मोरङ क्षेत्र नम्बर ४ मा मतगणनाको प्रारम्भिक चरणदेखि नै अग्रता लिइरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सन्तोष राजवंशी विजयोन्मुख भइरहँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार अमनलाल मोदीले हार स्वीकार गरेका छन्।
चुनावी परिणामको आधिकारिक घोषणा हुन बाँकी रहे पनि मतान्तर धेरै भएपछि मोदीले सामाजिक सञ्जालमा सन्देश जारी गर्दै हार स्वीकार गरेका हुन्। मोदीले रास्वपाका राजवंशीलाई बधाई दिएका छन्।
आफूलाई मत दिने मतदाता र अहोरात्र खट्ने कार्यकर्ताप्रति कृतज्ञता व्यक्त गर्दै मोदीले हारबाट विचलित नभई आत्मसमीक्षा गरेर पार्टीलाई अझ सशक्त बनाउने बताएका छन्। आफू हारे पनि देश र जनताको हित कहिल्यै नहारोस् भन्दै संघीय लोकतान्त्रिक गणतन्त्रप्रति आफ्नो कटिबद्धता दोहोर्याएका छन्।
यसैबीच, सोही क्षेत्रका प्रतिस्पर्धी नेपाली कांग्रेस महामन्त्री गुरुराज घिमिरेले सामाजिक सञ्जालमा निष्ठा, समर्पण र योगदानको मूल्य हराउँदै गएको भन्दै भुपी शेरचनको ‘हल्लै हल्लाको देश’ कविताको शैलीमा विचार व्यक्त गरेका छन्। समाज पारदर्शी भएको र चौराहा एवं देउरालीहरूमा गरिने हिसाबकिताबले ढिलो चाँडो सबैलाई ऐना देखाउने भन्दै उनले पुराना राजनीतिक दलहरूले आत्मसमीक्षा गर्नुपर्ने तर्क गरेका छन्।
अहिलेसम्म राजवंशीले २९ हजार ५१९ मत प्राप्त गरेका छन्। घिमिरेले १० हजार १३१ र मोदीले ९ हजार ९६५ मत प्राप्त गरेका छन्। निर्वाचन अधिकृतको कार्यालयले राजबंशीलाई विजय घोषणा गर्न मात्रै बाँकी छ।
Shares

प्रतिक्रिया