राजनीति


ग्रामथान गाउँपालिका अध्यक्षविरुद्ध कांग्रेस-एमालेका वडाध्यक्षसहितको भेला

ग्रामथान गाउँपालिका अध्यक्षविरुद्ध कांग्रेस-एमालेका वडाध्यक्षसहितको भेला

नेपालखबर
भदौ १५, २०८२ आइतबार १३:१३, विराटनगर

ग्रामथान गाउँपालिका अध्यक्ष नमोनारायण माझीको एकलौटी र मनपरी गतिविधि गरेको भन्दै प्रमुख राजनीतिक दलहरू एक हुन थालेका छन्।  

अध्यक्ष माझीका कारण सार्वजनिक सेवा प्रवाह नै प्रभावित भएको भन्दै नेपाली कांग्रेस र नेकपा (एमाले) का स्थानीय जनप्रतिनिधि र नेताहरूले संयुक्त रूपमा भेला गरी उनको गतिविधिको विरोध गरेका हुन्। 

गत मङ्सिरमा उपनिर्वाचनबाट नेकपा माओवादी केन्द्रबाट निर्वाचित अध्यक्ष माझीले पदभार सम्हालेपछि उपाध्यक्ष गुणावतीदेवी थारु र एमाले–काङ्ग्रेसबाट निर्वाचित वडाध्यक्ष तथा सदस्यहरूसँग अमर्यादित व्यवहार गर्दै आएको आरोप लगाइएको छ। 

उनले संविधानले दिएको अधिकार कटौती गरी अन्य दलका जनप्रतिनिधिलाई छेउ पार्ने काम गरेको दुवै दलको निष्कर्ष छ।

ग्रामथानको झोराहाटमा भएको कांग्रेस-एमाले संयुक्त भेलामा पालिकादेखि जिल्ला र प्रदेश स्तरका नेताहरूले अध्यक्ष माझीको कार्यशैलीलाई अराजक, जनविरोधी र कानुन विपरीत भन्दै सामूहिक प्रतिवाद गर्ने चेतावनी दिएका छन्।

कार्यक्रममा एमाले केन्द्रीय सदस्य जीवन घिमिरेले अध्यक्ष माझीले पालिकालाई व्यक्तिगत स्वार्थमा चलाइरहेको आरोप लगाउँदै ‘कानुन हातमा लिएर अराजक तरिकाले प्रस्तुत भएको’ टिप्पणी गरे।

नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य गुरुराज घिमिरेले अध्यक्षले विकास र समन्वयमा ध्यान दिनुको साटो अधिकार दुरुपयोग गरेको बताए।

भेलामा बोल्ने अन्य नेताहरूले पालिकामा मल वितरण अवरुद्ध हुनु, कर्मचारीलाई मनपरी ढङ्गले हटाउने, बाउन्सर राखेर जनप्रतिनिधिलाई कार्यालय प्रवेशमा रोक लगाउने, अवैध उत्खनन र ठेक्कापट्टामा संलग्नता जस्ता गम्भीर आरोप लगाएका छन्। 

उपाध्यक्ष थारुसहित वडाध्यक्षहरूले समेत अध्यक्ष माझीको कार्यशैलीले गाउँ सभा नै सञ्चालन हुन नसकेको दाबी गरे। 

नेपाली काँग्रेस मोरङका कार्यवाहक सभापति भक्तिनाथ माझी, ग्रामथान गाउँ समितिका अध्यक्ष किरण तुलसी विश्वास, अधिवक्ता कविता बस्नेतलगायतले अध्यक्षको गतिविधि कानुनी राज्य विपरीत भएको भन्दै सचेत गराए।

भेलामा प्रदेशसभा सदस्य जयप्रकाश चौधरी, ललितादेवी चौधरी, कांग्रेस नेता दिलीप गच्छदार, एमाले मोरङ उपाध्यक्ष सागर थापा, अन्य स्थानीय नेताहरूको समेत उपस्थिति थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad