्घाखाँची जिल्ला साविक अर्घा गाविस वडा नं ३ अधेँरी (हाल सन्धिखर्क नगरपालिका वडा नं ९) मा पिता टीकाराम आचार्य र माता तारादेवी आचार्यको कोखबाट २०२५ जेठ २१ गते जन्मिएका हुन्।

चेतनारायण आचार्य ११ वर्षको उमेरदेखि अनेरास्ववियुमा संगठित भएका थिए। उनका पिता टीकाराम अर्घाखाँची जिल्लाको कम्युनिष्ट पार्टीको संस्थापक नै भएकाले उनी बुवा एवं परिवारको प्रभावबाट राजनीतिमा आवद्ध भएका छन्।

विसं २०४० मा अनेरास्ववियु जिल्ला कमिटी, अर्घाखाँचीको सदस्यमा निर्वाचित भएका आचार्य २०४३ सालमा उच्च शिक्षा अध्ययनका क्रममा बुटवल गए र अनेरास्ववियु बुटवल बहुमुखी क्याम्पसको अध्यक्ष र जिल्ला कमिटी सदस्य भएका थिए। 

अर्घाखाँची फर्किएपछि उनी २०४६ सालमा इलाका कमिटी सदस्य, उपसचिव, २०४७ सालदेखि जिल्ला कमिटी सदस्य र जिल्ला कमिटी सचिवालय सदस्यका रुपमा ७ वर्ष काम गरे।

विसं २०५४ को पार्टीको तेस्रो जिल्ला अधिवेशनबाट आचार्य सचिवमा निर्वाचित भए। विसं २०५४ पछि चौथो र पाँचौँ जिल्ला अधिवेशनबाट समेत सचिव पदमा निर्वाचित आचार्यले ११ वर्ष निरन्तर पार्टी प्रमुखका रूपमा काम गरे। 

विसं २०६४ को पहिलो संविधानसभा निर्वाचनमा अर्घाखाँची क्षेत्र नं १ बाट पराजित आचार्य विसं २०६५ देखि २०६९ सम्म लुम्बिनी अञ्चल कमिटी सदस्य भई पार्टी कामलाई निरन्तरता दिए। विसं २०६९ मा भएको सातौँ जिल्ला अधिवेशनबाट अध्यक्ष पदमा निर्वाचित आचार्यले नौ वर्ष पार्टीको जिल्ला प्रमुखको रूपमा काम गरे।

विसं २०७४ का भएको प्रदेशसभा सदस्य निर्वाचनमा अर्घाखाँची प्रदेश क्षेत्र नं १ बाट निर्वाचित आचार्यले आन्तरिक मामिला तथा कानुनमन्त्रीको कार्यभार सम्हाले। विसं २०७८ मा सम्पन्न पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित आचार्य अर्घाखाँचीको सहइञ्चार्जको जिम्मेवारीमा रहे।

विसं २०७९ को प्रदेशसभा सदस्य निर्वाचनमा गठबन्धनका विरुद्ध प्रतिस्पर्धा गरी अर्घाखाँची प्रदेश क्षेत्र नं १ बाट निर्वाचित आचार्य एमाले संसदीय दलको उपनेता भए। उनले यसअघि सहरी विकास तथा खानेपानी मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए।

कानुन विषयमा स्नातक गरेका आचार्य पार्टीमा आजीवन पूर्णकालीन भई काम गरिरहेका छन्। विभिन्न आन्दोलनमा जेल जीवनसमेत ब्यतित गरेका आचार्यले क्यान्सरलाई जितेर पार्टी काममा क्रियाशील भए।

पार्टी संगठनको काममा निरन्तर क्रियाशील कुशल संगठन आचार्य पार्टी कार्यकर्ताबीच लोकप्रिय र प्रभावशाली नेताका रूपमा चिनिन्छन्। उनको एक दाजु, दुई भाइ, दुई दिदी र एक बहिनी छन्। 

आचार्यको जीवनसङ्गिनी दिपा आचार्य अनेमसंघ अर्घाखाँची जिल्ला कमिटी अध्यक्ष र पार्टी जिल्ला कमिटी सदस्यका रूपमा क्रियाशील छन्। उनका एक छोरा र एक छोरी छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad