देशभर रास्वपाको लहर चल्दा रसुवा भने अपवाद रह्यो। एउटा मात्रै क्षेत्र रहेको रसुवामा नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्यले बाजी मारे। उनले कुल १० हजार ६५६ मत प्राप्त गर्दै विजयी भए।
दोस्रो भएका रास्वपाका बसन्त भट्टले ५ हजार ५७१ मत र तेस्रो भएका नेकपा एमालेका प्रेमबहादुर तामाङले ४ हजार ६८८ मत प्राप्त गरे। उज्यालो नेपाल पार्टीका मानबहादुर तामाङले १ हजार ४५३ मत ल्याउँदा नेपाली कम्युनिस्ट पार्टीका माधवप्रसाद लामिछानेले ९५३, मंगोल नेशनल अर्गनाइजेसनका उम्मेदवार विनोद थुलुङले ४७४ मत प्राप्त गरे।
यसअघिका २०७४ र २०७९ को निर्वाचनमा विजयी भएका आचार्य तेस्रो पटक रसुवाबाट प्रतिनिधिसभा सदस्य बनेका हुन्।
अघिल्ला दुईवटै निर्वाचनमा पनि विजयी भएकाले सामान्य हिसाबमा आचार्य विजयी हुनु स्वाभाविक लाग्न सक्छ तर देशैभर रास्वपाले ल्याएको लहर हेर्दा भने यसपटक उनलाई सहज थिएन भन्न सकिन्छ।
ढकालको ‘इन्ट्री’ मुख्य फ्याक्टर
आचार्यको यो विजयमा मुख्य भूमिका भने नेकपा एमालेका जिल्ला अध्यक्ष जनार्दन ढकालको ‘इन्ट्री’ले खेलेको देखिन्छ।
२०४७ सालदेखि अनेरास्ववियुबाट एमालेको राजनीति सुरु गरेका ढकालकै कारण एमालेका उम्मेदवार प्रेमबहादुर तामाङ पराजित भएको एमालेको आरोप छ। २०८१ वैशाखमा सर्वसम्मत अध्यक्ष बने पनि ढकालले पार्टीभित्रैबाट आफूलाई असहयोग भएको गुनासो गर्दै आएका थिए। उनले एमाले छोडेको घोषणा गरेर बसेका थिए।
उनी आचार्यले मनोनयन दर्ता गराएपछि कांग्रेस पार्टीमा प्रवेश गरेका हुन्। ढकालसहित एमालेका ९७ जना क्रियाशील सदस्य लिएर कांग्रेस प्रवेश गरेका ढकालको प्रभावले प्रतिकूल अवस्थामा पनि कांग्रेसकाे विजय सुनिश्चित गरिदियो।
हुन त, २०७९ को समानुपातिक मत हेर्दा भने रसुवा ‘कांग्रेसको गढ हो’ भन्दा फरक पर्दैन। ०७९ मा कांग्रेसले समानुपातिकतर्फ सबैभन्दा धेरै १२ हजार ५८६ मत प्राप्त गरेको थियो। दोस्रोमा एमालेले ७ हजार ७०८ मत प्राप्त गर्दा माओवादी केन्द्र ३ हजार ६८६ मतसहित तेस्रो भएको थियो। बिहीबार सम्पन्न निर्वाचनको भने समानुपातिक मतगणना हुन बाँकी छ।
रसुवाको चुनावी इतिहास हेर्ने हो भने यहाँ व्यक्तित्वले ठूलो अर्थ राख्छ।
२०७४ को निर्वाचनमा कांग्रेसका मोहन आचार्यले १४ हजार ४५३ मत ल्याउँदा ढकालले १० हजार २७८ मत पाएका थिए। अहिले तिनै मुख्य प्रतिस्पर्धी ढकाल आचार्यको क्याम्पमा पुग्नु नै कांग्रेसको पल्ला भारी भएको जिल्लाका नेताहरु बताउँछन्।
नेपाली कांग्रेस रसुवाका सभापति पेम्बा छिरिङ तामाङका अनुसार एमाले छोडेर कांग्रेस प्रवेश गरेका जनार्दन ढकाल कांग्रेसमा आउनु नै कांग्रेसको लागि सफलता भएको बताउँछन्।
उनले नेपालखबरसँग भने, ‘रसुवा यसै पनि कांग्रेसको गढ नै हो। तर देशभरको नतिजा आइरहँदा हामी पनि डराएका थियौँ। तर, त्यस्तो भएन। कांग्रेसको गढ भत्किएन। यसमा जनार्दन सरको प्रभाव पनि हो।’
Shares

प्रतिक्रिया